Comments Add Comment

यी चार खेलाडी देखिने छैनन् पीएम कप क्रिकेटमा

पारस दुई खेल मात्र खेलेर युएई जाने

४ माघ, काठमाडौं । कुनै पनि देशको क्रिकेट विकास गर्न र राष्ट्रिय टिम बलियो बनाउने आधार घरेलु प्रतियोगिता र यसको संरचना नै हो । राष्ट्रिय टिममा स्थान बनाउनका लागि घरेलु प्रतियोगिताहरुमा राम्रो गर्नुपर्ने हुन्छ ।

त्यसैले राष्ट्रिय प्रतियोगिता खेल्नका लागि खेलाडीहरु उत्साहित पनि हुन्छन् । नयाँ प्रतिभाको लागि यो राम्रो अवसर समेत बन्न सक्छ ।

ठिक यतिबेला नेपालमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघले यस प्रतियोगिताको व्यवस्थापन गरिरहेको छ ।

राष्ट्रियस्तरको प्रतियोगितामा सबै खेलाडीले खेलेको हेर्ने चाहना क्रिकेट प्रेमीहरुको पनि हुन्छ । तर यसपटक नाम चलेका केही खेलाडी भने पीएम कपमा देखिने छैनन् ।

ग्लोबल स्टारको छवी बनाइसकेका सन्दीप लामिछानेदेखि युवा अलराउण्डर कुशल मल्लसम्म यस पटक प्रतियोगिता खेल्ने छैनन् । सोमपाल कामी र करण केसीले पनि यस पटक पीएम कप खेल्ने छैनन् ।

यस्तै नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले पनि दुई खेल मात्र खेल्दैछन् ।

राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप हाल अष्ट्रेलियामा भइरहेको बीग बास लिग (बीबीएल) मा होबार्ट हुरिकेन्सका लागि खेलिरहेका छन् । विदेशी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप यस जन नयाँ टिम होबार्टमा आबद्ध भएका हुन् । यसअघिका दुई सिजन उनले मेलवर्न स्टार्सबाट खेलेका थिए । सन्दीपले यस सिजन ४ विकेट लिएका छन् । सन्दीपले अहिलेसम्म नेपालमा भएको राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् ।

३ खेलाडी नहुँदा आर्मीलाई घाटा

सन्दीप अष्ट्रेलियामा खेलिरहेका बेला फास्ट बलरद्वय सोमपाल कामी र करण केसी अनि अलराउण्डर कुशल मल्ल युएईमा हुने चौथो संस्करणको टी-१० लिग खेल्नका लागि अर्को साता जाँदैछन् । उनीहरु अहिले त्यसका लागि व्यस्त छन् । त्यसैले गर्दा यी तीन खेलाडीले पीएम कप नखेलेका हुन् ।

महत्वपूर्ण कुरा के छ भने यी तीनै खेलाडी विभागीय टोली त्रिभुवन आर्मीबाट राष्ट्रिय प्रतियोगिता खेल्दै आएका छन् । त्यसैले यस पटक आर्मीले यी ३ खेलाडीलाई मिस गर्नेछ ।

अर्को संयोग के छ भने यी तीनै खेलाडी पहिलो पटक टी-१० लिगका लागि छनोट भएका हुन् । सोमपालको भने यो दोस्रो विदेशी लिग हुनेछ । यसअघि उनी ग्लोबल टी-२० लिग क्यानडामा छनोट भएका थिए । उता करण र कुशल भने पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन् ।

सोमपाल साविक विजेता मराठा अरेबियन्समा अनुबन्ध भएका छन् भने करण केसी पुने डेभिल्स र कुशल मल्ल टिम अबुधाबीमा आबद्ध भएका छन् ।

तीन खेलाडी नहुँदा आर्मीले यस सिजन आकाश चन्द र लोकेश बामलाई भित्र्याएको छ ।

पहिलो खेलमा आर्मीले गण्डकीलाई ९८ रनले पराजित गरेको थियो । खेलपछि आर्मीका कप्तान विनोद भण्डारीले मुख्य तीन खेलाडी नहुँदा केही गाह्रो हुने भए पनि अन्य खेलाडीहरुले पनि खेल्न सक्ने बताएका थिए । ‘हामीसँग ३ जना खेलाडीहरु छैनन् । त्यसले गर्दा अलि गाह्रो भाछ । म पनि कोरोनाबाट मुक्त भएको भर्खर ८-१० दिन भाछ । म पनि खेल्ने विचारमा थिएन । तर सोम, करण र कुशल पनि छैनन् र म पनि नहुँदा अलि गाह्रो हुन्छ । म पनि जबरजस्ती खेलेको हुँ,’ गण्डकीविरुद्ध नटआउट १११ रन बनाउँदै खेल जिताएर म्यान अफ दि म्याच भएपछि विनोदले भनेका थिए ।

३ खेलाडीले सुरुवाती केही खेल खेल्न भ्याउने थिए । तर आर्मीले खेलाएन । किन त भन्ने प्रश्नमा विनोदले यसो भनेका थिए, ‘करण, सोम र कुशलले तीन गेम खेल्न भ्याउँथे । तर अब ३ खेल यस्तो छ कि प्रदेशविरुद्ध छ । कि त विभागसँग भाको भए खेल्थे । अब प्रदेशसँग खेल्दा ३ जना लिएर खेल्ने विभागसंग हुँदा हटाउने गर्‍यो भने एकदम गाह्रो हुन्छ । किनकी मुख्य खेलाडी हट्दा विभागसँग खेलमा गाह्रो हुन्छ । त्यसैले अहिले नै विनिङ कम्बिनेसन र टिम कम्बिनेसन लिएर खेलिराको हो । पछि विभागसँग खेल्दा गाह्रो नहोस् भनेर हो ।’

विनोदले ३ खेलाडी नहुँदा लामो टुर्नामेन्ट भएकोले सबै खेलाडीलाई परीक्षण गर्दै खेलाउने बताएका थिए ।

यस्तै सोम करण र कुशल नहुँदा खेल जित्नै सकिन्न भन्ने नहुने विनोदले बताएका थिए । ‘३ जना खेलाडी नहुँदा खेल जित्नै सकिन्न भन्ने नि हुँदैन । कुनैबेला २ जना खेलाडीले राम्रो खेले पनि जित्न सकिन्छ । अब राम्रो खेलाडी हो । सेटको हो भने मिस त हुन्छ । अरु खेलाडीलाई पनि हामीले जबरजस्ती खेलाएको होइन खेलिराकै खेलाडी हुन् । त्यसैले उनीहरु नहुँदा गाह्रो चाहिँ हुँदैन,’ विनोदले भने ।

यस्तै सोमपालले पनि आफू नखेल्दा अर्को खेलाडीले अवसर पाउने भएकाले नै नखेलेको बताए ।

पारसले दुई खेल मात्र खेल्ने

यस्तै राष्ट्रिय टिमका निवर्तमान कप्तान तथा बागमती प्रदेशका खेलाडी पारस खड्काले पीएम कपमा दुई खेल मात्र खेल्ने भएका छन् । पारस खड्का टी-१० लिगमा टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा रहेकाले उनी पनि युएई जाँदैछन् ।

गत सिजन अबुधाबीबाट खेलेका पारस यस सिजन फरक भूमिकामा रहेका छन् ।

बागमती प्रदेशले आइतबार नेपाल पुलिससँग खेल्दा पारस प्लेइङ सेटमा छन् । यस्तै बागमतीले सोमबार सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ ।

पारसले दुई खेल मात्र खेल्ने बागमती प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment