Comments Add Comment

रक्षा विधेयक रोक्न ट्रम्पले लगाएको भिटो अमेरिकी सदनले गर्‍यो रद्द

१८ पुस, काठमाडौं । रक्षा विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भिटो अमेरिकी कंग्रेसले रद्द गरिदिएको छ । यस्तो घटना ट्रम्पको राष्ट्रपति कार्यकालकै पहिलो हो ।

फ्लोरिडामा पत्नी मेलानियासँग छुट्टी मनाउन गएका ट्रम्प भिटो रद्द भएको सूचना पाएलगत्तै ह्वाइटहाउस फर्किएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी सो विधेयक रोक्न गत बुधबार भिटो प्रयोग गरेका गरेका थिए । उनका सल्लाहकारहरुले उनलाई त्यसो नगर्न चेतावनीसमेत दिएका थिए । उनको भिटोलाई शुक्रबार माथिल्लो सदनले रद्द गरिदियो । यसअघि तल्लो सदनले पनि त्यसको विपक्षमा मत दिएको थियो ।

यो विधेयकमा अमेरिकाको रक्षा नीतिअनुसार आगामी वर्षसम्म ७४० अर्ब डलर खर्च गर्न सकिने व्यवस्था थियो ।

कंग्रेसबाट पारित विधेयकलाई कानुन बनाउनका लागि राष्ट्रपतिको हस्ताक्षर अनिवार्य चाहिन्छ । केही दुर्लभ परिस्थितिमा राष्ट्रपतिले विधेयकमा हस्ताक्षर गर्दैनन् र त्यसमा भिटो प्रयोग गर्दछन् । नीतिगत विषयमा विवाद भएपछि यस्तो हुने गर्दछ ।

तर सदनका सदस्यहरुले दुवै सदनबाट दुई तिहाईभन्दा बढी मतले विधेयक पारित गरेर राष्ट्रपतिको भिटो खारेज गर्न सक्छन् र विधेयकलाई कानुनको रुप दिन सक्छन् ।

अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीकी सबैभन्दा शक्तिशाली सदस्य एवम् सभामुख न्यान्सी पलोसीले ट्रम्पले ल्याएको भिटोबाट अमेरिकाको राष्ट्रिय सुरक्षा खतरामा परेको टिप्पणी गरेकी थिइन् ।

यसअघि ट्रम्पले आठवटा विधेयकमा भिटो प्रयोग गरेका थिए । ती सबै पास भएका थिए ।

अमेरिकी राष्ट्रपतिको रुपमा ट्रम्पको कार्यकाल यही जनवरी २० मा समाप्त हुँदै छ । सोही दिन डेमोक्रेट पार्टीका नेता जो बाइडनले नयाँ अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment