Comments Add Comment
यातायातमा लापरवाही :

रेकर्ड नभेटिएको भन्दै वर्षौं पुराना लाइसेन्सको नवीकरण बन्द

यातायात कार्यालयले निर्णय लिन सकेन

२१ पुस, काठमाडौं । किशोरप्रसाद पौडेलले २५ वर्षअघि लिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पटक-पटक नवीकरण गरिसके । पछिल्लो पटक उनले ८ कात्तिक २०७२ मा अनुमति पत्र नवीकरण गराए ।

पुनः ५ वर्ष कात्तिकमा नै पुगिसकेको थियो । आफ्नो लाइसेन्सको म्याद सकिएपछि उनी पुस पहिलो साता सवारी चालक यातायात कार्यालय, एकान्तकुना पुगे ।

हरेक ५ वर्षमा सहजै राजश्व तिरेर नवीकरण गराउँदै आएका पौडेल त्यतिबेला झसंग भए जतिबेला कार्यालयका कर्मचारीले नवीकरण हुन नसक्ने निर्णय सुनाए । सुरुमा त उनलाई विश्वास नै लागेन । तर, कार्यालयले राजश्व तिरेको प्रमाण नभेटिएको भन्दै लाइसेन्स नवीकरण नगर्ने निर्णय सुनायो ।

पौडेलले सधै नवीकरण भइरहेको सुनाउँदै यसपालि पनि नवीकरण गर्नै पर्ने भन्दै कर्मचारीसँग कुरा राखे । तर कर्मचारीले कुरा सुनेनन् । बरु कार्यालय प्रमुखसँग कुरा गर्न भने । ‘मैले ट्रायल पास गरेर लाइसेन्स लिएको हुँ, २५ वर्षसम्म सरासर नवीकरण गर्ने अहिले यस्तो अड्को थाप्ने ?’ पौडेलको प्रश्न छ ।

उनी यो विषयलाई लिएर पटक पटक एकान्तकुना कार्यालय पुगेका छन् । उनी यही विषयलाई लिएर सवारी चालक अनुमतिपत्र कार्यालय बागमती कार्यालयका प्रमुख सम्बरबहादुर कार्कीमात्रै होइन, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट्न मिनभवनसम्म पुगे । उनको समस्या अझै समाधान भएको छैन । उनी कार्यालयविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी लिएर जाने सोचमा छन् ।

महानिर्देशक हमाललाई भेट्न आइतबारमात्रै उनी विभाग पुगेका थिए । तर, उनले हमाललाई भेट्न पाएनन् । लाइसेन्स कार्यालय प्रदेश सरकार मातहत गएको र सबै अख्तियार उतै गएकाले आफूलाई नभन्न हमालले आग्रह गरेका छन् ।

उनको एउटा आग्रह छ- कि त लाइसेन्स नवीकरण गरिदिनु पर्‍यो, कि त यो लाइसेन्स नक्कली हो भनिदिनु पर्‍यो । ‘लाइसेन्स नक्कली भनेर सरकारले मलाई जेल हालोस् कानून अनुसारको सजाय भोग्न तयार छु,’ उनी भन्छन्, ‘अनावश्यक रुपमा दुःख दिनु भएन, निर्णय गर्नुपर्‍यो ।’ तर उनको समस्या समाधान गर्न कार्यालयले सकेको छैन ।

कार्यालय नै अलमलमा

कार्यालयका अनुसार यसरी दुःख पाउने पौडेल एक्लै भने होइनन् । अरु  सयौँको संख्यामा यस्तो समस्या लिएर कार्यालय आउने गरेको एकान्तकुना कार्यालय प्रमुख कार्की बताउँछन् । कार्यालय प्रमुख कार्कीका अनुसार यस्तो समस्या लिएर आउने ५ सयभन्दा धेरै छन् ।

कतिपय अझै आउन सक्ने उनको अनुमान छ । तर यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा आफैँ अलमलमा रहेको उनी बताउँछन् । अझ कतिपयले त राजश्व तिरेको रसिद नै लिएर आउँदा समेत नवीकरण गर्न नसकिएको कार्कीले सुनाए ।

‘राजश्व तिरेको रसिद पनि ल्याउनु हुन्छ, तर यहाँ रेकर्डमा भेटिँदैन,’ उनी भन्छन्, ‘ यहाँ राजश्व तिरेको रेकर्ड पनि भेटिँदैन, राजश्व तिरेको नदेखेपछि मैले कसरी नवीकरण गर्नुस् भनेर भन्न सक्छु ?’ यस्ता लाइसेन्स नक्कली भने नभएको उनले बताए ।

कार्यालयका अधिकृतले हस्ताक्षर गरेका यस्ता लाइसेन्स सक्कली नै भएको उनी बताउँछन् । तर, व्यवहारिक रुपले आफूले कुरा बुझे पनि कानूनअनुसार नमिल्ने भएकाले नवीकरण नभएको उनले सुनाए । आफ्नो तहबाट यो समस्या समाधान पनि हुन नसक्ने उनी सुनाउँछन् ।

उनका अनुसार यो समस्या देखिएपछि एकान्तकुना कार्यालयले बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा पत्राचार समेत गरेको छ ।

कम्तिमा सचिवस्तरको एउटा कार्यदल बनाएर अध्ययन गरी समस्या समाधान गर्न सकिने उनको सुझाव छ । तर, यस विषयमा मन्त्रालयले चासो दिएको छैन ।

धेरै कुरा बुझेर पनि आफैँले केही गर्न नसकिने कार्यालय प्रमुख कार्की बताउँछन् । माथिबाटै केही निर्णय भए सजिलो हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment