Comments Add Comment

वीरगञ्जमा थारु समुदायले मनाए माघी पर्व

१ माघ, वीरगञ्ज । पर्साका थारु समुदायले माघी पर्व विशेष रुपमा मनाएका छन् । वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा खिचडी (माघी) महोत्सव २०७७ को आयोजना गरिएको हो ।

संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्न थारु समुदायले वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरेका छन् । माघी पर्वको अवसरमा यसवर्ष सरकारले सावजनिक विदा समेत दिएको थियो ।
थारु समूदायले माघी पर्वलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा मनाएका हुन् । थारु संवत २६४५ को अवसरमा आयोजना गरिएको माघी महोत्सवमा थारु संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रदर्शनीहरु राखिएको थियो । महोत्सवमा थारु सँस्कृति झल्कने घाटो, सामा चकेवा, झम्टा, थारु पूर्वी नाचको प्रदर्शनी गरिएको थियो ।

समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागि सम्पूर्ण थारु एक जुट बनौं भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा बोल्दै रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले संस्कृतिको मात्रै जगर्ने गरेर थारु समुदायले राम्रो आर्थिक उपार्जन गर्न सक्ने बताए । माघी महोत्सवबाट बचेको रकमबाट थारु समुदायले धर्मशाला बनाउने योजना बनाएका छन् । नगर प्रमुख चौधरीले धर्मशालाका लागि २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै पर्साको पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारुले नयाँ पुस्तालाई थारु सँस्कृतिको बारेमा बुझाउन महोत्सव आयोजना गर्ने गरेको बताईन् ।
‘माघी महोत्सवमा भाषा सँस्कृति र पहिचानको कुरा गर्छौ, घाटो र समाचकेवा देखाउँछौं । यसो किन गर्छौ त ?’ उनले भनिन् ‘नयाँ पिँढीलाई भाषा, सँस्कृति र परम्पराको बारेमा सिकाउनुपर्छ ।’
घाटोमा थारु महिलाले गौरीशंकरको पुजा आरधना गरेर घर परिवारमा सुख, शान्ति, समृद्धि र असल वरको कामना गर्ने र समाचकेवामा दिदी बहिनीले दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने उनले बताइन् ।

यसअघि थारु समुदायले थारु भेषमुषामा सजिएर र्‍याली निकालेका थिए । र्‍याली माईस्थान, आदर्शनगर बजार हुँदै आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा पुगेको थियो ।

थारु कल्याणकारी सभा, थारु नागरिक समाज, मेलमिलाप थारु परिवार, ग्रामिण बासिन्दाको विकासमा सहभागी संस्था, थारु शिक्षक समिति, थारु १ समाज, थारु पत्रकार संघ लगायतले संयुक्त रुपमा महोत्सवको आयोजना गरेका हुन् । महोत्सव आयोजनाका लागि उनीहरुले माघी मुल समारोह समिति गठन गरेका थिए ।

महोत्सवमा पटेर्वा सुगौली गाउँपालिका– ५ निचुटामा विद्यालयका लागि ८ बिघा १० कठ्ठा जग्गा दान गर्ने शिव नन्दन चौधरीको परिवार लगायत विभिन्न क्षेत्रमा योगदान दिने थारु समुदायका अगुवाहरुलाई सम्मान गरिएको नन्दकिशोर पञ्जियारले जानकारी दिए ।

महोत्सवमा घोङ्गी, केकरा, माछा, सेल, परेवा, हाँसको मासु, पिठा, वगिमा, सितुवा, सिध्राको अचार, तेलही रोटी, कुखुरा, चिचिर, लाई, तील आदी थारु परिकारका स्टल समेत राखिएको थियो । महोत्सव स्थलमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ६८ जनाले रक्तदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment