Comments Add Comment

विदेश जान नक्कली पीसीआर रिपोर्ट : कीर्ते गर्नेलाई खोज्दै प्रहरी

२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका ७ जनाले कहाँबाट कीर्ते कागजपत्र तयार पारे भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शंकास्पद रिपोर्टसहित नियन्त्रणमा लिएका ७ जनामाथि महानगरीय प्रहरी वृत्त, गौशालाले अनुसन्धान जारी राखेको हो ।

गौशाला प्रहरीका डीएसपी जितेन्द्रबहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिले ह्याम्स अस्पताल र सेन्टर डायगोनस्टिक प्रयोगशालाको नक्कली पीसीआर रिपोर्ट बोकेका थिए ।

‘हालसम्मको अनुसन्धानले नक्कली रिपोर्ट बनाउने कार्यमा अस्पताल वा प्रयोगशालाको संलग्नता देखाएको छैन,’ बस्नेतले भने, ‘कुनै साइबर वा अन्य ठाउँमा फोटोसपबाट एडिट गरेर नाम फेरेको हुनसक्ने देखिएको छ, विस्तृत अनुसन्धान भइरहेको छ ।’

विमानस्थल सुरक्षाका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार विभिन्न देश जान लागेका व्यक्तिको शंकास्पद रिपोर्ट देखिएपछि छानबिन थालिएको थियो । ‘रिपोर्टमा भएको सिरियल नम्बर अनुसार अस्पताल र प्रयोगशालामा सोध्दा त्यो अर्कै व्यक्तिको नामको रिपोर्ट भएको पाइयो’, बाँस्तोलाले अनलाइनखबरसँग भने ।

रिपोर्ट नक्कली भएको पुष्टि भएपछि प्रहरीले सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महतो, छेदी महतो, सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रविन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङलाई पक्राउ गरेको थियो ।

थप अनुसन्धान गौशाला प्रहरीले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment