Comments Add Comment

लिटरेचर फेष्टिभलको पहिलो दिन गजल साँझ

छुरा धस्नेलाई पनि अवसर आइरहनुपर्छ
मैले यसर्थ पिठ्युँ त फर्काइरहनुपर्छ

बास्ना त तिमीले चपाएको चुइगम हो
तितो हुँदै जान्छ एकछिन चपाइरहनुपर्छ ।

आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करणका अवसरमा सोमबार आयोजित शुभारम्भ साँझमा रोदनले गजल वाचन गरिरहँदा फेस्टिभलको माहोल तात्दै थियो । सराङकोटस्थित सराङकोट माउन्टेन रिसोर्टमा आयोजित शुभारम्भ साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल जम्यो ।

मंगलबार सुरु हुने फेस्टिभलको औपचारिक उद्घाटनअघि गजल मेहफिलको कार्यक्रम राखिएको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ । रोदनले सुवेदीसँग संवादसँगै १० भन्दा बढी गजल वाचन गरे ।

साहित्य साधना प्रतिष्ठान गोरखाका महासचिव प्रदीप रोदन दमदार गजल र प्रस्तुतिले चर्चित छन् । नेपाली गजलमा हस्तक्षेपकारी उपस्थिति देखाइरहेका उनले फेस्टिभलमा प्रेमदेखि राजनीतिक एवम् समसामयिक विषयका विविध गजल सुनाए ।

कार्यक्रममा र्‍यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले पोखरालाई साहित्यका माध्यमबाट चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए ।

सांस्कृतिक एवं पर्यटकीय सहर पोखरालाई साहित्यका माध्यमबाट पनि चिनाउनुपर्छ भनेर आफूहरुले फेस्टिभल आयोजना गरेको बताए । यसमा सहयोग गर्ने गण्डकी प्रदेश एवम् आइएमईलगायत विभिन्न सङ्घसंस्थाप्रति पनि उनले आभार प्रकट गरे ।

‘पोखरा माछापुच्छ्रेले चिनिन्छ । फेवातालले चिनिन्छ,’ उनले भने, ‘अहिले आएर साहित्यले पनि चिनिन थालेको छ । फेस्टिभल र हाम्रो प्रयास पोखरालाई साहित्यका माध्यमबाट चिनाऔं भन्ने नै हो ।’

दोस्रो दिन मंगलबार ‘महारानीको राजनीति’, ‘कर्मठ केटीहरू’, ‘कोरोनापछिको सिनेमा’लगायत सेसनमा बहस हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment