Comments Add Comment

पीएम कपमा आर्मीको लगातार दोस्रो जित

४ माघ, काठमाडौं । विभागीय टोली भित्रुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार मुलपानी क्रिकेट मैदानमा भएको समूह ए को खेलमा आर्मीले कर्णाली प्रदेशलाई ८० रनले पराजित गरेको हो । आर्मीले उद्घाटन खेलमा गण्डकीलाई ९८ रनल पराजित गरेको थियो । ब्याटिङमा अनिल मण्डलको अर्धशतक अनी स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि आर्मीले सहज जित हात पारेको हो ।

लगातार दोस्रो जितपछि साविक उपविजेता आर्मी ४ अंकसहित समूह ए को शीर्ष स्थानमा छ ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले पूरै ओभर क्रिजमा टिक्न नसकेपनि अनिल मण्डलको अर्धशतक मद्दतमा १९५ रन बनाएको थियो । आर्मी ४३.१ ओभरमा अलआउट भएको थियो । १९६ रनको लक्ष्य पछ्याएको कर्णाली ३३.३ ओभरमा ११५ रनमै अलआउट भयो ।

कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३० रन बना भने हेमन्त ओलीले १६ र दिनेश अधिकारीले १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

आर्मीका स्पिनर जोडी सुशन भारी र शहाब आलम मिलेर ७ विकेट लिए । सुशनले ८.३ ओभर बलिङ गर्द ३ मेडन राखेर १९ रन खर्चँदै ४ विकेट लिए । यस्तै शहाबले १० ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेर ३ विकेट लिए ।

रोहित पौडेलले ५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर २ विकेट लिए । हरी चौहानले १ विकेट लिए ।

त्यसअघि आर्मीका अनिल मण्डलले सर्वाधिक ८९ रन बनाए । ११४ बल खेलेका उनले १४ चौका प्रहार गर्दै बाउण्ड्रीबाट मात्रै ५६ रन बनाए । यस्तै कप्तान विनोद भण्डारीले ५५ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ४१ रन जोडे । पहिलो खेलमा विनोदले गण्डकी विरुद्ध शतक प्रहार गरेका थिए ।

यसबाहेक राजेश पुलामीले १६, लोकेश बमले १३ र रोहित पौडेलले ११ रन बनाए ।

बलिङमा कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवन पुनले २-२ विकेट लिए । यस्तै युनिस सिंह र रवीन्द्र शाहीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment