Comments Add Comment

बर्खास्त मन्त्री बोहरा भन्छन्– मुख्यमन्त्रीको पद पनि सुरक्षित छैन

१४ पुस, कैलाली । मंगलबार पदबाट बर्खास्त भएका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि सुरक्षित नभएको दाबी गरेका छन् ।

‘मलाई राजनीतिक पूर्वाग्रह राखेर जिम्मेवारीबाट हटाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘अर्काे पक्षले पनि त बहुमत बनाउँला । उहाँको पद पनि सुरक्षित रहन्छ भन्ने छैन ।’

बोहरा प्रदेश सरकारमा ओली पक्षका एकमात्र मन्त्री थिए । मुख्यमन्त्रीले आफू निकट नभएको भन्दै हटाएको उनको आरोप छ ।

बोहरा भन्छन्, ‘आफू पार्टीबाट अलग भएर जाने, अनि मलाई जिम्मेवारीबाट मुक्त गर्ने त्यो राजनीति पूर्वाग्रह नभए के हो त ?’

बोहराले आफ्नो बर्खास्तगीलाई सामान्य रूपमा नलिने बताए । ‘बसेर छलफल गर्छौं। पार्टीले जे निर्णय गर्छ त्यहीअनुसार हामी अगाडि बढ्छौं’ उनी भन्छन् ‘विभाजित हुने अवस्था सुरु भएपछि संसदमा पनि आ-आफ्नो पक्ष लाग्लान् ।’

अहिले सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेका छन् । यसमा १२ जना कांग्रेसका सांसद र २ जना जनता समाजवादी पार्टीका छन् । ३९ जना नेकपाका सांसदमध्ये सभामुख र उपसभामुख बाहेक ३० जना प्रचण्ड-माधव र ७ जना ओली पक्षमा छन् ।

बर्खास्तपछि मन्त्री बोहराले आफूलाई जिम्मेवारीबाट हटाएको विषयमा आधिकारिक जानकारी नदिएको आरोप लगाए ।

‘उहाँहरूले निर्णय गरिसक्नुभयो । तर मलाई जानकारी भएन,’ उनले भने, ‘बाहिरबाट जानकारी पाएपछि मुख्यमन्त्रीलाई धन्यवाद दिएँ । तपाईंले धन्यवाद त दिन सक्नुभएन मैले दिएँ भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment