Comments Add Comment

तिलको भनेर भटमासको तेल बेचेको आरोपमा २ ब्यापारी पक्राउ

१४ पुस, वीरगञ्ज । भटमासको तेललाई तिलको तेल भनेर बिक्री गर्ने वीरगञ्जका दुई जना ब्यापारी पक्राउ परेका छन् । वीरगञ्ज आदर्शटोलमा सञ्चालित शिवशक्ति रिप्याकिङ उद्योगका सञ्चालक दीपक कुमार वर्णवाल र दिव्य रिप्याकिङ उद्योगका सञ्चालक राजन कुमार वर्णवाल पक्राउ परेका हुन् ।

दीपकले भाइ सन्दीपकुमार अग्रवालको नाममा उद्योग दर्ता गरेर सञ्चालन गर्दै आएका थिए । १५ लिटरको जर्किन र प्याकेटमा भटमासको तेल ल्याई उनीहरुले तीलको तेल भनेर बोतलमा रिप्याकिङ गरेर बेचेको प्रहरीको आरोप छ । प्रहरीले मंगलबार उनीहरुको उद्योगमा छापा मारेको थियो ।

छापा मार्दा शिवशक्ति रिप्याकिङ उद्योगबाट अन्दाजी २ हजार ५ सय लिटर र दिव्य रिप्याकिङ उद्योगबाट ३ हजार ६ सय लिटर भटमासको तेल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए ।

‘सोयाबिनको तेल लगेर रिप्याकिङ गर्ने र शत प्रतिशत शुद्ध तीलको तेल भनेर बिक्री गर्ने गरेका रहेछन्’ डीएसपी कुँवरले भने ‘दुवै उद्योगका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं ।’

सोयाबिन तेल लगेर शिवशक्ति उद्योगले उत्सव र दिव्य उद्योगले तिलको तेल भनेर रिप्याकिङ गरेर बिक्री गरेको पाइएको छ । उनीहरुले एउटा वस्तु भनेर अर्को बिक्री गरेकोले ठगी मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment