News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा २३ र २४ भदौको घटनाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन भएको छ।
 - प्रहरी प्रधान कार्यालयले आयोगलाई सबै प्रहरी अधिकारी र जवानहरू फिल्डमै रहेको जवाफ पठाएको छ।
 - आईजीपी चन्द्रकुवेर खापुङले सबै जिल्लामा प्रदर्शन भएकाले कुनै एक प्रहरीलाई दोष दिन नमिल्ने भन्दै जवाफ पठाउन लगाएका थिए।
 
१८ कात्तिक, काठमाडौं। २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगलाई प्रहरी प्रधान कार्यालयले सबै प्रहरीहरू फिल्डमै रहेको जवाफ पठाएको छ।
घटनाको छानबिन गर्न भन्दै विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग गठन भएको छ। आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै २३ र २४ भदौमा फिल्डमा खटिएका प्रहरी अधिकारी, इन्चार्जहरूको विवरण पठाउन भनेको थियो।
लामो समयसम्म हेडक्वार्टरले उक्त पत्रको जवाफ पठाएको थिएन। आयोगले बारम्बार ताकेता गरेपछि प्रहरी हेडक्वाटरले आईजीपीदेखि जवानसम्म सबै फिल्डमै रहेको जवाफ पठाएको स्रोतले बताएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘घटनाको दिन सबै जना फिल्डमै रहेको भनेर जवाफ पठाइएको छ।’
आयोगले विवरण माग गरे पनि आईजीपी चन्द्रकुवेर खापुङले सबै जिल्लाहरूमा प्रदर्शन भएकाले कुनै एक प्रहरीलाई दोष देखाउन नमिल्ने भन्दै आईजीपीदेखि जवानसम्म सबै फिल्डमै रहेको भन्ने जवाफ पठाउन लगाएका थिए। त्यसपछि सोहीअनुसारको पत्र पठाएको हो।
त्यसपछि आयोगले आईजीपी खापुङको नाममा अर्को पत्र पठाउँदै २४ घण्टाभित्र विवरण पठाउन निर्देशन दिएको थियो। अनि, १६ कात्तिकमा मात्रै प्रहरी हेडक्वाटरले काठमाडौं उपत्यका प्रहरी कार्यालय पत्र लेख्दै घटनाका भएका बेला इन्चार्ज रहेका व्यक्तिहरूलाई उपत्यका नछाड्न भनेको हो।
अहिले अर्को जवाफ आयोगलाई पठाइसकेको हेडक्वार्टर स्रोतले बतायो।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4