Comments Add Comment

निजी क्षेत्रले कोलोनीमा बनाउने मन्दिरलाई ‘राष्ट्रिय महत्वको परियोजना’को दर्जा

मन्त्रिपरिषद्ले दियो राष्ट्रिय महत्वको मान्यता

२३ पुस, काठमाडौं । निजी क्षेत्रले निर्माण गर्ने मन्दिरलाई सरकारले राष्ट्रिय महत्वको परियोजनाको मान्यता दिएको छ । जगदगुरु कृपालु प्रतिष्ठानले ‘राष्ट्रिय गौरवको आयोजना’को घोषणा गर्न दौडधुप गरेपनि सरकारले कानूनमै नभएको ‘राष्ट्रिय महत्वको परियोजना’को मान्यता दिने निर्णय गरेको हो ।

नागार्जुन नगरपालिकास्थित पद्मा कोलोनीमा रहेको १६८ रोपनी निजी जग्गामा निर्माण हुने राधाकृष्ण मन्दिर निर्माण आयोजनालाई राष्ट्रिय महत्वको परियोजनाको मान्यता दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए ।

यो आयोजनालाई राष्ट्रिय योजना आयोगमार्फत राष्ट्रिय गौरबको आयोजना बनाउन ठूलो लबिङ भएको थियो । तर, निजी लगानीमा निर्माण हुने संरचनालाई राष्ट्रिय गौरवको मान्यता दिन नसकिने बताउँदै आयोगले फाइल फिर्ता गरेको थियो ।

योजना आयोग स्रोतले भन्यो, ‘गौरवका आयोजनाका लागि सरकारी आयोजना हुनुपर्छ, तोकिएको मापदण्ड पुरा नहुने भएपछि आयोगबाट फिर्ता गएको हो ।’

त्यसपछि संघीय मन्त्रालयले आयोजनालाई राष्ट्रिय महत्वको परियोजनाको मान्यता दिन प्रस्ताव गरी मन्त्रिपरिषद् लगेको थियो । मन्त्रिपरिषद्को बैठकले यो आयोजनालाई राष्ट्रिय महत्वको आयोजनाका रुपमा मान्यता दिने निर्णय गरेर मन्त्रालयलाई जानकारी गराएको प्रवक्ता अधिकारीले बताए ।

राधाकृष्ण मन्दिर, होटेल र हस्पिटल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाका अनुसार राधा-मन्दिरसहितको संरचना नागार्जुन नगरपालिकास्थित पद्मा कोलोनीको जग्गामा निर्माण गर्ने प्रस्ताव गरिएको छ । जगत् गुरु कृपालुजी भारत परिषद्का नाममा निर्माण हुने यो मन्दिर संसारकै सातौं ठूलो मन्दिर हुने दावी निर्माण पक्षले गरेको छ ।

निजी जग्गामा निर्माण हुने भएकाले भविष्मा विवाद नआओस् र संरक्षणमा पनि सहज होस् भनेर यसमा सरकारको अपनत्व खोजिएको तर्क मन्त्रालयको छ ।

भारतबाट ठूला ढंगाहरु ल्याउनुपर्ने भएकाले त्यसमा सहजीकरण गर्न पनि सरकरको साथ खोजेको मन्त्रालयका अधिकारीको भनाइ छ । प्रतिष्ठानमा नेपाल सरकारको माथिल्लो पदमा बसेर काम गरिसकेकासहित धेरै पूर्वासचिवहरु व्यक्ति समेत भएको बताइएको छ ।

यहाँभित्र ११० बेड क्षमथाको अस्पताल पनि रहने भनिएको छ । चमेना गृह र आवास स्थल पनि रहनेछ ।

दुई वर्ष अगाडि नै शिलान्यास

भारतीय सन्तका नाममा स्थापना भएको ट्रष्टले निर्माण गर्ने ६० फिट अग्लो राधाकृष्ण मन्दिर बनाउने घोषणा तथा शिलान्यास भने दुई वर्ष अगाडि नै भएको थियो ।

१८ मंसिर २०७५ मा मन्दिरको ताम्रपत्र अनावरण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन र तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रविन्द्र अधिकारी सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मन्दिर निर्माणमा सरकारले सक्दो सहयोग गर्ने बचन समेत दिएका थिए ।

ताम्रपत्र अनावरणको केही दिन अगाडि राधाकृष्ण मन्दिरको भूमिपूजामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अतिथिका रुपमा उपस्थित भएका थिए ।

करिव १३ अर्ब लगानी अनुमान

यस स्थानमा करवि १३ अर्ब रुपैयाँ लगानीमा राधाकृष्ण मन्दिर, आवासगृह, होटेल र हस्पिटल बनाउने घोषणा ट्रष्टले गरेको थियो ।  ध्यानकेन्द्र बगैचा, सभाहल, हेलिप्याडसहितका संरचना निर्माणको योजना रहेको यो आयोजनाको कुल लागत १३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

कंक्रिटको प्रयोग नगरी इटालियन मार्वल प्रयोग गरी राधाकृष्ण मन्दिर निर्माण गर्ने घोषणा दुई वर्ष अगाडि नै गरिएको थियो । जगत गुरु प्रतिष्ठान नेपालको अध्यक्ष राजु कँडेल छन् । उनी मन्दिर बन्ने पद्मा कोलोनीका सञ्चालक हुन् ।

मन्दिर सहितका संरचना निर्माण हुने यो जग्गा कँडेलले नै उपलब्ध गराएको घोषणा अनावरण कार्यक्रममा जानकारी दिइएको थियो । आयोजनाको वातावरणीय प्रभाव अध्ययन समेत सम्पन्न भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि धार्मिक पर्यटक आकषिर्त गर्न संरचना महत्वपूर्ण सावित हुने मन्त्रालयको भनाइ छ ।

नगरपालिकाको सहयोग

आफ्नो नगरपालिका भित्र पर्यटकीय संरचना बन्ने भएपछि नगरपालिकाले भने निर्माण पक्षलाई निर्माणमा सहजीकरण गर्ने वचन दिएको छ । नागार्जुन नगरपालिकाकी उपमेयर शुशीला अधिकारीका अनुसार आयोजनालाई सहजिकरण गर्ने सम्बन्धमा नगरपालिकाले सहयोग गर्नेछ ।

तर, आयोजना निजी जग्गामा बन्ने भएकाले नगरपालिकाको कुनै हिस्सेदारी भने नरहने स्पष्ट पारिन् ।

‘आयोजना निर्माणका दौरान कुनै अप्ठ्यारो परिस्थित आए हामीले सहजीकरण गर्ने हो,’ उनले अनलाइनखबरसँग भनिन्, ‘तर निजी आयोजना भएकाले हामी निर्माणमा संलग्न हुँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment