Comments Add Comment

ढाकामा नेपाली धावकको लक्ष्य : म्याराथनमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन

२२ पुस, काठमाडौं । यही जनवरी १० तारिखमा बंगलादेशमा आयोजना हुने बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली एथलेटिक्स टोली मंगलबार बंगलादेशको ढाका पुगिसकेको छ ।

गत वर्ष भएको १३औं दक्षिण एसियाली खेलकुदमा म्याराथनमा स्वर्ण जितेका किरणसिंह बोगटी र महिला म्याराथानमा रजत जितेकी पुष्पा भण्डारीले ढाका म्याराथनमा प्रतिस्पर्धा गर्दैछन् ।

कोरोना महामारीले गर्दा गत चैतयता नेपाली खेलकुदलाई ठूलो असर गर्‍यो । धेरै खेलाडीले प्रशिक्षण गर्न पाएनन् । पछिल्लो महिनादेखि बल्ल नेपाली खेलकुदको प्रशिक्षणहरु विस्तारै सुरु भएको छ । क्रिकेटको प्रतियोगिता नै भएको छ भने फुटबल टोलीले बंगलादेशसँग दुई फुटबल म्याच खेलिसकेको छ ।

अन्य खेलले पनि प्रशिक्षण विस्तारै सुरु गर्दैछ । एथ्लेटिक्स खेलाडीले पनि स्वास्थ्य सावधानी अपनाउँदै प्रशिक्षण भने गरेको थियो ।

त्यहीमध्येबाट १३ को प्रदर्शनको आधारमा किरणसिंह र पुष्पालाई छनोट गरेर नेपाल एथ्लेटिक्स संघले बंगलादेश पठाएको हो । किरण र पुष्पासँगै प्रशिक्षक धनीराम चौधरी पनि बंगलादेश गएका छन् ।

‘कोरोनाको विसम परिस्थितिमा पनि १३औं सागलाई आधारमा मानेर यी दुई खेलाडी छनोट गरिएको हो । दुवै खेलाडीको कन्डिसन पनि अरुको तुलनामा राम्रो देखिएकोले नेपाल एथ्लेटिक संघ र मुख्य प्रशिक्षकको सहमतिमा यो टिम छनोट भएको हो,’ प्रशिक्षक धनीरामले ढाका पुगेपछि अनलाइनखबरसँगको कुराकानीमा भने ।

यसका लागि करिब दुई महिना काठमाडौंमै तयारी गरेको प्रशिक्षक चौधरीले बताए । छोटो समयको तयारी भए पनि सफलता हात पार्नेमा उनको विश्वास छ । ‘हामीले काठमाडौंमा झण्डै दुई महिनाको तयारी गरेका छौँ ।’

यस्तै यस म्याराथनमा नेपालको टार्गेट पर्सनल बेस्ट व्यक्तिगत उच्च प्रदर्शन रहेको चौधरीले बताए । ‘छोटो समयको तयारीले पनि हामी सफलता हात पार्छौँ कि भनेर आशावादी छौँ किनभने यहाँ ३ क्याटेगोरीको प्रतिस्पर्धा हुन्छ । एउटा राषट्रिय लेभलको साग लेभलको र इन्टरनेसनल ओपल लेभलको हामी साग लेभलमा प्रतिस्पर्धा गर्दैछौँ । हाम्रो लक्ष्य व्यक्तिगत कीर्तिमान हो,’ चौधरीले भने, ‘यो प्रतियोगितामा सहभागी पश्चात आउने सागमा सहयोगी सावित हुने विश्वास छ ।’

नेपाली म्याराथनमा महिलातर्फको कीर्तिमान पुष्पाकै नाममा छ । पुष्पाको कीर्तिमान २ घण्टा ५० मिनेट ११ सेकेण्ड रहेको छ । नेपाली महिला खेलाडीको यो कीर्तिमान समेत हो । १३औं सागमा उनले कीर्तिमान बनाएकी थिइन् ।

यस्तै किरणले १३औं सागमा स्वर्ण जित्ने क्रममा २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए । पुरुषतर्फ नेपाली खेलाडीको कीर्तिमान बैकुण्ठ मानन्धरको नाममा रहेको छ ।

मानन्धरले सन् १९८७ मा भारतको कलकत्तामा भएको दक्षिण एसियाली खेलकुद २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान कायम गरेका थिए । जुन कीर्तिमान ३३ वर्ष बित्दा पनि कसैले तोड्न सकेका छैनन् ।

गत मंसिरमा नेपालगन्जमा भएको छैटौं नेपागन्ज म्याराथनमा एपीएफका धावक गोपीचन्द्र पार्कीले २ घण्टा १८ मिनेट ५९ सेकेणडमा पूरा गर्दै नेपाल भित्र भएको म्याराथन छिटो पूरा गर्ने कीर्तिमान बनाएका थिए ।

किरण र पुष्पा ढाका फुल म्याराथन दौडने प्रशिक्षक चौधरीले जानकारी दिए ।

कोरोनाकै कारण ढाका बाहिर निस्केर प्रशिक्षण गर्ने अनुमति नभएको उनले सुनाए । ‘यद्यपि मंगलबार नेपाली खेलाडीले होटलमै हल्का अभ्यास गरे ।  कोरोनाको कारणले ढाकामा ट्रेनिङको लागि बाहिर जान अनुमति छैन । आज होटलमै बेस फ्लोरमा सामान्य रनिङ गर्‍यौँ ।’

प्रतियोगिताको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने प्रशिक्षक चौधरीले जानकारी दिए । यस्तै म्याराथन रुटको बारेमा पछि जानकारी गराइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment