Comments Add Comment

प्रतिनिधिसभा विघटन दुःखद् : शर्मा

१७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका नेता दीनानाथ शर्माले पार्टीको किचलोका कारण प्रतिनिधिसभा विघटन हुनु दुःखद् भएको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले दलभित्रको द्वन्द्वको असर जनप्रतिनिधिमूलक संस्थामा पर्नु राम्रो नहुने बताए । ‘अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन’ उनले भने, ‘प्रतिपक्षले समस्या उत्पन्न गरेर विघटन हुनुपरेको होइन । हाम्रो किचलोका कारणले जननिर्वाचित प्रतिनिधिसंसथा विघटन हुनगयो, यो दुःखको विषय हो ।’

सत्तारुढ पार्टी नेकपा विभाजन नजिक पुगेको र यो आफ्नो राजनीतिक इतिहासको अहिलेसम्मको दुःखद् अनुभव भएको बताए । ‘पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा बढी खुसी थिएँ । हामी सबै खुसी थियौं । नेपाली जनता खुसी थिए’ दलका नेता शर्माले भने, ‘अहिले पार्टी विभाजनको संघारमा आउँदा मेरो मुटु फुटेको अनुभव भएको छ । यसले मलाई धेरै पीडा भएको छ ।’

सिद्धान्त, विचार र दर्शनका आधारमा नभई राजनीतिक कारणले पार्टी फुटको संघारमा पुगेको भन्दै उनले जोड्ने कुनै रसायन भए प्रयास गर्न पनि आग्रह गरेका छन् । नेकपा नेता वामदेव गौतम अहिले कुनै पक्षमा पनि नरहेको र पार्टी जोड्न काम गर्छु भनेको भन्दै उनले भने, ‘अहिले पनि एक ठाउँमा हुनसक्ने केही सम्भावना छन्, जोड्ने केही रसायन छ भने जोड्न प्रयास गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment