Comments Add Comment

बाइडनले उल्ट्याए ट्रम्पका १७ नीति (सूचीसहित)

८ माघ, काठमाडौं । डेमोक्रेटिक पार्टीका जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा वुधबारबाट कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाले लगत्तै उनले केही कार्यकारी आदेश पनि जारी गरेका छन् ।

बाइडनले जारी गरेको कार्यकारी आदेशमा यसअघि डोनाल्ड ट्रम्प प्रशासनले लिएका १७ नीति उल्ट्याइएको छ । जसमध्ये केहीमा कार्यकारी आदेश जारी भइसकेको छ भने केहीको लागि भने प्रक्रिया सुरु भएको छ ।

के के हुन् बाइडनले उल्ट्याएका नीति ?

मास्कको मापदण्ड

बाइडनले संघीय कर्मचारी र ठेकेदारलाई संघीय भवनमा मास्क अनिवार्य गर्ने निर्णय गरेका छन् । साथै, उनीहरुले भौतिक दुरीको कायम गर्नुपर्ने मापदण्ड बनाइएको छ ।

यो नियम एक सय दिनसम्म जारी रहनेछ । बाइडनले यसअघि नै संघीय भवनहरुमा मास्क अनिवार्य गर्न माग गर्दै आएका थिए । ट्रम्पले भने त्यसलाई अस्वीकार गदै आएका थिए ।

बाइडनले आफ्नो सुरुवाती एक सय दिनको कार्यकालमा अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणमा आउने दाबी पनि गर्दै आएका छन् ।

डब्ल्यूएचओमा पुनः जोडिने निर्णय

बाइडनले अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा पुनः सामेल गराउने घोषणा छन् । गत वर्ष कोरोना महामारी सुरु भएको केही समयपछि ट्रम्प प्रशासनले अमेरिका डब्ल्यूएचओबाट बाहिरिने निर्णय गरेको थियो ।

बाइडनले त्यतिबेला नै आफूले निर्वाचनमा जिते आफ्नो पहिलो निर्णयमा नै डब्ल्यूएचओमा सामेल हुने निर्णय गर्ने बताएका थिए । अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची डब्ल्यूएचओका लागि अमेरिकी प्रतिनिधि बन्नेछन् ।

कोरोना नियन्त्रणको टोली सक्रिय बनाइने

बाइडनले कोरोना नियन्त्रणको लागि काम गर्ने टोलीलाई सक्रिय बनाउने निर्णय गरेका छन् । जसका लागि ट्रम्पको पालामा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका जेफ जेइन्ट्सलाई कोभिड–१९ रेस्पोन्स संयोजकको रुपमा चयन गरिएको छ । यसअघि सो टोली निष्क्रिय थियो ।

निष्कासन प्रक्रिया लम्ब्याउने

बाइडनले मुलुकमा अवैध रुपमा रहेकालाई निष्कासन गर्ने प्रक्रिया मार्च ३१ सम्म लम्ब्याउन आग्रह गरेका छन् । साथै, उनले संसद्लाई पनि यो समयसीमा थप गर्दै भाडा तिर्न सहयोग उपलब्ध गराउन पनि आग्रह गरेका छन् ।

विद्यार्थी ऋण भुक्तानीको सीमा लम्ब्याउने

बाइडनले शिक्षा मन्त्रालयलाई संघीय विद्यार्थीको ऋण भुक्तानीको समयसीमा कम्तीमा सेप्टेम्बर ३० सम्म लम्ब्याउन आग्रह गरेका छन् ।

जलवायु सम्झौतामा जोडिने

बाइडनले सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः जोडिने निर्णय गरेका छन् । यसअघि ट्रम्पको प्रशासनले यो सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो । अब अमेरिका एक महिनाभित्र यो सम्झौतामा औपचारिक रुपमा जोडिन सक्नेछ ।

पर्यावरणीय मापदण्ड कार्यान्वयन

जलवायु परिवर्तनको असर कम गर्नका लागि आवश्यक पर्यावरणीय मापदण्ड पुनः कार्यान्वयनमा ल्याइने भएको छ । यसअघि ट्रम्प प्रशासनले हटाएको मापदण्ड अब पुनः लागू गरिन लागेको हो । यसमा सवारीसाधनको इन्धन क्षमता र उत्सर्जनका साथै पेट्रोलियम पदार्थ र प्राृकतिक ग्यासको प्रयोग कम गर्ने लगायतका मापदण्डहरु छन् ।

वर्ण विभेद हटाइने

बाइडनले संघीय सरकारका कार्यक्रम तथा संस्थाहरुमा हुने वर्ण विभेद नियन्त्रणका लागि कार्यकारी आदेश जारी गरेका हुन् । सो आदेश अनुसार प्रत्येक संघीय निकायले दुई सय दिनभित्र अवसरको असमान अवरोध हटाउने कार्ययोजना पेश गर्नु पर्नेछ ।

गैर अमेरिकी नागरिकको जनगणना गर्ने

बाइडनले अमेरिकामा बस्दै आएका अन्य मुलुकका नागरिकहरुको पनि जनगणना गर्ने कार्यकारी आदेश जारी गरेका छन् । यसअघि ट्रम्प प्रशासनले जनगणना रोक्ने निर्णय गरेको थियो ।

डेका कार्यक्रम

बाइडनले अमेरिकाको डेका कार्यक्रमले कागजात नभएका आप्रवासीलाई अमेरिकामा काम गर्ने अनुमति र निष्कासनमा राहत दिँदै आएको छ । उनीहरुलाई अमेरिकामा बालबालिका पनि आफ्नो साथमा राख्न पाउने अनुमति दिइँदै आएको छ । यसअघि ट्रम्प प्रशासनले यस किसिमको संरक्षण हटाउने योजना बनाएको थियो । बाइडनले गृह मन्त्रालयलाई डेका संरक्षणको लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

मुस्लिममाथिको प्रतिबन्ध फुकुवा

बाइडनले यसअघि ट्रम्प प्रशासनले लगाएको १३ मुस्लिम मुलुकबाट आउने नागरिकलाई भ्रमणमा प्रतिबन्धको निर्णय हटाएका छन् । ट्रम्पको मुस्लिम मुलुकमाथि लगाउने निर्णयको व्यापक विरोध भएको थियो ।

इन्टेरियर इन्फोर्समेन्ट

सन् २०१७ मा ट्रम्प प्रशासनले इएक्स्ट्रिम इमिग्रेसन इन्फोर्समेन्ट जारी गरेका थिए । जसले अमेरिकामा रहेका एक करोड पाँच लाख कागजात नभएका मानिसहरुलाई निष्कासन गर्नुलाई प्राथमिकतामा राखेको थियो । तर, बाइडनले त्यसलाई उल्ट्याउँदै अमेरिकी नागरिकहरुको सुरक्षामा ध्यान दिन आदेश जारी गरेका छन् ।

सीमामा पर्खाल लगाउन रोक्ने

बाइडनले मेक्सिकोको सीमामा पर्खाल लागाउने ट्रम्पको निर्णयलाई पनि रोक्ने निर्णय गरेका छन् । ट्रम्पले अवैध आप्रवासी नियन्त्रणका लागि मेक्सिकोमा पर्खाल लगाउने निर्णय गरेका थिए । त्यसका लागि अहिलेसम्म १५ अर्ब डलर खर्च भइसकेको अमेरिकाको भन्सार तथा सीमा सुरक्षा नियोगको अनुमान छ ।

लैङ्गिक विभेदको नियन्त्रण

बाइडनले लैङ्गिक तथा यौनिक आधारमा हुने विभेदमा परेका मानिसहरुको लागि कानुनी संरक्षण प्रदान गर्न कार्यकारी आदेश जारी गरेका छन् ।

लाइबेरियाका नागरिकलाई संरक्षण

बाइडनले धेरै वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका लाइबेरियाका नागरिक निष्कासनको निर्णय जुन ३० सम्म स्थगित गर्ने निर्णय गरेका छन् ।

नैतिक शपथ

बाइडनले आफ्नो प्रशासनमा नियुक्त हुने प्रत्येक कर्मचारीले शपथ लिनुपर्ने नियम ल्याएका छन् । यसअघि ट्रम्पले यो नियम केही खुकुलो बनाएका थिए ।

नियमन प्रक्रिया, कार्यकारी आदेश, राष्ट्रपति ज्ञापनपत्र

बाइडनले अमेरिकी सरकारको नियमनकारी कदम पुनः स्थापना गर्ने निर्णय गरेका छन् । यसअघि ट्रम्प प्रशासनले उक्त कदम हटाउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment