
२७ पुस, काठमाडौं । सर्वोच्च अदालतले लिच्छविकालीन राजा वसन्तदेव लगायत ३ ऐतिहासिक व्यक्तित्वको नयाँ मूर्ति भूगोलपार्कमा नराख्न विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
पुस २० गते अधिवक्ता पदमबहादुर श्रेष्ठ, कर्माचार्य समाज लगायतले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
आदेशमा निवेदकको मागबमोजिम आदेश दिनु नपर्ने कारण भए १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीहरू काठमाडौं महानगरपालिका, महानगरपालिकाको वडा नं २२ र भूगोलपार्क सुधार समितिको नाममा आदेश जारी गरिएको छ ।
रातो मत्स्येन्द्रनाथलाई नेपाल ल्याएको श्रेय पाएका तीन ऐतिहासिक व्यक्तिको मूर्ति बनाउँदा पुरानो मूर्तिको शैली विपरीत र प्रतिमा लक्षणको सामान्य नियमलाई समेत लत्याएर मूर्ति निर्माण गरिएको आरोप श्रेष्ठले दायर गरेको मुद्दामा लगाइएको छ ।
ललितपुरको तःबहालमा रहेको तीनै जनाको पुरानो मूर्तिसँग पूरै फरक देखिनेगरी नयाँ मूर्ति बनाएर ऐतिहासिकता नष्ट गर्ने प्रयास गरिएको आरोप पनि रिटमा लगाएको छ ।
राष्ट्रदेव मत्स्येन्द्रनाथलाई नेपाल ल्याएकोमा मुख्यगरी तीन जनाको भूमिका मुख्य रहेको बताइन्छ । मत्स्येन्द्रनाथलाई नेपाल ल्याएकोले नै राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका स्थानीय ललितज्यापूलाई राष्ट्ररत्नको रूपमा मान्ने गरिन्छ ।
तीनै राष्ट्ररत्नको मूर्ति भूगोलपार्क क्षेत्रमा राख्नेबारेमा २०७५ साल माघ २ गते भूगोलपार्क सुधार समितिले निर्णय गरेका थियो । निर्णय अनुसार मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया 4