
२४ पुस, धनगढी । ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् ।
धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तपाईंहरुले गाली गर्दै हिँडेका पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नुभएको होला । तपाईंहरु प्रभावित हुन आवश्यकता छैन ।’
केही मान्छेहरुले हामी हटेपछि पार्टी कसरी चल्छ भन्ने सोचेको होला भन्दै उनले २/४ जना मान्छे पिलो निचोरिए जसरी निचोरिँदैमा वजन नघट्ने दोहोर्याए । ‘तीन करोड मान्छेमा कति जना गए रे, तपाईंहरुले सुन्नु भएको होला । उहाँहरु २६५ कि कति भन्नुहुन्छ,’ ओलीले अघि भने, ‘अनि के भयो त ? नुहाउँदा पनि २/४ वटा केस झरेर जान्छ । अनि के भयो त ?’
०५४ सालमा त्यस्तै भएको भन्दै उनले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिए ।
अर्का समूहमा लागेका नेताहरुले छोरी, बुहारी, सम्धी र आफन्त मात्र हेरेको भन्दै उनले भने, ‘आफन्त नभएको कोही हुँदैन, मेरो पनि आफन्त होलान् । मेरो कोही आफन्त मैले टपक्क टिप्दै राख्दै गरेको देखाइदिनुस् । म नेताहरुलाई भन्न चाहन्छु, तपाईंहरुले जनताका अगाडि उभिएर मलाई यसैगरी भन्नुस् । म तपाईंहरु हरेकको एक दर्जन अवसरै अवसरको तर मारेको देखाइदिन्छु ।’
प्रतिक्रिया 4