Comments Add Comment

ट्रम्पका फेसबुक र ट्वीटर अकाउन्टमा प्रतिबन्ध

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र ट्वीटरले प्रतिबन्ध लगाएका छन् । अमेरिकाको वासिङटनस्थित क्यापिटोल हिलमा भएको हिंसात्मक घटनाको विषयमा गरेको पोस्टको विषयलाई लिएर सामाजिक सञ्जालहरुले अस्थायीरुपमा ट्रम्पमाथि प्रतिबन्ध लगाएका हुन् ।

सामाजिक सञ्जालमा ट्रम्पले प्रदर्शनकारीहरुलाई घर फर्किन निर्देशन दिनुभन्दा पहिला ‘आई लभ यू’ भन्ने सन्देश पठाएका थिए । ट्रम्पले बारम्बार निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । तर, उनले अहिलेसम्म यसको कुनै प्रमाण भने दिन सकेका छैनन् । बुधबार उनकै उक्साहटमा अमेरिकाको वाशिङ्टनस्थित क्यापिटोल हलअगाडि हिंसात्मक प्रदर्शन भएको थियो ।

ट्वीटरले आफ्नो नियमको पालना नगरेको कारण ट्रम्पमाथि प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ । कम्पनीले ट्रम्पले गलत दाबी गरेका पोस्टहरु नहटाएसम्म उनको अकाउन्ट लक रहने बताएको छ । उनले अझै पनि आफ्नो नियमको बेवास्ता गरे उनको अकाउन्ट स्थायीरुपमा नै हटाइने चेतावनी ट्वीटरले दिएको छ ।

यसैबीच अर्को सामाजिक सञ्जाल फेसबुकले पनि ट्रम्पको अकाउन्टमाथि २४ घण्टाको प्रतिबन्ध लगाएको छ । फेसबुकले अहिले हिंसा भड्काउने किसिमका पोस्टहरु खोज्ने र हटाउने काम भइरहेको बताएको छ ।

यसअघि नै युट्युबले निर्वाचनमा धाँधली भएको आरोपबारेको गलत समाचारलाई रोक्दै आएको छ । ट्रम्पको हकमा पनि युट्युबले यो नियम लागू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment