Comments Add Comment

कोहलपुर ओपन क्रिकेट : केसीएसहित न्यु दर्पण र बीबी वारियर्स सेमिफाइनलमा

२३ पुस, काठमाडौं । आयोजक कोहलपुर क्रिकेट एकेडेमी (केसीए), न्यु दर्पण युथ क्लब र बीबी वारियर्स बाँकेको कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शारदा एजुकेशन पार्कको आयोजनामा भइरहेको प्रतियोगिताको चौथो दिन भएको क्वाटरफाइनल खेल जित्दै तीन टिमले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा न्यु दर्पण युथ क्लबले कारकाँदो क्रिकेट क्लबलाई १४ रनले पराजित गर्यो । न्यु दर्पणले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा कारकाँदोले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो ।

कारकाँदोको लागि संगम कँडेलले सर्वाधिक ३४ रन तथा उत्कर्ष विश्वकर्माले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्यु दर्पणका बलर रेशम सिंह ठकुरी र दीप रानाले समान २ विकेट तथा सिमोन थापा, करन भण्डारी र प्रेम सुनारले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको न्यु दर्पणले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको थियो । उसको लागि दीपक बिसीले ३७ तथा निर्मल बिसीले २५ रन बनाए । कारकाँदोको बलिङमा हुसेन अलिले २ विकेट तथा संगम कँडेल, कुशल न्यौपाने, नवीन गौतम र खगेन्द्र खनालले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच न्यु दर्पणका दीपक बिसी चुनिए।

दोश्रो क्वाटरफाइनलमा आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीले च्याम्पियन्स स्पोर्ट्स क्लबलाई ३ रनले पराजित गर्यो । कोहलपुरले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा च्याम्पियन्सले निर्धारित १५ ओभरमा ७ विकेट क्षेतिमा ९४ रन मात्र बनाउन सक्यो।

च्याम्पियन्सका ब्याट्सम्यान रोहन केसीले २८ बलमा ३ छक्का र २ चौका मद्दतले सर्वाधिक ४४ रन बनाएता पनि टिमलाई जित दिलाउन पर्याप्त भएन । राहुल शर्माले १५ तथा सुनिल खड्काले १० रन बनाए । कोहलपुर क्रिकेट एकेडेमीको बलिङमा रमेश सिंहले सर्वाधिक ३ विकेट तथा अजय शहानी र लवकुश यादवले समान २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको कोहलपुरले १४.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९७ रन बनाएको थियो । उसको लागि सुजल केसीले सर्वाधिक ३१, रोशन शाहले २१ तथा सुरज दासले १२ रन योगदान दिए । च्याम्पियन्सको बलिङमा सोम शर्मा र सुनिल खड्काले समान ३ विकेट लिए भने गोभिन्द विष्टले २ तथा गौतम कनोजिया र राहुल शर्माले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडेमीका सुजल केसी चुनिए।

तेश्रो क्वाटरफाइनलमा बीबी वारियर्स नेपालगन्जले युभीसीसी कोहलपुरलाई ६ विकेटले पराजित गर्यो । युभीसीसीले दिएको ७८ रनको लक्ष्य बीबी वारियर्सले ८.४ ओभरमा ४ विकेट गुमाएर ८१ रन बनायो । बीबी वारियर्सको लागि प्रनित थापाले अविजित २९ रन, शाहिद अन्सारीले २० तथा सिद्धान्त राज शाहीले १२ रन बनाए ।

यसअघि टस जितेर ब्याटिंग गरेको युभीसीसी कोहलपुरले निर्धारित १५ ओभरमा ५ विकेट क्षेतीमा ७७ रन बनएको थियो । उसको लागि कमल थापाले सर्वाधिक २३ रन तथा सुमन गुरुङ र आलोक चौधरीले समान १९ रन बनाए । बिबि वारियर्सको बलिङमा निजामुद्दिन हलवाई र आकाश विष्टले समान २ विकेट तथा सिद्धान्त राज शाहीले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच सिद्धान्त राज शाही चुनिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान चौथो क्वाटरफाइनलमा बीबीसीसी कीर्तिपुर र यस एक्स्पर्टले प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबार नै पहिलो सेमिफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र न्यु दर्पण युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोश्रो सेमिफाइनलमा बीबी वारियर्सले चौथो क्वाटरफाइनलको विजेता टोलिसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment