Comments Add Comment

भारतीय खोप निर्माताले विश्वको माग पूरा गर्न सक्लान् ?

२८ पुस, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम विश्वका ३० देशमा सुरु भइसक्यो । तर, नेपाल र नेपाल जस्ता मुलुकमा कहिलेसम्म खोप आइपुग्छ भन्ने अझै अनिश्चित छ । खासगरी कहाँबाट खोप ल्याउने भन्ने प्रश्न महत्वपूर्ण छ ।

विश्वमा उपलब्ध हुने ६० प्रतिशत खोप भारतमा बन्ने गरेका छन् । तर कोरोनाको खोप विकासमा बेलायत र अमेरिका भारतभन्दा अगाडि रहे ।

अमेरिकी कम्पनी फाइजरले जर्मन खोप निर्माता बायोएनटेकसँग मिलेर बनाएको खोपले सबैभन्दा पहिला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अनुमति पाएको छ । त्यस्तै अर्को अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोरोना खोपले पनि अमेरिकासहितका केही मुलुकमा अनुमति पाइसकेको छ ।

बेलायतको अक्सफोर्ड युनभिर्सिटीले घरेलु कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोना खोपले पनि बेलायत र भारतलगायत केही मुलुकमा अनुमति पाएको छ । यो खोप अनुमतिको लागि अक्सफोर्ड युनिभर्सिटीले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग सम्झौता गरेको छ । सेरम इन्स्टिच्युटले भारतमा उत्पादन गरेको अक्सफोर्डको खोपलाई कोभिशिल्ड नाम दिइएको छ ।

त्यस्तै भारतको घरेलु कम्पनी भारत बायोटेकले विकास गरेको कोरोना खोप कोभ्याक्सिनले पनि भारतमा अनुमति पाएको छ ।

कोरोना संक्रमणको हिसाबमा भारत अमेरिकापछि सबैभन्दा धेरै प्रभावित मुलुक हो । त्यसैले भारतले कोरोना खोपमा सबैभन्दा पहिला स्वाभाविकरुपमा आफ्नो नागरिकलाई प्राथमिकता दिनेछ । यद्यपि महामारीको यो समयमा अन्य मुलुकमा पनि खोप पुर्‍याउनु भारतीय खोप निर्माताको जिम्मेवारी हो । तर, के भारतीय निर्माताले कोरोना खोपको माग पूरा गर्न सक्लान् त ?

भारतमा कति खोप उत्पादन हुन्छ ?

अहिलेसम्म भारतमा दुई कोरोना खोपलाई अनुमति दिइएको छ । जसमध्ये एउटा सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोना खोप कोभिशिल्ड हो भने अर्को भारत बायोटेकको कोभ्याक्सिन हो ।

सेरम इन्स्टिच्युटले एक महिनामा ६ देखि सात करोड डोजसम्म कोरोना खोप उत्पादन गर्न सक्ने बताएको छ । त्यस्तै भारत बायोटेकले एक वर्षमा २० करोड डोज खोप उत्पादन गर्न सक्ने बताएको छ । साथै अहिले कम्पनीसँग केवल दुई करोड डोज खोप उपलब्ध रहेको भारत बायोटेकको भनाइ छ ।

भारतका अन्य खोप निर्माताले पनि खोपको परीक्षण गरिरहेका छन् । तर, उनीहरुको खोपबारे धेरै जानकारी आउन बाँकी नै छ ।

भारतलाई कति खोप चाहिन्छ ?

भारत सरकारले आगामी जुलाई महिनासम्म ३० करोड मानिसलाई कोरोना खोप लगाउने योजना बनाएको छ । जसका लागि आगामी शनिबारदेखि कोरोना खोप कार्यक्रम सुरु हुँदैछ । सबैभन्दा पहिला फ्रन्टलाइन वर्कर र स्वास्थ्यकर्मीहरुलाई कोरोना खोप दिइनेछ । यसको अर्थ भारतले सात महिनामा ६० करोड डोज कोरोना खोप दिनेछ । त्यसका लागि उसलाई मासिक ८ करोड ५० लाख डोज खोप आवश्यक हुन्छ ।

अन्य मुलुकले पाउलान् भारतीय कम्पनीले बनाएको खोप ?

सेरम इन्स्टिच्युट अफ इन्डिया विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले समर्थन गरेको कोभ्याक्स कार्यक्रमको एक हिस्सा हो । यसको उद्देश्य मध्यम तथा निम्न आय भएका मुलुकहरुमा खोप पुर्‍याउनु हो ।

गत डिसेम्बरमा सेरम इन्स्टिच्युटले कोभ्याक्स कार्यक्रमलाई २० करोड डोज कोरोना खोप उपलब्ध गराउने बताएको थियो । यो कार्यक्रमलाई दिइने खोप अक्सफोड र एस्ट्राजेनेका वा अमेरिकी कम्पनी नोभाभ्याक्सले विकास गरेको खोप हुन सक्छ ।

सेरम इन्स्टिच्युटका प्रमुख कार्यकारी अदार पूनावालाले यो सम्झौता बढाएर ९० करोड डोज पुर्‍याउन सकिने बताएका छन् । सेरम इन्स्टिच्युटले कम्पनीले खोप उत्पादनको क्षमता पनि बढाउने प्रयास गरिरहेको बताएको छ । सेरम इन्स्टिच्युटले कोभ्याक्सका साथै अन्य मुलुकहरुसँग पनि खोप आपूर्तिको लागि सम्झौता गरेको छ ।

पूनावालाले जनवरीको सुरुआतमा भारतमा कोरोना खोपको मान्यता पाए पनि निर्यातको अनुमति नदिएको बताएका थिए । तर, पछि उनले यो आफ्नो भ्रम रहेको बताएका थिए । बंगलादेशले सेरम इन्स्टिच्युटसँग तीन करोड डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । त्यस्तै सेरम इन्स्टिच्युटले साउदी अरेबिया, म्यानमार र मोरोक्कोसँग पनि सम्झौता गरेको छ । यद्यपि उक्त मुलुकहरुसँग कति खोपको लागि सम्झौता गरिएको हो भन्ने स्पष्ट छैन ।

नेपाल, ब्राजिल र श्रीलंकाले पनि सेरम इन्स्टिच्युटले उत्पादन गरेको खोपमा इच्छा देखाएका छन् । तर, पूनावाला भने कम्पनीको पहिलो प्राथमिकता घरेलु माग पूरा गर्नु रहेको बताउँछन् । उनले प्रारम्भिक आवश्यकता पूरा गरेसँगै अन्य देशमा खोप निर्यातको काम सुरु हुने उनको भनाइ छ ।

भारतीय अधिकारीहरु भने कोरोना खोप अन्तर्राष्ट्रिय दायित्व भएकाले अन्य मुलुकमा खोप निर्यात गर्न रोक लगाउनु राम्रो नहुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment