Comments Add Comment

लिच्छविकालीन शहरको राणाकालिन घरमा दार्जिलिङे स्वादको मःम

सतब्दी पुरानो खाँटी राणाकालिन घरमा बसेर, तिख्खर दार्जिलिङ स्वादको मःम खानुहुन्छ ? त्यसो हो भने तपाईं गहनापोखरी पुग्नुपर्छ । लिच्छवीकालिन विरासत आफैसँग समेटेर बसेकोे हाँडीगाउँ र गहनापोखरीको कथा एकछिन थाँती राखौं । यो ऐतिहासिक थलोमा पुगेपछि तपाईं नाम्गेल चोकतर्फ मोडिनुपर्छ । त्यहाँ भेटिन्छ, निम्बु क्याफे, रेष्ट्रो एन्ड बार ।

यो रेष्टुरेन्टको विशेषता के भने, तपाईं सताब्दी अघिको संरचनामा बसेर थरीथरीका मःमको स्वाद लिन सक्नुहुन्छ । औसत भन्दा केही होचो झ्याल–ढोका भएको राणाकालिन घरले केही नयाँपन अनुभव गराउँछ । साथसाथै दार्जिलिङ स्वादको मःमले पनि ।

अर्को कुरा, यहाँ केही यस्ता मःम पनि चाख्न सक्नुहुन्छ, जुन अन्यत्र खोजेर पाइदैन । जस्तो कि, मटका मःम । माटोको भाँडोमा अलग विधीबाट तयार गरिने यो मःमले आगन्तुकको जिब्रोलाई लोभ्याउनेछ । परम्परागत ढंगले खसीको पक्कु वा कटिया तयार गरेझै यो मःमलाई विशेष किसिमले पकाइन्छ । यही पाककलाले मटका मःमलाई स्वादिलो र पृथक बनाएको छ ।

मटका मःमसँगै यहाँ १७ थरीका स्वाद चाख्न सकिन्छ, मःमको । तन्दुरी मःम, झानेको मःम, क्रन्ची मःम, चकलेट मःम आदि । अहिलेका जाडो याममा झानेको मःम खास लाग्नसक्छ । ज्वानोमा झानिएको पिरो र तात्तातो मःमले जाडो भगाउँछ । यसमा इलामको अकबरे खुर्सानीको पिरो मिसाइन्छ । क्रन्ची मःम चाहिँ अहिलेका टिनएजर्सलाई स्वादिलो लाग्नसक्छ । यसैगरी चकलेट मःम बालबच्चालाई रुचीकर लाग्न सक्छ ।

मःम मात्र होइन, दक्षिणभारितय स्वादका परिकारदेखि समुन्द्री खान्कीसम्म यहाँ पाइन्छन् । मौलिक स्वादको बिरयानी खाने कि जेली फिस ? रोजाई तपाईंको । आखिर जे भनेपनि यहाँको मेनुको विशेष भनेको, दार्जिलिङे स्वादको मःम नै हो । यसमा भेज तथा ननभेज दुबै उपलब्ध छन् ।

पुरानो शैलीको यो घरलाई यथावत राखेर आवरणमा भने केही आधुनिक साजसज्जा दिइएको छ । अघिल्तिर फराकिलो एवं खुला ठाउँमा बसेर खाने वा घरभित्र ? दुबै बिकल्प छन् । जाडोमा आगो ताप्दै पारिवारिक माहौलमा पनि रमाउन सक्नुहुनेछ ।

यहाँ तपाईंले आफ्नो रुची अनुसारको पेयसँगै इलामको थरीथरी चिया पनि चाख्न सक्नुहुनेछ ।

वन्डर हस्पिटालिटी अन्तर्गत यो रेष्टुरेन्ट संचालमा ल्याइएको प्रभात योगी बताउँछन् । लामो समयदेखि हस्पिटालिटी क्षेत्रमा विताएका उनी यसलाई पूर्णत पारिवारिक रेष्टुरेन्ट भन्न रुचाउँछन् । रेष्टुरेन्टको नामलाई पनि उनी अर्थपूर्ण ढंगले व्याख्या गर्छन् । ‘निम्बु अर्थात कागतीसँग स्वाद मात्र होइन आस्था पनि जोडिएको छ’ उनी भन्छन्, ‘यसले हाम्रो पाँचवटा इन्द्रियलाई सक्रिय गराउँछ । आँखा, नाक, कान, छाला र जिब्रो ।’ यहाँको साजसज्जामा पहेंलो र हरियो रंगको संयोजन मिलाइएको छ । यसैगरी यहाँ पाक्ने सबैजसो परिकारमा कागतीको स्वाद अनुभव गर्न सकिन्छ ।

बिहान ६ बजेदेखि राती १० बजेसम्म यो रेष्टुरेन्ट खुला रहन्छ ।

हाँडीगाउँको कुरा

हाँडीगाउँलाई धेरैले चिन्छन्, एउटा उखानलाई लिएर । उखान यस्तो छ, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ त्यसो त काठमाडौं पनि आफैमा जात्रै जात्राको शहर हो । त्यसमध्ये पनि हाँडीगाउँको जात्रा विशेष छ । यहाँ लिच्छविकालीन जात्रा एवं पर्व साक्षतकार गर्न पाइन्छ ।

भारतको वैशालीबाट आएका लिच्छवि राजाहरुले हाँडीगाउँलाई राजधानी बनाएका थिए । यहाँ अहिलेपनि त्यसबखतका कतिपय संरचनाहरु सुरक्षित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment