Comments Add Comment

जालमार्फत रानीपोखरीको लेउ र झ्याउ हटाउन थालियो (फोटो फिचर)

५ माघ, काठमाडौँ । पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि पोखरीको सौन्दर्यता बढाउन सरसफाई थालिएको छ ।

काठमाडौँ महानगरपालिकाले जालको प्रयोग गर्नेगरी  नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने काम थालेको हो । सहरको सौदर्य बढाउने रानीपोखरी हरियो लेउ र झ्याउले कुरुप भयो भन्ने गुनासो बढेपछि सरसफाइको काम अघि बढाएको महानगरले जनाएको छ ।

दीर्घकालीन व्यवस्था नहुन्जेलसम्म पोखरीको नियमित सरसफाइ गरिने भएको छ । पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर हेर्ने र विस्तारै दीर्घकालीन समस्या समाधानको बाटो अपनाउने महानगरले जनाएको छ ।

काठमाडौँ महानगरका प्रहरी प्रमुख धनपती सापकोटाले पनि दैनिक २० बढी नगरप्रहरी खटाएर उनीहरुकै सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए । दुई दिन लगाएर करिब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ ट्रिपर जति लेउ र झ्याउ झिकिएको छ । उनले प्राधिकरणसँग लेउ मार्ने विषादी प्रयोग गर्ने लगायतका विकल्पका बारेमा छलफल भइरहेको जानकारी दिए । अहिले पोखरीमा पानीको मात्रा घट्दै गएकाले थप समस्या भएको भन्दै पोखरीमा पानी भर्ने विषयमा पनि छलफल भइरहेको सापकोटाले जानकारी दिए ।

प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर पनि पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको बताए। ‘अहिलेसम्म काठमाडौँ महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण भएको अवस्था छैन,’ मानन्धरले भने । पानी शुद्धीकरणमा विभिन्न विकल्पमाथि छलफल गरिरहेको भन्दै उहाँले पानी पम्पिङ गर्ने लगायतका बारेमा पनि सोचिरहेको जानकारी दिए।

उनले रानीपोखरीमा पानीको तह घटेको जानकारी दिए ।सुरुमा पाँच फिट २ इन्च पानी पोखरीमा भरिएको थियो । अहिले तीन फिट जति मात्रै पानी छ,’ उहाँले भने, ‘तीन करोड २२ लाख लिटर जति पानी हामीले पोखरीमा भरेका थियौँ । अहिले करीब २ करोड लिटरको हाराहारीमा पानी रहेको अनुमान छ।’  राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग हामीले छलफल गरिरहेका काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली  बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment