Comments Add Comment

सरकारी हात्तीको न्वारानमा कर्मचारीको पालो

हात्तीको न्वारान पहिले राजा, अहिले कर्मचारीको नामबाट

१ माघ, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जका ५७ हात्तीमध्ये ३७ वटाको नाम मान्छेको नामबाट राखिएको छ । तीमध्ये कतिपयले पूर्वराजपरिवार, संरक्षणकर्मी, मन्त्री र कर्मचारीको नाम पाएका छन् ।

केही हात्तीको नाम नदी र प्रसिद्ध ठाउँबाट पनि राखिएको छ, जस्तै–नारायणी कली, कर्णाली कली, तमोर कली, गण्डकी कली, अमलटारी गज, माडी गज, खोसार गज, कसरा गज आदि ।

उदण्डताका कारण चर्चामा आएका मत्ता (भाले) हात्तीहरुले पनि त्यसबेला सार्वजनिक चर्चामा रहेका मानिसहरुको नाम पाएका छन् । ती जंगली मत्ता हात्तीहरुबाट त्राहिमाम स्थानीयले धुर्बे, रोनाल्डो, गोविन्दे जस्ता नाम दिएका छन् ।

चितवन निकुञ्जका ६ वटा हात्तीको नाम पूर्वराजपरिवारका सदस्यहरुको नामसँग मिलाइएको छ । ती नाम हुन्– कोमल कली, ऐश्वर्यमाला, धीरेन्द्र कली, हिमानी कली र प्रेरणाकली । कोशीटप्पु वन्यजन्तु आरक्षबाट काजमा ल्याइएको एउटा हात्तीको नाम चाहिँ पारसकली छ ।

२०६२/०६३ सालको जनआन्दोलनअघिसम्म हात्ती जन्मिएपछि दरबारमा खबर पुग्थ्यो । हात्तीको नाम राख्ने जिम्मा राष्ट्रिय निकुञ्ज विभागको भएपनि यसमा दरबारको चासो भएकाले हात्ती जन्मिएपछि दरबारमा जाहेर गरिन्थ्यो । राजतन्त्र अन्त्यपछि भने हात्तीको नामाकरणमा कर्मचारीहरुको बोलवाला चल्न थाल्यो ।

हात्तीको नामाकरण अहिले राष्ट्रिय निकुञ्जको अधिकार क्षेत्रमा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख (वार्डेन) अणनाथ बराल हात्तीको नामाकरणसम्बन्धी स्पष्ट मापदण्ड नभएपनि निकुञ्जले नै गर्ने बताउँछन् । ‘सामान्यतः वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुको नाम हात्तीलाई दिने चलन छ ।’

वन विभाग र निकुञ्जमा कार्यरत कर्मचारीसँग मिल्ने नाम भएका हात्ती चितवन निकुञ्जमा थुप्रै छन् । कति हात्तीले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुको नाम पनि पाएका छन् ।

महालेखा परीक्षकको २०६५ सालको प्रतिवेदनमा भने हात्तीको नामाकरण सम्बन्धमा समेत कमजोरी औंल्याइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘हात्तीको नामाकरण गर्ने कार्य निकुञ्जहरुले आपनो विवेकअनुसार गरेको देखिन्छ । हात्ती रजिष्ट्रेसन कुन तरिकाबाट कसरी गर्ने भन्ने सम्बन्धमा निकुञ्जसम्बन्धी ऐन, नियम, निर्देशिकामा स्पष्ट तोकिएको देखिएन । यसरी स्पष्ट नीति एवं व्यवस्था बेगर भएको कार्यको अभिलेख व्यवस्थामा एकरुपता नहुनुको अतिरिक्त हात्तीको अवैध व्यापार नियन्त्रणमा समेत थप सहयोग पुग्छ भन्न सकिने अवस्था देखिएन ।’

राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्य स्पष्ट मापदण्ड नभएका कारण कहिलेकाहीँ यस्तो नामाकरण दुरुपयोग हुन सक्ने बताउँछन् । ‘सधैं दुरुपयोग गर्छन् भन्ने त होइन, तर कसैले आफ्नै परिवार वा आफन्तको नामसँग मिल्न बनाउन सक्छन्’, उनी भन्छन्, ‘यो त जिम्मेवार व्यक्तिको विवेकको कुरा पनि हो ।’

वन विभाग र निकुञ्जमा कार्यरत कर्मचारीसँग मिल्ने नाम भएका हात्ती चितवन निकुञ्जमा थुप्रै छन् । कति हात्तीले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान गरेका व्यक्तिहरुको नाम पनि पाएका छन् । १४ वर्षअघि ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका प्रख्यात संरक्षणविद् तीर्थमान मास्केको नाम एउटी ढोई (पोथी हात्ती)ले पाएकी छे ।

जवान तीर्थमानकली र मत्ता धुर्बेको प्रेमलिला चितवन निकुञ्जमा चर्चाको बिषय बन्ने गरेको छ । २०६३ वैशाख ११ गते नेपाल लोकतन्त्र घोषणा भएको दिन जन्मिएकी लोकतन्त्रकली पनि मत्ता धुर्बेकै प्रेममा पर्ने गरेकी छे ।

जंगली मत्ता धुर्बेले पछिल्लो ११ वर्षमा १५ जनाभन्दा बढीको ज्यान लिइसकेको छ । धुर्बेजति आक्रामक नभए पनि रोनाल्डो र गोबिन्दे पनि उद्दण्ड जंगली हात्तीकै सूचीमा पर्छन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको नामबाट पनि एउटा हात्तीको नाम राखिएको छ । त्यसबेला वन विभागका महानिर्देशक रहेका ओली चितवन जाँदा जन्मिएको छावाले विश्वगज नाम पाएको निकुञ्जका कर्मचारीहरु बताउँछन् ।

वन मन्त्रालयमा सचिव रहँदा कृष्णचन्द्र पौडेलले पनि एउटा छावाको नाम कृष्णचन्द्र गज राख्ने मौका लिए । त्यस्तै, राष्ट्रिय निकुञ्ज विभागका पूर्वमहानिर्देशक गोपाल प्रकाश भट्टराईको नामबाट गोपालगज र राष्ट्रिय निकुञ्जका वरिष्ठ भेटेरिनरी विशेषज्ञको नामबाट कमलप्रसाद गज नामाकरण गरिएको निकुञ्ज प्रशासन बताउँछ ।

तत्कालीन प्रधानन्याधीश खिलराज रेग्मीको अध्यक्षतामा बनेको मन्त्रिमण्डलमा कृषि विकास र वन तथा भूसंरक्षण मन्त्री रहेका टेकबहादुर थापाले पनि एउटा हात्तीको नाम टेकगज राखेका थिए ।

भाग्यले बाँचेको हात्ती ‘लक्की’

२०६७ सालतिरको कुरा हो, चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा एउटा हात्ती बिरामी भयो । खाना खानै नसक्ने अवस्थामा पुगेपछि हात्तीलाई स्लाइन चढाउन थालियो । तर, विस्तारै अवस्था बिग्रँदै गएर हात्तीले सास फेरेको थाहा पाउन पनि मुस्किल पर्न थाल्यो ।

अन्ततः निकुञ्जका भेटेरिनरी विशेषज्ञहरू हार खाएर वार्डेनलाई हात्ती बचाउन नसकिएको रिपोर्टिङ गरेर खाना खान गए । खाना खाएर फर्किँदा हात्तीमा अस्वाभाविक सुधार आएको देखियो । उत्साहित हुँदै टोलीले फेरि स्लाइन चढायो । त्यसको ३ घण्टामा त हात्ती उठेर उभियो । त्यसरी व्युँतिएको हात्तीको नाम राखियो– लक्की गज ।

हात्तीको नामाकरणको विधि ?

हात्ती जन्मिनासाथ मिति, आमाको नाम, हुलिया आदि खुलाएर छुट्टै अभिलेख राखिन्छ । माउलाई १२ दिनसम्म चरनमा छाडिँदैन । १२ औं दिनमा सुत्केरी चोखिएपछि पण्डित बोलाएर छावाको नामाकरण गरिन्छ ।

छावाको नामाकरण प्रक्रिया मान्छेको न्वारानसंग धेरै हदसम्म मिल्ने चितवन राष्ट्रिय निकुञ्जको हात्तीसार शाखा प्रमुख राजेन्द्र पनोहर बताउँछन् ।

‘जन्मिँदा  भुइँ छोएको समय, तिथि, नक्षत्रअनुसार ज्योतिष विधिबाट जुराइएको नाम सरकारी रेकर्डमा प्रयोग हुन्छ’, उनले भने, ‘दैनिक कामकाजमा भने माया गरेर बोलाउन अर्कै नाम राखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment