+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइयो : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १३:०६

१३ पुस, काठमाडौं । नेकपा (प्रचण्ड–माधव नेपाल समूह)का नेता देव गुरुङले नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउन संसद विघटन गराइएको दाबी गरेका छन् । उनले संसद विघटनको कदम राष्ट्रघाती भएको टिप्पणीसमेत गरेका छन् ।

कास्कीको पोखरामा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता गुरुङले भने, ‘यो संसद रहँदासम्म, संघीय संसद रहँदासम्म विदेशी सैनिकहरुले यहाँ मार्चपास गर्न सक्दैन, विदेशी सैनिक प्रवेश गर्न सक्दैन, हस्तक्षेप गर्न सक्दैन र यो संसदले रोक्ने छ, त्यसकारण विदेशी सैनिक प्रवेश गराउन यो संसद भंग गराउन अनिवार्य छ । यही काम ओली सरकारले गर्यो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुलाई चलखेल गर्नका लागि आधारभूमि तयार पारिदिएको आरोप नेता गुरुङले लगाए ।

संसद विघटनको कदम अनुकूल भयो कि भएन भन्ने प्रश्न होइन भन्दै उनले भने, ‘संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छ कि छैन, संविधानमा छ कि छैन भन्ने हो । त्यसैले मौलिकरुपले, गुणात्मक रुपले यो फरक कुरा हो ।’

संकटकाल लागु हुने आशंका

अहिलेको परिघटना २०१७ सालमा राजा महेन्द्रले गरेको ‘कू’ र २०५९ सालमा ज्ञानेन्द्र शाहले गरेको ‘कू’सँग सम्बन्धित रहेकोसमेत उनले बताए ।

उनले प्रधानमन्त्री ओलीको अहिलेको कदम नसच्याए ढिलो चाँडो संकटकाल लागू हुने आशंकासमेत गरे । उनले भने, ‘यो प्रतिगमनको कदम सच्याउनुको विकल्प छैन । यो खारेज गर्न सकिएन भने ढिलोचाँडो संकटकाल लागू हुनेछ । संकटकाल लागु भइसकेपछि संविधानका धारा निष्कृय हुनेछन् ।’

गुरुङले भने, ‘उहाँमा (केपी शर्मा ओलीमा) भएको सर्वसत्तावादी चिन्तन, एकाधिकारवादी चिन्तन, निरंकूश प्रवृत्ति, फाँसिवादी चिन्तनको उपज हो यो र त्यो चिन्तनलाई विदेशी शक्ति केन्द्रहरुले क्यास गरे ।’

प्रधानमन्त्री ओलीले पार्टीलाई सिध्याउने चाल चलेको आरोप गुरुङले लगाए । ‘कम्युनिस्ट पार्टी, देशभक्त, राष्ट्रवादी, गणतन्त्रवादी, लोकतन्त्रवादी रहँदासम्म उनीहरुले सैन्य हस्तक्षेप गर्न सक्दैनन् । त्यसकारण नेपाल कम्युनिस्ट पार्टी भत्काउन जरुरी थियो । पार्टीलाई निष्कृय बनाउँदै लैजाने, बैठक बस्न तयार नहुने, बैठक बसे पनि उपस्थित नहुने, उपस्थित भए पनि निर्णय नगर्ने, निर्णय भए पनि कार्यान्वयन गर्न नदिने, कार्यान्वयन भइहाल्यो भने पनि पार्टीका निर्णयहरु सरकारमा लागु हुँदैन भन्दै पार्टीबाट राज्यका निर्णय अलगथलग गराउने, यस प्रक्रियाबाट पार्टीलाई टोटलरुपले सिध्याउने प्रक्रिया सुरु भयो ।’ उनले आफूहरुले नेकपालाई सिध्याउन नदिने दाबी गरे ।

‘चीनको हस्तक्षेप भन्न मिल्दैन’

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यैचौको नेपाल भ्रमणको सन्दर्भमा सोधिएको एक प्रश्नमा नेता गुरुङले चीनले हालसम्म नेपालमा कुनै प्रकारको हस्तक्षेप नगरेको दाबीसमेत गरे ।

‘चिनियाँ सरकारको सन्दर्भमा हेर्ने हो भने, चिनियाँ जनताको सन्दर्भमा हेर्ने हो भने नेपालको राष्ट्रिय स्वाधिनताको प्रतिकूल अहिलेसम्म कुनै पनि परिघटनाहरु घटेको छैन,’ नेता गुरुङले भने, ‘…चिनियाँ कम्युनिष्ट पार्टीको शुभेच्छा, चिनियाँ कम्युनिष्ट पार्टीको  परामर्श, सदायसयताको बारेमा प्रश्न उठाउनुको कुनै अर्थ छैन । नेपालको राष्ट्रिय स्वाधिनताको आन्दोलनको सन्दर्भमा प्रयोगवादी चिन्तनको समस्या हो, विस्तारवादी चिन्तनको समस्या हो, चिनियाँ कम्युनिस्ट पार्टीको समस्याको विषय होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?