Comments Add Comment

साझा प्रकाशनमा चुनावी रौनक : अध्यक्षको मैदानमा विजय सुब्बा र जीवनचन्द्र कोइराला

२३ पुस, काठमाडौं । १०७ वर्षको इतिहास बोकेको साझा प्रकाशनमा नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । देशकै जेठो सरकारी प्रकाशन गृहमा अध्यक्ष र तीनजना सञ्चालक सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

अहिले साहित्यकारहरू विजय सुब्बा र जीवनचन्द्र कोइराला अध्यक्ष पदको प्रतिस्पर्धामा छन् । दुवै प्रत्यासी यसअघि एक–एक कार्यकाल साझा प्रकाशन सञ्चालक समिति सदस्य भइसकेका छन् ।

नेकपाका नेतासमेत रहेका सुब्बालाई वामपन्थी खेमाले उमेदवार बनाएको हो भने नेपाली कांग्रेस समर्थित समूहले कोइरालालाई उमेदवार छानेको हो । सुब्बा गजल विधामा चिनिएका छन् भने कोइराला सम्पादन, समालोचना विधामा चिनिएका छन् ।

साझा सञ्चालक समिति सदस्यमा भने तीनजना निर्विरोध निर्वाचित भइसकेका छन् । महिलातर्फ सीताकुमारी ओझा, खुल्लातर्फ डोरप्रसाद अर्याल र हरिप्रसाद भण्डारी निर्विरोध चयन भइसकेको निर्वाचन समितिका सदस्य–सचिव होमनाथ भट्टराईले बताए । निर्वाचित सदस्यहरु वामपन्थी खेमाका हुन् ।

भट्टराईका अनुसार कोभिड– १९ का कारण तीनदिनको मतदान समय राखिएको छ । अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले भने, ‘शुक्रबारदेखि मतगणना सुरु भई शनिबार भर्चुअलरुपमा साधारण सभा गरी अध्यक्ष घोषणा गर्नेछौं । लोकतान्त्रिक तवरले हुन लागेको नेतृत्व चयनले साझा परिवारलाई खुसी दिलाएको छ ।’

साझा प्रकाशन, सहकारी संस्था लिमिटेडका रुपमा दर्ता भई प्रकाशन क्षेत्रमा कार्यरत सरकारी संस्था हो । अहिले आर्थिकरुपमा संस्था धरापमा पर्दै गएको गुनासो आइरहेको छ ।

सधैं विवादमा साझा

सहकारी ऐन २०७४ अनुसार निर्वाचित पदाधिकारीको समयावधि चार वर्षको हुनेछ । साझा सहकारी ऐन अन्तर्गत चल्ने संस्थाको मुख्य काम नेपाली भाषा र साहित्यका पुस्तक प्रकाशन, बिक्री वितरण गर्नु हो । यद्यपि, २०२१ सालमा साझा प्रकाशन नामले गोरखा भाषा प्रकाशनी समितिबाट रुपान्तरित भएको यो प्रकाशन गृह सधै विवादमा पर्ने गरेको छ ।

अहिले होमप्रसाद गौतम महाप्रबन्धक रहेको संस्था डोलिन्द्रप्रसाद शर्माको कार्यकाल निकै विवादित बनेको थियो । २०७१ सालमा शिक्षामन्त्री चित्रलेखा यादवले अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गरेका शर्मालाई साझा प्रकाशन डुबाएको आरोप लाग्दै आएको छ ।

चार वर्ष साझा प्रकाशनभित्र एकछत्र राज गरेका डोलिन्द्र शर्मालाई राजनीतिक पहुँच र शक्तिको आडमा साझा प्रकाशन डुबाएको आरोप छ । उनलाई शिक्षा मन्त्रालयले बर्खास्त गरेको थियो । अध्यक्ष तथा महाप्रबन्धक दुवै पदमा पटकपटक नियुक्ति भएका शर्मा अहिले निजी प्रकाशनगृह खोलेर बसेका छन् ।

लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, भूपी शेरचनदेखि नयाँ साहित्यकारसममका पुस्तक साझाबाटै छापिएको छ । साझाबाट पाँच हजारभन्दा बढी पुस्तकको अर्काइभ तथा सर्वाधिकार सुरक्षित रहेको छ । यसबाहेक ‘गरिमा’ साहित्यिक मासिक तथा नियमित बुलेटिनहरू, कथा, कविता र निबन्धका साझा संग्रहहरू साझा प्रकाशनबाट प्रकाशित हुने परम्परा छ ।

कमलमणि दीक्षित, क्षेत्रप्रताप अधिकारी, बैरागी काइँला लगायत साहित्यकार साझाको अध्यक्ष भइसकेका छन् । साझा प्रकाशनको काठमाडौंसहित जनकपुर, पोखरा, नेपालगञ्ज, विराटनगर, राजविराजमा शाखा कार्यालय रहेको छ । पहिला दार्जीलिङमा समेत साझाको क्षेत्रीय कार्यालय रहेको थियो ।

आसमका वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीले अनलाइनखबरसँगको अन्तर्वार्तामा साझा प्रकाशनको अवस्था देखेर आफू दुःखी भएको बताएका छन् । क्षेत्रीका अनुसार मुलुककै जेठो र ठूलो प्रकाशन गृह अस्तव्यस्त हुँदा नेपाली साहित्य पनि छायामा परिरहेको छ ।

साझा प्रकाशनको भविष्यबारे चुनावी प्रतिस्पर्धामा उत्रिएका अध्यक्षका उम्मदेवारहरुसँग गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ –

साझाको गौरव फेरि चुलिनेछ : विजय सुब्बा

पहिलोपटक सञ्चालक समिति सदस्य हुँदा पनि धेरै काम गर्न सक्थ्यौं । तर, साझा प्रकाशन बिग्रेको कुरा हामी सबैलाई थाहा भइसकेको छ । सबै साहित्यिक जमातलाई थाहा भइसकेको छ । त्योबेला र अहिलेको अवस्था पनि फरक छ । अहिलेको सञ्चालक समिति निकै राम्रो आइसकेको छ । म सदस्य हुँदाको अधिकांश समय त विवादमै सकियो ।

आजको अवस्था हेर्दा साझा उँभो लगाउन सकिन्छ । धराशयी अवस्था ब्युँताउन सकिन्छ, जसका लागि सरकारकै साथ चाहिन्छ । यहाँका भवन तथा भौतिक संरचना बनाउन जोड दिनेछु ।

अंशियारहरुको रेकर्ड भद्रगोल छ, किताबहरु लथालिंग राखिएको छ, त्यसलाई व्यवस्थित बनाउनेछु । कर्मचारीको सवालमा आएका विवाद स्थायीरुपमा समाधान गर्नेछु । जुनसुकै दलको सरकार भए पनि मेरो ध्यान साझाको उन्नयनमै केन्द्रित हुनेछ । यो संस्थाबाट फेरि नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गराउने प्रयास हुनेछ । मृतप्रायः बनिसकेको साझाको गौरव बढाउने काम गर्नेछु ।

साझा सुधार्ने नै मेरो एजेण्डा हो : जीवनचन्द्र कोइराला

म सदस्य छँदा यहाँका अन्य सदस्यहरु तथा अध्यक्ष बामपन्थी खेमाका थिए । उहाँहरूले कामभन्दा बढी राजनीति गर्नुभयो । त्यतिबेला पनि मैले यहाँको बेथितिविरुद्ध आवाज उठाइरहें । साझा बचाउनुपर्छ भनिरहेँ ।

त्यतिबेला बनाउन लागेको नयाँ भौतिक संरचना पनि पूरा भएको छैन । भूकम्पले साझाको भौतिक संरचना जीर्ण बनेको छ । जनक शिक्षाको किताब र अन्य किताब व्यवस्थित गर्न सकेका छैनौं । निजी क्षेत्रसँग पनि प्रतिस्पर्धा गर्नु छ । कर्मचारी संयन्त्र बलियो बनाउनुपर्ने छ । यी सबै कुरालाई म व्यवस्थित गर्छु । सबै समस्या हल गरेर साझा प्रकाशनलाई एउटा गतिशील संस्था बनाउनेछु ।

विभिन्न पार्टीको सरकार त आउने–जाने क्रम चलिरहन्छ । त्यसैले राजनीतिसँग म डराएको छैन । जो नेतृत्वमा आए पनि यो संस्था बचाउन उहाँहरूले साथ नदिइकन सम्भव छैन । राजनीतिभन्दा पर राखेर यो संस्थाको अस्तित्व बचाउनुपर्ने बेला आएको छ ।

हिजो यहाँको बजेट ल्याउन बामपन्थी साथीहरू र सांसदको हात भएको कुरा बिर्सन मिल्दैन । यसैले यो पार्टी, त्यो पार्टी भनेर अल्झिने समय नै छैन । हाम्रो साहित्यको गौरवमय इतिहास बचाउन यो संस्था (साझा) बाँच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment