१२ पुस, काठमाडौं । लुका मोडरिच थप एक वर्ष रियल मड्रिडमै बस्ने भएका छन् । स्पानिस जायन्ट रियलमा बस्नका लागि मोडरिच सहमतिमा पुगेको स्पानिस अनलाइन मार्काले जनाएको छ । मोडरिचको वर्तमान सम्झौता २०२१ जुनमा सकिँदैछ ।
क्रोसिएन अन्तर्राष्ट्रिय खेलाडी मोडरिचले अब आफ्नो सम्झौतामा एक वर्ष नवीकरण गर्नेछन् । जसको अर्थ उनी २०२२ जुन ३० सम्म सान्टियागो वर्नाबेउमा रहनेछन् ।
अर्को सिजनको अन्त्यमा उनको नविकरण सम्झौता समाप्त हुँदा मिडफिल्डर मोडरिचले रियल मड्रिडमा एक दशक पूरा गर्नेछन् । उनी सन् २०१२ मा टोटनहमबाट रियलमा पुगेका थिए ।
स्पेनको राजधानीमा साढे ८ वर्ष बिताउँदा ३५ वर्षीय मोडरिचले चार पटक युरोपियन च्यम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै दुई स्पानिस ला लिगा लगायत अरु उपाधि पनि जितेका छन् । यस्तै उनले व्यक्तिगत बालोन डे ओर अवार्ड समेत जिते ।
पछिल्ला महिनामा देखाएको प्रदर्शन सहित नेतृत्वदायी क्षमता र अनुभवले गर्दा उनी टिममा रहिरहेका छन् । जसले गर्दा उनले क्लबमै रहिरहन रियललाई मनाउन सफल भए ।
पछिल्लो केही महिनामा मोडरिचलाई कतार र एमएलएसबाट प्रस्ताव समेत आएको थियो । तर मोडरिचको चाहना भने सधैं रियलमै बस्ने रहेको छ ।
प्रतिक्रिया 4