+
+
Shares

स्वदेशी तयारी पोशाक उद्योगः कोरोनाले जुराइदियो अवसर

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ पुष १९ गते १५:०४

१९ पुस, काठमाडौं । काठमाडौंको नयाँबजारस्थित एजी यूनिक तयारी पोशाक उद्योगले पुरुष जिन्स, कटन पाइन्ट, वीन चिटर र हाफप्यान्ट उत्पादन गर्छ ।

१० लाख लगानीमा २०७२ सालमा सुरु भएको यो उद्योगको पुँजी अहिले ५० लाख पुगेको छ । ६ कर्मचारीबाट सुरु भएको उद्योगमा अहिले ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सुन्दा अपत्यार लाग्न सक्छ, तर उद्योगलाई कोरोना महामारी पनि अवसर बनेर आएको सञ्चालक अनिल श्रेष्ठ बताउँछन् ।

भन्छन्, ‘कोरोनाले अर्थतन्त्र तहसनहस भएको, रोजगारी गुमेको, औद्योगिक वातावरण बिग्रिएको चौतर्फी सुनिन्छ, तर हामीलाई उत्पादन र बिक्री गर्न भ्याईनभ्याई छ ।’

चार वर्षसम्म ठिकठिकै चलेको उद्योगले कोरोनापछि एकाएक ठुलो फड्को मारेको उनले बताए । भारत, बंगलादेश, चीन र थाइल्याण्डबाट आउने तयारी पोशाकका कारण खुम्चिएको उद्योगले कोरोनाकालमा फष्टाएको उनको भनाइ छ । ‘ मासिक १८ हजार पिस कपडा तयार पार्दा पनि माग धान्न धौधौ भयो’, श्रेष्ठ भन्छन्, ‘हामीलाई कच्चा पदार्थ पाउन चाहिँ कोरोनाको असर पर्यो ।’

काठमाडौं क्षेत्रपाटीमा रहेको नेचुरल फाइबर नेपाल उद्योग सञ्चालक सन्तोष कार्कीको अनुभव पनि उस्तै छ । कटन मास्क, बाँस र गाँजाको कपडाबाट बनेको झोला, ज्याकेट, प्यान्ट लगायतका गार्मेन्ट उत्पादन गर्ने कार्की अरु उद्योगधन्दा कोरोनाका कारण थला पर्दा आफ्नो उद्योगमा भने भ्याईनभ्याई भएको बताउँछन् ।

‘कोरोनापछि मास्कमा कसैले सोच्दै नसोचेको अवसर आयो,’ भन्छन्, ‘अमेरिका र यूरोपबाट आएको कटन मास्कको अर्डर पुर्याउन हम्मेहम्मे भयो । कोभिडअघिको तुलनामा अहिले पनि दुई गुणाभन्दा बढी मास्क उत्पादन गरिरहेका छौं ।’

अभावले सिकायो, गुणस्तर तिखारियो

विदेशी सामानलाई महत्व दिने उपभोक्ताले यसपटक नेपाली उत्पादनको महत्व बुझेको एजी यूनीक तयारी पोशाकका श्रेष्ठ बताउँछन् । छानीछानी विदेशी गार्मेन्ट्स किन्ने नेपाली उपभोक्ताका लागि कोरोनाकालमा नेपाली उत्पादन निर्विकल्प बन्न पुगेको उनले बताए । ‘त्योसँगै हामी नेपाली उत्पादकले पनि ग्राहकको गुनासो सुन्न, गुणस्तर सुधार गर्न पायौं’, कार्की भन्छन्, ‘हामीले डेनिङ जिन्सबाहेकका पुरुष प्यान्टमा अब चिनियाँ उत्पादन नचाहिने गरी गुणस्तर सुधार गरेका छौं ।’

बजार सुनिश्चित भएपछि उपकरणमा लगानी गर्न पनि समस्या नरहेको उनको भनाइ छ । विदेशी सामानको व्यापार मात्र गर्ने शैलीमा कोरोनापछिको मन्दीले नयाँ पाठ सिकाएको कार्कीले बताए । ‘परनिर्भरताले संकटमा मार खुवाउँछ भन्ने पाठ धेरैले सिकेका छन्’, उनले भने, ‘नेपालमै लगानी गरेका हामीलाई यसले हौसला दिएको छ ।’

नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष चण्डीप्रसाद अर्याल नेपाली उत्पादन संरक्षण गर्न आयात बिस्थापन गर्नु जरुरी भएकोमा यो काम यसपटक कोरोनाले गरिदिएको बताउँछन् ।

आयात सहजीकरण गर्ने सरकारको नीति रहेकोमा यसपटक कोरोनाका कारण जबरजस्ती रुपमा आयात रोकिदा कुचोले बढार्नु पर्ने कसिङ्गर हावाले बढारिदिएजस्तो भएको उनले बताए । ‘यसवर्ष समग्र गार्मेन्ट आयात ३६ प्रतिशतले घटेको छ’, अध्यक्ष अर्याल भन्छन्, ‘विदेशबाट हुने आयात घट्नु भनेको स्वदेशी गार्मेन्टले बजार पाउनु हो ।’

कच्चा पदार्थको लागि चिनिया बजारमा निर्भर केही उद्योग भने अप्ठ्यारोमै रहेको संघका महासचिव अशोक कुमार अग्रवाल बताउँछन् । ‘केरुङबाट ल्याउनपर्ने कच्चा पर्दाथको अभाव नै भयो’, उनी भन्छन्, ‘स्वदेशी उत्पादन निर्यात गर्न पनि समस्या नै भयो ।’

संघका अनुसार, मुलुकभर सानाठूला गरेर २२५ वटा तयारी पोशाक उद्योग छन् । नेपाली बजारमा स्वदेशी उत्पादनको खपत बढाउनका निम्ति आयात निरुत्साहित गर्ने कानुनी व्यवस्था गर्न संघले सरकारसँग माग गरेको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?