Comments Add Comment

बारा र पर्साका इन्धन व्यवसायीले गठन गरे संघर्ष समिति

सरकारसँग वार्ता पनि गर्ने

२ माघ, वीरगञ्ज । इन्धनको कारोबार अमेलखगञ्ज डिपोबाट गर्न नेपाल आयल निगमले दिएको निर्देशनमा बारा र पर्साका व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी खर्च बढी पर्ने तर्क गर्दै उनीहरुले यो निर्णय नसच्चिए आन्दोलनमा जाने भन्दै संघर्ष समिति पनि गठन गरेका छन् ।

जनवरी १६ अर्थात माघ ३ गतेदेखि डिजल, पेट्रोलको कारोबार अमलेखगञ्ज डिपोबाटै गर्न आयल निगमले व्यवसायीहरुलाई पत्राचार गरेको छ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण सम्पन्न भई डिजल अयात हुँदै आएको छ । पाइपलाइन मार्फत डिजल आयात गर्न थालेको झण्डै डेढ वर्षपछि आयल निगमले बारा पर्साका डिलरलाई अमलेखगञ्जबाटै पेट्रोलियम पदार्थ लिन भनेको छ । यसको अर्थ अब पेट्रोलियम पदार्थको आयात र वितरणलाई २ नं. प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपो केन्द्रित गर्ने तयारी आयल निगमको छ ।

आयल निगमको प्रादेशिक कार्यालय, इन्धन डिपो अमलेखगञ्जका प्रबन्धक विदुर कोइरालाले बारा पेट्रोलियम डिलर्स एशोसियसन र वीरगञ्ज पेट्रोलियम डिलर्स एशोसियसनलाई पुस २९ गते नै पत्राचार गरेर जानकारी दिएका छन् ।

पत्रमा इन्डियन आयल कर्पोरेसन (आईओसी) रक्सौल डिपोबाट सुरक्षाको कारण १६ जनवरी २०२१ देखि पेट्रोल डिजल तथा मट्टीतेलको कारोबार बन्द हुने बताइएको छ । इन्डियन आयल कर्पोरेशनले पटनामा अतिरिक्त पम्प जडान गरेर प्रयाप्त मात्रामा डिजल पाइपलाइन मार्फत उपलब्ध गराउने जानकारी दिएको पत्रमा उल्लेख छ ।

साथै निगमको शाखा कार्यालय वीरगञ्जबाट स्थानीयस्तरमा भइरहेको पेट्रोलियम पदार्थको कारोबार रक्सौल डिपो बन्द भएपश्चात २ नं. प्रादेशिक कार्यालय अमलेखगञ्जबाट गरिने जानकारी दिइएको छ ।

भारतीय आयल निगम आइओसीले रक्सौल डिपो साँघुरो भएका कारण असुरक्षित भएको, तेल उद्योगको सुरक्षा सम्बन्धी मापदण्ड ओआइएफडी अनुसार रक्सौल डिपो सञ्चालन योग्य नरहेको बताएको छ । अन्तरदेशीय पाइपलाइनबाट तेल आइसकेको अवस्थामा एनओसी पनि सडक मार्गको प्रयोग घटाउने तयारीमा छ । तत्कालका लागि रक्सौल डिपोबाट आइओसीले हवाई इन्धन मात्रै दिने भएको छ । पेट्रोल भारतकै बरौनी डिपोबाट ल्याइनेछ ।

पर्सा बाराका व्यवसायीहरुले वीरगञ्ज शाखा कार्यालयमा बिहान डिमान्ड लेखाउने, डिमाण्ड पास भएपछि भौचार बुझाउने गरेका थिए । निगमले रक्सौलबाट तेल ल्याएपछि कार्यालयले बिलिङ गरेर पम्पमा पठाइदिने गरेको थियो । कार्यालयसम्मको ढुवानी खर्च निगमले र कार्यालयदेखि पम्पसम्मको ढुवानी खर्च व्यवसायीले व्यहोर्दै आएका थिए ।

शाखा कार्यालय वीरगञ्जका प्रमुख मनोज ढकालका अनुसार पर्सा–बाराका १ सय २५ र रौतहटका २ वटा डिलरलाई वीरगञ्जबाट पेट्रोलियम पदार्थ दिने गरिएको छ । त्यसका लागि आइओसीको रक्सौल डिपोबाट २० देखि २५ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ आउने गरेको छ ।

तर व्यवसायीहरु भने निगमको यो निर्णयबाट असन्तुष्ट छन् । अमलेखगञ्जबाट पेट्रोलियम पदार्थ ल्याउँदा ढुवानी खर्च बढी पर्ने उनीहरुको तर्क छ । वीरगञ्जमै अहिलेको मूल्यभन्दा प्रतिलिटर ७० देखि ७५ पैसा महँगोमा पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने र कलैया पोखरिया लगायतका क्षेत्रमा थप १० पैसा प्रतिलिटर महँगो पर्ने उनीहरुको भनाइ छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय भने व्यवसायीहरु आन्दोलनमा जानुको औचित्य नभएको बताउँछन् । उनले व्यवसायीहरुले पनि अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको भरपुर सदुपयोग गर्नुपर्ने बताउँछन्

साथै अमलेखगञ्जमा बैंक अफ काठमाण्डु र प्रभु बैंकको मात्रै सेवा रहेकाले भौचर बुझाउन समस्या हुने व्यवसायीहरु बताउँछन् । त्यसकारण व्यवसायीहरु निगमको निर्णयको विरोधमा आन्दोलन गर्ने तयारीमा छन् । शुरुमा पाँच बुँदे माग निगमसँग राख्ने र माग पूरा नभए आन्दोलनमा जाने तयारी उनीहरुको छ ।

पूर्ववत रुपमा भौचर बैंकमा दाखिला गर्न पाउनुपर्ने, सप्लाइको सुुनिश्चितता अनिवार्य हुनुपर्ने, बिलिङ तथा डिमाण्ड पूर्ववत रुपमा वीरगञ्जबाटै हुनुपर्ने, पूर्ववत कायम रहेको दरमा पेट्रोलियम पदार्थ पाउनुपर्ने र सिद्धार्थ बैंक लिमिटेड कलैया शाखामा नेपाल आयल निगमले खाता खोल्नुपर्ने माग उनीहरुको छ ।

माग पूरा गराउन दबाव दिने उद्देश्यले पर्सा–बाराका व्यवसायीहरुको संयुक्त भेलाले वार्ता टोली र संघर्ष समिति गठन गरिसकेका छन् । वीरगञ्ज डिलर्स एशोसियसनका अध्यक्ष विनोद चौरसिया, बारा डिलर्स एशोसियसनका अध्यक्ष सुरेन्द्र श्रीवास्तव लगायत वार्ता टोली तथा संघर्ष समितिमा छन् ।

पाँच बुँदे माग पूरा नभएमा पेट्रोल पम्प बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी उनीहरुले दिएका छन् । वीरगञ्ज पेट्रोलियम डिलर्स एशोसियनका अध्यक्ष चौरसियाले भने, ‘वीरगञ्जबाट एनओसीको कार्यालय हटाउँदैछ, हामीलाई पेट्रोलियम पदार्थ अमलेखगञ्जबाट ल्याएर बेच्न भनेको छ, त्यसबारे छलफल गर्न पर्सा र बाराका व्यवसायी साथीहरुको संयुक्त बैठक बसेका थियौं, आन्दोलनमा जाने निर्णय भएको छ । किनभने अमलेखगञ्जबाट वीरगञ्ज ल्याएर बेच्दा ७०–७५ पैसा प्रतिलिटर महँगो पर्न जान्छ ।’

अमलेखगञ्जबाट जनकपुर, विराटनगर, झापा, भैरहवा पेट्रोलिम पदार्थ निगमले नै ढुवानी गर्ने गरेको छ । त्यस्तै वीरगञ्जसम्म पनि निगमले नै ढुवानी गरिदिनुपर्ने माग आफूहरुको रहेको अध्यक्ष चौरसिया बताउँछन् ।

‘अन्य सहरमा निगमले नै ढुवानी गरेर दिन्छ, त्यसैले उनीहरुले वीरगञ्जकै दरमा बिक्री गरिराखेका छन् । हामी अमलेखगञ्ज जान्छौं, हवाई इन्धनका लागि यहाँ कार्यालय रहन्छ भने डिमान्ड यहाँ गरिदिनुस्, भौचर यहीँ दिन्छौं, गाडी लोड गरेर ल्याइदिनुस्, वीरगञ्जबाटै बिलिङको व्यवस्था गरिदिनुस् भनेका हौं । मानिरहनुभएको छैन,’ चौरसियाले भने, ‘१६ तरिखदेखि वीरगञ्जबाट सप्लाई बन्द गर्ने निर्णय भएको छ, हामीले पनि तेल नबेच्ने निर्णय गरेका छौं ।’

व्यवसायीहरुको विभिन्न बैंकमा खाता रहेकोमा अमलेखगञ्जमा दुईवटा बैंकले मात्रै सेवा दिइरहेको हुँदा व्यवसायीहरु मर्कामा पर्ने उनको भनाइ छ । निगमका अधिकारीहरुले आफूहरुको कुरै सुन्न नखोजेको व्यवसायीहरुको गुनासो छ ।

ढुवानी खर्च जोडेर मूल्य निर्धारण गर्न पाइन्छ : प्रवक्ता उपाध्याय

नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय भने व्यवसायीहरु आन्दोलनमा जानुको औचित्य नभएको बताउँछन् । उनले व्यवसायीहरुले पनि अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको भरपुर सदुपयोग गर्नुपर्ने बताउँछन् ।

‘बारा, पर्साका लागि पेट्रोल, डिजल रक्सौलको डिपो सुरक्षाका कारणले बन्द गर्नुपर्ने अवस्था आयो, हवाई इन्धन मात्रै दिन सक्ने भनेर आईओसीले भनेको छ । पेट्रोल लिन बरौनी जानुपर्ने अवस्था आयो,’ उनले भने, ‘आफ्नै देशमा पाइपलाइनबाट तेल आइसकेको अवस्था छ । यस्तोमा रक्सौलबाट पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्न उपयुक्त देखिएन, अब अमलेखगञ्जबाटै वितरणको व्यवस्था गरेका छौं ।’

उनका अनुसार डिपोको मूल्यमा तेलको बिक्री वितरण हुने गरेको छ, डिपोको १५ किलोमिटरको आसपासका लागि निगमले तोकेको मूल्यमा तेल बिक्री गर्नुपर्छ । १५ किलोमिटर भन्दा टाढाका डिलरले ढुवानी खर्च जोडेर बिक्रीवितरण गर्न पाउँछन् ।

मुलुकभरकै व्यवसायीलाई त्यही नियम लागु गरिएकाले पर्सा र बाराकाले मात्रै विशेष व्यवस्था खोज्नुको अर्थ नभएको उनको भनाइ छ । तर व्यवसायीहरुलाई आइपरेको समस्या समाधानका लागि छलफल गर्न निगम सधैं तत्पर रहेको उनले बताए ।

‘व्यवसायीले के आत्मसाथ गरिदिनुपर्छ भने मुलुकमा अन्तरदेशीय पाइपलाइन निर्माण भएको छ । आजको दिनमा डिजल आइरहेको छ । पेट्रोल भण्डारण गर्ने ठाउँ बनाउँदैछौं । पेट्रोल पनि पाइपलाइनमा आउँछ । देशैभरि त्यहिँबाट जान्छ,’ प्रवक्ता उपाध्यायले भने, ‘नयाँ शुरुवात गर्दा अन्यौल भएको हुनसक्छ । समस्याहरु छलफल गरेर समाधान गर्न सकिन्छ ।’

अत्यावश्यकीय सेवामा आन्दोलनमा गए अवस्था नकारात्मक बन्न सक्ने चेतावनी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment