Comments Add Comment
महाराजगञ्ज घटना : :

सई इटानी नियन्त्रणमा, सुन लुटियो कि मोबाइल खुलेन

२७ पुस, काठमाडौं । पुस दोस्रो साता महाराजगञ्जबाट सुन लुटिएको र यसमा प्रहरीको शंकास्पद भूमिका देखिएको खबरले सोमबार उपत्यकाको प्रहरी वृत्तमा चर्चा पायो ।

सुन हराएको सूचनासँगै पक्राउ परेका सुर्खेतका दिपक नेपालीलाई प्रलोभनमा थुनामुक्त गरेको भनिएको यो घटनामा महाराजगञ्जका डीएसपी रोशन खड्कालाई मुछिएको थियो ।

यसबारे सूचना पाए लगतै उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालदेखि महानिरीक्षक शैलेश थापा क्षेत्रीसम्मले चासो देखाए । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले तत्काल छानविन गरेर जानकारी गराउने बताए ।

सोमबारै प्रहरीले घटनाबारे छानविन समिति बनाएको छ भने प्रहरी नायब निरीक्षक (सई) आफैं प्रहरी नियन्त्रणमा परेका छन् । तर हालसम्म लुटिएको भन्ने वस्तु सुन थियो कि थिएन भन्ने नै एकिन भइसकेको छैन ।

सई इटानीको भूमिका शंकाको घेरामा

हालसम्म प्राप्त विवरणअनुसार १० पुसमा सामाखुशीको अल नेपाल अस्पताल अगाडिबाट दोलखाका संयोग कार्की, सुवास तिम्सिनासहितका व्यक्तिको ३० तोला सुनको ब्रासलेट लुटिएको भनिएको छ । लुटपाटको सूचना महानगरीय प्रहरी प्रभाग, बसपार्कमा खटिएका सई नवराज इटानीले पाएका थिए ।

उनले चोरीको योजनाकार भएको आरोपमा सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरी केरकार पनि गरेको पाइएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

केही घन्टा सोधपुछ गरेर उनले साँझपख महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी खड्कालाई रिपोर्ट गर्छन् । तर आफ्नो पहिलो कमाण्डर बसपार्कका इञ्जार्ज प्रहरी निरीक्षक रमेश विष्टलाई घटनाबारे जानकारी नदिएको पाइएको छ ।

डीएसपी खड्काका अनुसार त्यस दिन उनी प्रतिनिधिसभा विघटनपछि भएको मन्त्री मण्डल विस्तारको सुरक्षाका लागि शितलनिवास क्षेत्रमा थिए । ‘सईले मलाई खबर गरेपछि मैले इन्स्पेक्टरलाई पनि सोधेको थिएँ, उनलाई घटनाबारे थाहै रहेनछ’, डीएसपी खड्काले अनलाइनखबरसँग भने, ‘तैपनि कार्यालय गएर हेरेँ, समातेर राख्नलाई न उजुरी थियो न चोरी भएको कुनै आधार थियो ।’

उनकाअनुसार मौखिक जानकारीकै भरमा मात्र नेपालीलाई थुन्नु मनासिब थिएन । खड्का स्वयंमले पीडितहरुलाई सुन लुटिएको भए, खरिद गर्दाको बिल वा सुनको तस्वीर देखाउन आग्रह गरे । तर त्यस्तो केही देखाउन सकेनन् ।

‘पक्राउ परेका नेपाली घटना भएका वेला त्यहाँ नरहेको समेत पाइएपछि छाड्न भनेको थिएँ’, खड्काले भने ।

इटानीको सरुवा भएपछि घटना सार्वजनिक

तर यो घटना त्यही सिमित थियो, सम्बद्ध प्रहरी अधिकारीहरुले आफ्नो माथिल्लो निकायहरुमा खबर गरेनन् । जब एक साता अगाडि इटानीको महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा सरुवा भयो, यो घटना एकाएक सार्वजनिक भएको छ ।

घटना सार्वजनिक हुँदा डीएसपी खड्काले प्रलोभनमा नेपालीलाई छाडेको दाबी गरिएको छ ।

विवाद सार्वजनिक भएपछि महानगरीय कार्यालय, रानीपोखरीले छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डीएसपी निशान थापा सदस्य रहेको समिति बनाएको छ । समितिलाई अनुसन्धान सकेर ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

इटानी नियन्त्रणमा, अन्य फरार

काठमाडौं प्रहरीले सई इटानीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । शंकास्पद भूमिका देखिएपछि घटनाका दुवै पक्ष सम्पर्कमा नआउञ्जेललाई अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित भनिएका कार्कीसँगै भएका सुवास तिम्सिनाले सुन नभइ मोबाइल मात्र लुटिएको बयान दिएका छन् । हाल कार्की फरार छन् ।

लुटपाटमा संलग्न रहेको भनेर पक्राउ परेका नेपाली पनि सम्पर्कविहीन छन् । ‘प्रश्न उठेको विषयमा कुनै न कुनै समस्या देखिएका छन्, कुनै प्रयोजनका लागि लुटपाटको घटना सिर्जना गरिएको हुनसक्ने समेत देखिएको छ’, छानविन समितिका एक सदस्यले भने, ‘छिट्टै त्यो विषय सार्वजनिक गर्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment