Comments Add Comment

‘रअ प्रमुखसँगको भेटमा बनेको मार्गचित्रले परिणाम निस्कँदैन’

देश राजनीतिक रुपमा कमजोर भएको अवस्थामा हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणबाट कति परिणाम आउँछ भन्नेमा आशंका छ ।

किनभने अहिले राजनीति पनि तरल र अवस्था कमजोर छ । विपक्षीको कुरा छोडौं नेकपाभित्र नै सरकारको स्थिति के हो प्रष्ट छैन ।

नक्सा जारी गर्ने समयमा राजनीतिक दलहरु सबै एकै ठाउँमा थिए, अहिले त्यो भत्किएको छ । तरल अवस्थामा सीमा विवाद, प्रबुद्ध समूहको प्रतिवेदन लगायतका विषयमा खासै प्रगति हुने देखिँदैन ।

जहाँसम्म खोपको विषय छ, मानवीय आधारमा त्यसमा केही प्रगति हुनसक्ला किनभने त्यो राजनीतिक विषय भएन । अन्य हाम्रा एजेण्डाहरु भनेको व्यापार घाटा, पारवहन, ऊर्जा व्यापार, अन्तर्राष्ट्रिय कानुनको विपरीत संरचना बनाएर नेपाली भूभाग डुबानमा पार्ने विषय लगायतका छन् । तर यी विषयलाई कति प्रभावकारी र निरन्तरतामा नेपालले उठाउन सक्छ भन्नेमा प्रश्न छ ।

भारतसँगको सम्बन्ध सुधारको कुरा गर्दा यसको शुरुवात नै गलत भयो । रअ प्रमुखसँगको गोग्य मन्त्रणाबाट बनेको मार्गचित्रले कति परिणाम आउनेमा नै शंका छ ।

राजनीति र कूटनीतिमा जहिले पनि एउटा मर्यादा हुन्छ, त्यो मर्यादा उल्लंघन गरेर अपारदर्शी ढंगले रातिको समयमा गोप्य मन्त्रणा गरेर बनाएको मार्गचित्रले हामी कहाँ पुग्छौं ? पहिला भारतीय दूतावासले सरकार ढाल्न खोज्यो भन्ने अभिव्यक्ति दिएका प्रधानमन्त्रीले अहिले अर्काे बिन्दुमा पुगेर सम्बन्ध सुध्रियो भन्नुलाई के भन्नु ?

अर्कातर्फ भ्रमणको लागि उपयुक्त समय नै होइन । दुई देशको सम्बन्धमा आएको चिसोपनलाई न्यानो बनाउनेसम्मका लागि त यो भ्रमण ठिकै छ अरु बढी अपेक्षा हामी राख्नु र भारतले पनि कुनै गर्न खोज्नु उसको लागि पनि प्रत्युत्पादक हुनसक्छ । हामीले पत्याउने परिणामले हो ।

हामीसँग तीन वर्षको प्रशस्त समय थियो, स्थिर सरकार थियो तर हामीले केही गर्न सकेनौं, हामीले त्यो गुमायौं । जतिबेला हामीले धेरै गर्नसक्थ्यौं, त्यो हामीले गुमायौं । तर अहिले जतिबेला उपयुक्त समय होइन, यो बेला परिणाम आउनेमा शंका छ । वास्तवमा अहिले भारत भ्रमण गर्ने उपयुक्त समय नै होइन ।

(भारतका लागि पूर्वनेपाली राजदुत दीपकुमार उपाध्यायसँग अनलाइनखबरले परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणबारे गरेको संक्षिप्त कुराकानी ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment