+

थप नेपाली खेलाडीले आई लिग खेलेको हेर्न चाहन्छु : किरण चेम्जोङ

२०७७ माघ  ५ गते ७:१७ २०७७ माघ ५ गते ७:१७
थप नेपाली खेलाडीले आई लिग खेलेको हेर्न चाहन्छु : किरण चेम्जोङ

५ माघ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ हाल भारतीय लिग (आई लिग) फुटबल खेलिरहेका छन् । सिजन २०१७/१८ मा मिनेर्भा पञ्जाबबाट आई लिगमा डेब्यू गरेका उनले पहिलो सिजनमै उपाधि जितेका थिए ।

तेस्रो सिजन लिग खेलिरहेका उनी राउण्ड ग्लास पञ्जाबको पनि पहिलो रोजाइँका गोलकिपर हुन् ।

दक्षिण एसियामा भारतीय लिग उत्कृष्ट भएको उनको निष्कर्ष छ । ‘दक्षिण एशिया क्षेत्रमा लिग फुटबलको स्तर अरु देशको भन्दा भारतमा राम्रो छ, त्यहाँ अधिक एक्सपोजर पनि छ’ उनले आई लिग डट ओआरजीसँग भनेका छन्, ‘आई लिगमा खेल्ने प्रस्ताव प्राप्त गर्नु भनेको अर्को स्तरमा खेल्नु जस्तै हो ।’

एइजवललाई पराजित गर्दै पञ्जाबले लिगमा सुखद सुरुवात गर्दा किरणले गोल खाएका थिएनन् । दोस्रो खेलमा गोकुलम केरलाको सामना गर्दा कप्तानी सम्हालेका उनले पेनाल्टी बचाउनुका साथै उत्कृष्ट प्रदर्शन गरेका थिए । तर दुई गोलको अग्रता जोगाउन नसक्दा पञ्जाब ४-३ ले पराजित भयो ।

‘हामीलाई थाहा छ कि आई लिग धेरै प्रतिस्पर्धात्मक छ । प्रत्येक खेल एउटा कठिन लडाई हो’ उनले भने, ‘पहिलो खेल वास्तवमै महत्वपूर्ण थियो र, हामीले राम्रो सुरुवात गर्‍यौं पनि । दुर्भाग्यवस, दोस्रो खेलमा अग्रता बनाएर पनि कायम राख्न सकेनौं, जित्न सकेनौं । अर्को खेलमा सुधार गर्नुपर्नेछ ।’

पहिलो सिजन नै लिगको उपाधि जित्दा आफ्नो आत्मविश्वास बढेको भन्दै उनले अघि भने, ‘लिगमा प्रत्येक खेल साच्चै प्रतिस्पर्धात्मक हुन्छ र म आफ्नो टीमलाई च्याम्पियन बन्न सहयोग गर्न आएको हुँ ।’

६/७ नेपाली खेलाडीहरू हेर्न चाहन्छु

विगतमा केही नेपाली खेलाडीहरूले भारतका लिगहरुमा प्रभावशाली प्रदर्शन गरेका थिए । अभिषेक रिजालले आइ लिग क्वालिफायर र सावित्रा भण्डारी र अनिता बस्नेतले इन्डियन वुमन्स लिगमा राम्रो गरेका थिए । तर यो सिजन आई लीगमा नेपालको एक मात्र प्रतिनिधि हुन् अनुभवी गोलकिपर किरण ।

उनी आउने वर्षहरुमा धेरै नेपाली खेलाडीले भारतमा लिग खेलेको हेर्ने चाहना लुकाउँदैनन् । ‘उनीहरुले जति धेरै यहाँ खेल्ने अवसर पाउँछन्, यो उनीहरुका लासग मात्र होइन, आउने पुस्ताका लागि राम्रो हुन्छ’ उनले भने, ‘भविश्यमा ६/७ नेपाली खेलाडीले भारतमा खेल्ने अवसर पाउँछन् भन्ने आशा छ ।’

‘यदि मैले राम्रो प्रदर्शन गरेँ र मेरो टोलीलाई आई लिग जिताउन मदत गरेँ भने थप नेपाली खेलाडीहरूका लागि अवश्य ढोका खुल्नेछ । म प्रत्येक खेलमा र हरेक वर्ष यहाँ राम्रो खेल्नको लागि सक्दो प्रयास गर्छु र मेरो देशका अन्य खेलाडीहरूको लागि ढोका खोल्न प्रयास गर्छु’ १८८ सेन्टिमिटर अग्ला किपरले भने ।

भारतमा लिग खेल्दा पनि उनले नेपालमा रहेका फुटबल समर्थकहरुको माया पाइरहेका छन्, त्यसप्रति आभारी पनि छन् । ‘नेपालका ˆयानहरू सधैं मलाई म्याच डेमा शुभकामना दिँदै सन्देशहरू पठाउँछन् । मलाई राम्रो प्रेरित गर्छन् र उहाँहरुकै कारण आज यहाँ छु । उहाँहरूलाई धन्यवाद दिन चाहन्छु’ उनी मुस्कुराए ।

यस सिजन पञ्जावका लागि अर्का महत्वपूर्ण खेलाडी भुटनिज विंगर चेन्चो ग्याल्त्सेन हुन् । मिनेर्भा पञ्जाबले २०१७/१८ मा उपाधि जित्दा किरणसँगै भुटान राष्ट्रिय टिमका कप्तान समेत रहेका चेन्चोले महत्वपूर्ण भूमिका खेलेका थिए । बंगलादेशका कप्तान जमाल भुयान पनि यस सिजन आईलीग क्लब दिग्गज मोहम्मदान एससीमा छन् । नेपाली गोलकिपर किरण दक्षिण एसियाका धेरै खेलाडीहरु यो लेभलमा खेलेको देख्दा खुशी व्यक्त गरे ।

किरणले चेन्चो र आफू दाजुभाइ जस्तो रहेको बताए । ‘राष्ट्रिय टीमको मैत्रीपूर्ण खेलको दौरान पहिलो पटक भेट्यौं र त्यसबेलादेखि सम्पर्कमा रहृयौं’ उनले भने, ‘हामी घनिष्ठ मित्रहरू छौं । भारतीय खेलाडीहरू पनि राम्रा साथी हुन् ।’

(आई लिग डट ओआरजीको सहयोगमा)

 

किरण चेम्जोङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय