Comments Add Comment

डिम्याट प्रयोगकर्ता २५ लाख नाघे, इन्फ्रास्ट्रक्चरको आईपीओले इतिहास रच्ने

नेपाली सेयर बजारमा इन्फ्रास्ट्रक्चर बैंकले ल्याएको उल्लास

३ माघ, काठमाडौं । २०६४ सालमा कृषि विकास बैंकले सर्वसाधारणका लागि सेयर जारी गर्ने निर्णय गर्यो । कर्मचारीहरुका लागि छुट्टै १ हजार कित्तासम्म साधारण सेयर पाउने गरी आवेदन माग गरियो ।

कृषि विकास बैंकले त्यसबेला जति रकमको ओवेदन माग गरेको थियो त्यो भन्दा धेरैको आवेदन पर्यो । ‘त्यसबेला साढे २ लाख रुपैयाँको आवेदन परेको थियो होला, तर त्यो त्यसबेलाको ऐतिहासिक रेकर्ड नै थियो’ त्यसबेला कृषि विकास बैंकमा कार्यरत पूर्णप्रसाद आचार्य सुनाउँछन् ।

कृषि विकास बैंकले आईपीओ निष्कासन गर्नुपूर्व आईपीओमा आवेदन दिनेको संख्या अत्यन्तै कम हुन्थ्यो । माग अनुसारको आवेदन पनि पर्न निकै गाह्रो पथ्र्यो ।

‘त्यसबेला सबे आईपीओ सब्स्क्राइब हुनु त निकै गाह्रै पर्थ्यो, थोरै मान्छेहरुमा सीमित थियो सेयर बजार’ आचार्य सम्झन्छन्, ‘हामी कर्मचारी भएर पनि यो राम्रै कुरा हो भन्ने बुझ्दैन्थ्यौं, हामीले पनि पछिमात्रे आवेदन दिन थाल्यौं ।’

त्यसबेला कर्मचारीलाई छुट्याइएको आईपीओ पनि बैंकले जर्बजस्ती ‘भिडाउन’ खोजेको भनेर चिन्ता हुने गरेको आचार्य सुनाउँछन् । उनका अनुसार त्यसबेला बैंकमै कार्यरत कर्मचारीहरुले पनि आईपीओ भर्न उत्सुकता देखाउँदैन थिए ।

उनै आचार्य अहिले सेयरधनीहरूको सम्पूर्ण लेखाजोखा राख्ने सीडीएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन् । कृषि विकास बैंकबाट सेवा निवृत भएपछि सरकारले उनलाई सीडीएसको कार्यकारी नेतृत्वको जिम्वेवारी दिएको छ । सेयर बजार पनि अहिले निकै सुधार भएको छ ।

नेपाली सेयर बजारमा कृषि विकास बैंकले राखेको तत्कालीन रेकर्ड जस्तै अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले राख्न लागेको आचार्य सुनाउँछन् । सबैभन्दा ठूलो कुरा त लगानीकर्ताहरुमा चेतनाको वृद्धि भएको उनी बताउँछन् ।

हिजो र आजको अवस्थामा निकै फरक रहेको उनी अनुभव सुनाउँछन् । नेपाली सेयर बजारको आईपीओ आवेदनमा नयाँ रेकर्ड कायम हुने पक्का भएको छ । शुक्रबारदेखि खुलेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) ले नयाँ रेकर्ड राख्ने पक्का देखिएको हो ।

शुक्रबारसम्मको तथ्यांक हेर्ने हो भने डिम्याट खाता खोल्ने नेपालीहरुको संख्या २५ लाख ३ सय ४५ पुगेको आचार्यले बताए । पछिल्लो २ महिना यतामात्रै ३ लाख भन्दा धेरैले नयाँ डिम्याट खाता खोलेका छन् । तर, डिम्याट खाता भएका सबैले भने आईपीओका लागि आवेदन दिने गरेका छैनन् ।

केही दिन अघिमात्रै खुला भएको चन्दागिरी हिल्स लिमिटेडको आईपीओमा १३ लाख हाराहारीले आईपीओका लागि आवेदन दिएका छन् । यो नै इतिहासको सबैभन्दा धेरै आईपीओमा आवेदन परेको हो । चन्दागिरीले राखेको रेकर्ड अब धेरै दिन भने नटिक्ने सीडीएस सीईओ आचार्य बताउँछन् ।

आईपीओ खुला भएको पहिलो दिनकै आवेदनले पनि चाडै नयाँ रेकर्ड बस्ने देखिएको उनले बताए । ‘१० कित्ता आईपीओ पाउन पनि निकै गाह्रो परिरहेका बेला ८ अर्बको आईपीओ आउनु नै खुसीको कुरा हो यसले सेयर बजारमा उल्लास छाएको छ’ उनले भने, ‘यसले नयाँ रेकर्ड त राख्छ नै सेयर बजारप्रतिको आकर्षणमा पनि राम्रै वृद्धि हुने देखिएको छ ।’

बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा पाएको एनआईबीएल एस क्यापिटलका अनुसार शुक्रबार अपरान्हसम्म करिब ४ अर्ब रकम बराबरको आवेदन प्राप्त भइसकेको छ । शुक्रबार अबेरसम्म ३ करोड ८७ लाख ६४ हजार ३८० कित्ताका लागि ३ अर्ब ८७ करोड ६४ लाख ३८ हजार रुपैयाँको आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट थालेको हो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ ।

बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण शेयर भने सर्वसाधारणले खरिद गर्न सक्ने भएका छन् । यस बैंकको सेयर निष्कासन तथा बिक्री प्रवन्धको जिम्मा एनआईबीएल एस क्यापिटल्सले पाएको छ ।

सर्वसाधारणले १० देखि २ करोड कित्तासम्म आवदेन गर्न सक्ने भएका छन् । आवेदन दिन मिल्ने समय छिटोमा ६ माघ तोकिएको छ । उक्त अवधिसम्म तोकिए बराबर आवेदन नपरेमा भने पुनः समय थप हुन्छ । ठूलो परिमाणमा भएका कारण यो बैंकको साधारण सेयर आईपीओ भर्ने सबैले प्राप्त गर्नेछन् ।

निफ्राको आईपीओले जागरण ल्यायो

१० कित्ता सेयर पाउनका लागि पनि निकै संघर्ष गर्नुपर्ने अवस्था छ । अर्को मूख्य कुरा त केही समय अघिसम्म आवदेन दिनकै लागि पनि निकै सास्ती बेहोर्नु पर्ने अवस्था थियो । बैंकमा गएर दिनभर लाइन लाग्नु पर्ने बाध्यता अब हटिसकेको छ ।

‘मेरो सेयर’ नामक सुविधा ल्याएर सीडीएसले घरबाटै आईपीओका लागि आवेदन दिने व्यवस्था गर्‍यो । तर, सिस्टममा समस्या आइरहने कारणले गर्दा मेरो सेयरबाट आवेदन दिन पनि ठूलै समस्याको सामना गर्नु पर्ने अवस्था थियो । केहीदिन अघिसम्म सर्भर डाउन भइरहने समस्या मेरो सेयरमा थियो ।

शुक्रबार भने आईपीओ भर्न लगानीकर्ता समस्या झेल्नु परेन । ‘निफ्राको आईपीओ आवेदनमा समस्या नहोस भनेर सिस्टम मर्मतमा निकै ध्यान दियौं, कुनै समस्या नआओस् भनेर हामीले निकै खट्यौं’ आचार्य भन्छन्, ‘जे होस् हामी सफल भयौं, शुक्रबार पहिलेको जस्तो समस्या देखिएन ।’

निप|mाको आईपीओले नेपाली सेयर बजारमा जागरण नै ल्याएको आचार्यले बताए । सेयर बजार नबुझ्नेले पनि अहिले निकै चासो दिएको उनी बताउँछन् । प्राथमिक बजारमा धेरै जाखिम नहुने भएका कारण पनि आकर्षण निकै राम्रो देखिनु खुसीको कुरा भएको उनले बताए ।

निफ्राको आईपीओका लागि कम्तिमा पनि १५ लाख देखि २० लाखसम्म लगानीकर्ताले आवेदन दिने आचार्यको अनुमान छ । यस अवधीमा सिस्टममा कुनै समस्या आउन नदिनका लागि सीडीएसले पनि निकै ध्यान दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment