Comments Add Comment

प्रधानमन्त्री कपमा आर्मीको विजयी सुरुवात, विनोदले हाने शतक

२ माघ, काठमाडौं । ब्याटिङमा कप्तान विनोद भण्डारीले शतक तथा बलिङमा राजेश पुलामीले ५ विकेटको योगदान गरेपछि त्रिभुवन आर्मी क्लबले पीएम कप (प्रधानमन्त्री कप)  पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्‍यो । आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरै ४८ ओभर खेल्दै  सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो ।

गण्डकी प्रदेशका लागि समीर कँडेलले ५० रन जोडे । यस्तै कप्तान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ र दीपक डुम्रेले २६ रन जोडे ।

आर्मीका लागि पार्टटाइम बलर राजेश पुलामीले ५ र भीम सार्कीले ३ विकेट लिए । राजेशले ९ ओभरमा १ मेडन राख्दै २५ रन मात्र खर्चेर ५ विकेट लिए । यस्तै आकाश चन्द र रोहित पौडेलले १-१ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रन बनायो ।

कप्तान विनोद भण्डारीले ७३ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक पूरा गरे । चौथो नम्बरमा ब्याटिङ गरेका भण्डारीले अविजित १११ रन बनाए । यस्तै ओपनर राजु रिजालले ४५, लोकेश बमले ४२ र राजेश पुलामीले ३८ रन जोडे ।

१११ रन बनाउँदा ४ विकेट गुमाएको आर्मीको इनिङ्स विनोदसंगै राजेश पुलामी र लोकेश बमले उकासेका थिए । पाँचौं विकेटका लागि विनोद र राजेशले ७३ रनको साझेदारी गरे।

यस्तै छैटौं विकेटका लागि विनोद र लाकेशले शतकीय साझेदारी गरे । यी दुई मिलेर अन्तिम १० ओभरमा १०३ रन जोडे । लोकेशले ३० बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ४२ रन जोडे ।

बलिङमा गण्डकी प्रदेशका लागि कप्तान विपिन खत्री र विशाल पौडेलले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment