Comments Add Comment

योमरी : कसरी पकाउने ? (भिडियो)

१५ पुस, काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमाको दिन नेवार समुदायले ‘योमरी पुन्हि’ पर्व बनाउने गर्छन् । आजकै दिन योमरी पकाएर देवतालाई चढाउनुका साथै स–परिवार मिलेर खाने र अरुलाई पनि खुवाउने प्रचलन छ ।

योमरी नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकार हो । स्वादसँगै पौष्टिकताले समेत भरिपूर्ण योमरी जाडोको स्वादिष्ट खाद्य परिकार मानिन्छ । हालै मात्र शेफ सन्तोष साहले योमरीलाई अन्तर्राष्ट्रिय कुकिङ सो ‘मास्टरसेफ युके–२०२०’ मार्फत् चर्चित बनाएका छन् ।

योमरी बनाउन खासै अप्ठ्यारो छैन । योमरी जस्तोसुकै आकार र आकृतिको पनि हुन सक्छ ।

यो पनि पढ्नुहोस आज पुस पन्ध्र : बाहुनदेखि जनजातिसम्म पर्वैपर्व

भर्खरै भित्र्याएको धान कुटेर चामल बनाइन्छ र त्यसबाट पिठो बनाई योमरी बनाउने चलन छ । योमरी बनाउनका लागि सुरुमा एउटा भाँडामा चामलको पिठो राख्नुपर्छ र त्यसमा उमालेको पानी निश्चित मात्रामा हाल्नुपर्छ । त्यसपछि कुन खालको योमरी बनाउने हो, सोही अनुसारको सामग्री प्रयोग गर्नुपर्छ । जस्तै–

चाकु योमारीका लागि सख्खरको केही मात्रा, कालो तिल, तिलको पाउडर र स्वादका लागि दालचिनी वा अलैँची पनि राख्न गरिन्छ । त्यस्तै, खुवावाला योमरीका लागि खुवाको एक भाग, चिनी, नरिवलका टुक्रा, बदाम र स्वादका लागि अलैँची वा दालचिनीको प्रयोग गरिन्छ ।

यो पनि पढ्नुहोस आज योमरी पुन्ही : प्रेम र खाद्य विज्ञानसँग जोडिएको संस्कृति

बनाउने विधि :

एउटा भाँडामा पानी उमाल्नुहोस् ।

चामलको पिठोलाई एउटा भाँडामा राखेर त्यसमा तातोपानी हाल्नुस् र त्यसलाई मुछेर साह्रो खालको पिठो बनाउनुहोस् ।

पिठोलाई नरम कपडामा बेर्नुहोस् । त्यसलाई आधा घण्टा वा एकरातसम्म त्यसै छाडिदिनुहोस् ।

हत्केलामा तेल राख्नुहोस् । पिठोको एउटा डल्लोलाई हातमा लिनुहोस् र त्यसलाई योमरीको आकारमा ढाल्नुहोस् । त्यसलाई चेप्टो या गोलो जस्तो पनि बनाउन सकिन्छ । जस्तो भए पनि एकातिर चुच्चो भने राखिएको हुनुपर्छ । एकातर्फको तल्लो भागको चुच्चोका लागि पिठोको रोल गर्ने गरिन्छ ।

एउटा औंलाले माथिल्लो भागबाट प्वाल पार्नुहोस् । जसको भित्र चाकु वा खुवासहितको मिश्रण हाल्नोस् ।

चाकुसहितको मिश्रणका लागि : एउटा भाँडोमा पानी र चाकू राख्नुहोस् । तातो पानीसँग मिसाएपछि चाकु पनि तरल हुन्छ । यसैमा कालो तिल र तिलको धुलो मिसाउनुहोस् । त्यसैमा अलंैची पनि थप्नुहोस् । चाकुसहितको मिश्रणयुक्त योमरी बनाउने बेलामा त्यही चामलको पिठोमा चाकुसहितको मिश्रण राख्नोस् ।

खुवासहितको मिश्रणका लागि : चाकुसहितको मिश्रणमा जस्तै, नरिवल, चिनी र बदामको संयोजनलाई मिसाएर त्यसमा दालचिनी र अलैँची थप्नुहोस् र त्यसलाई चामलको पिठोमा राख्नुहोस् ।

यति गरेपछि योमरी खानका लागि तयार हुन्छ ।

तस्वीर र भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment