+
+
Shares
महाराजगञ्ज घटना : :

सई इटानी नियन्त्रणमा, सुन लुटियो कि मोबाइल खुलेन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते २१:१६

२७ पुस, काठमाडौं । पुस दोस्रो साता महाराजगञ्जबाट सुन लुटिएको र यसमा प्रहरीको शंकास्पद भूमिका देखिएको खबरले सोमबार उपत्यकाको प्रहरी वृत्तमा चर्चा पायो ।

सुन हराएको सूचनासँगै पक्राउ परेका सुर्खेतका दिपक नेपालीलाई प्रलोभनमा थुनामुक्त गरेको भनिएको यो घटनामा महाराजगञ्जका डीएसपी रोशन खड्कालाई मुछिएको थियो ।

यसबारे सूचना पाए लगतै उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालदेखि महानिरीक्षक शैलेश थापा क्षेत्रीसम्मले चासो देखाए । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले तत्काल छानविन गरेर जानकारी गराउने बताए ।

सोमबारै प्रहरीले घटनाबारे छानविन समिति बनाएको छ भने प्रहरी नायब निरीक्षक (सई) आफैं प्रहरी नियन्त्रणमा परेका छन् । तर हालसम्म लुटिएको भन्ने वस्तु सुन थियो कि थिएन भन्ने नै एकिन भइसकेको छैन ।

सई इटानीको भूमिका शंकाको घेरामा

हालसम्म प्राप्त विवरणअनुसार १० पुसमा सामाखुशीको अल नेपाल अस्पताल अगाडिबाट दोलखाका संयोग कार्की, सुवास तिम्सिनासहितका व्यक्तिको ३० तोला सुनको ब्रासलेट लुटिएको भनिएको छ । लुटपाटको सूचना महानगरीय प्रहरी प्रभाग, बसपार्कमा खटिएका सई नवराज इटानीले पाएका थिए ।

उनले चोरीको योजनाकार भएको आरोपमा सुर्खेतका दीपक नेपालीलाई पक्राउ गरी केरकार पनि गरेको पाइएको काठमाडौं प्रहरीका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

केही घन्टा सोधपुछ गरेर उनले साँझपख महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी खड्कालाई रिपोर्ट गर्छन् । तर आफ्नो पहिलो कमाण्डर बसपार्कका इञ्जार्ज प्रहरी निरीक्षक रमेश विष्टलाई घटनाबारे जानकारी नदिएको पाइएको छ ।

डीएसपी खड्काका अनुसार त्यस दिन उनी प्रतिनिधिसभा विघटनपछि भएको मन्त्री मण्डल विस्तारको सुरक्षाका लागि शितलनिवास क्षेत्रमा थिए । ‘सईले मलाई खबर गरेपछि मैले इन्स्पेक्टरलाई पनि सोधेको थिएँ, उनलाई घटनाबारे थाहै रहेनछ’, डीएसपी खड्काले अनलाइनखबरसँग भने, ‘तैपनि कार्यालय गएर हेरेँ, समातेर राख्नलाई न उजुरी थियो न चोरी भएको कुनै आधार थियो ।’

उनकाअनुसार मौखिक जानकारीकै भरमा मात्र नेपालीलाई थुन्नु मनासिब थिएन । खड्का स्वयंमले पीडितहरुलाई सुन लुटिएको भए, खरिद गर्दाको बिल वा सुनको तस्वीर देखाउन आग्रह गरे । तर त्यस्तो केही देखाउन सकेनन् ।

‘पक्राउ परेका नेपाली घटना भएका वेला त्यहाँ नरहेको समेत पाइएपछि छाड्न भनेको थिएँ’, खड्काले भने ।

इटानीको सरुवा भएपछि घटना सार्वजनिक

तर यो घटना त्यही सिमित थियो, सम्बद्ध प्रहरी अधिकारीहरुले आफ्नो माथिल्लो निकायहरुमा खबर गरेनन् । जब एक साता अगाडि इटानीको महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा सरुवा भयो, यो घटना एकाएक सार्वजनिक भएको छ ।

घटना सार्वजनिक हुँदा डीएसपी खड्काले प्रलोभनमा नेपालीलाई छाडेको दाबी गरिएको छ ।

विवाद सार्वजनिक भएपछि महानगरीय कार्यालय, रानीपोखरीले छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डीएसपी निशान थापा सदस्य रहेको समिति बनाएको छ । समितिलाई अनुसन्धान सकेर ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

इटानी नियन्त्रणमा, अन्य फरार

काठमाडौं प्रहरीले सई इटानीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । शंकास्पद भूमिका देखिएपछि घटनाका दुवै पक्ष सम्पर्कमा नआउञ्जेललाई अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित भनिएका कार्कीसँगै भएका सुवास तिम्सिनाले सुन नभइ मोबाइल मात्र लुटिएको बयान दिएका छन् । हाल कार्की फरार छन् ।

लुटपाटमा संलग्न रहेको भनेर पक्राउ परेका नेपाली पनि सम्पर्कविहीन छन् । ‘प्रश्न उठेको विषयमा कुनै न कुनै समस्या देखिएका छन्, कुनै प्रयोजनका लागि लुटपाटको घटना सिर्जना गरिएको हुनसक्ने समेत देखिएको छ’, छानविन समितिका एक सदस्यले भने, ‘छिट्टै त्यो विषय सार्वजनिक गर्छौं ।’

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?