Comments Add Comment

राजमो निर्वाचनसम्बन्धी छलफलमा जाने, संसद पुनर्स्थापनाको माग उठाउने

फाइल तस्वीर

२९ पुस, काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो) ले जिल्लास्थित निर्वाचन कार्यालयबाट छलफलका लागि बोलाएमा सहभागी हुने तर संसद विघटन गरी निर्वाचनको मिति तोकेको विषयमा विरोध जनाउने भएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । ‘निर्वाचन कार्यालयद्वारा गरिने नियमित कामको विषयमा बोलाइएका सर्वदलीय बैठकमा हाम्रो सहभागिता हुने भएता पनि संसद विघटनका विरुद्ध र विघटित संसदको पुनर्स्थापनाको पक्षमा हाम्रो निरन्तर जोड रहने छ,’ केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन मिति घोषणा गरेकी थिइन् । जिल्ला निर्वाचन कार्यालयहरुले माघ महिनामा दलका प्रतिनिधिहरुसँग सामूहिक छलफलको कार्यक्रम राखेका छन् । काठमाडौं उपत्यकाका जिल्लाहरुमा भने सर्वदलीय छलफलको ठ्याक्कै मिति निश्चित भइसकेको छैन ।

जनमोर्चाले संसदको विघटन, संघीयताको खारेजी, महंगी, भ्रष्टाचारको अन्त्यको लागि विरोध गर्न तथा विघटिन संसदको पुनःस्थापना, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाको लागि पार्टीद्वारा संघर्षको घोषणा गरेको छ । एकल वा मिल्न सक्ने कुनै पनि विषयमा सहमत हुने अन्य पक्षहरुसँग संयुक्त संघर्ष गर्न सकिने भन्दै राजमोले राजावादी र राप्रपासँग मिलेर भने संघर्ष नगर्ने स्पष्ट पारेको छ ।

जनमोर्चाले जनबलबाट नै प्रतिगमनलाई परास्त गर्न सकिने हुँदा सबै जनसमुदायहरुलाई संघर्षको मोर्चामा सामेल हुन अपील समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment