
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार इजरायल पुग्ने भएका छन् र इजरायली संसदमा सम्बोधन गर्ने कार्यक्रम छ।
- ट्रम्पले गाजाबाट जीवित बन्धकहरूलाई मुक्त गर्ने तयारीसँगै प्रधानमन्त्री नेतान्याहू र राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गर्नेछन्।
- इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता लागू भएपछि ७२ घण्टाभित्र २० जना जीवित बन्धकहरू मुक्त गरिने अपेक्षा गरिएको छ।
२४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार इजरायल पुग्ने भएका छन् । गाजाबाट जीवित बन्धकहरूलाई मुक्त गर्ने तयारीसँगै उनी इजरायल पुग्ने भएका हुन् ।
त्यहाँ उनले इजरायली संसदमा सम्बोधन गर्ने र प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम छ ।
समाचार संस्था रोयटर्सका अनुसार बिहीबार नै राष्ट्रपति ट्रम्पले आउँदो आइतबार मध्यपूर्वको भ्रमणमा निस्कने बताएका थिए ।
इजरायली भाषाको समाचार माध्यम एन१२ का अनुसार ट्रम्पको भ्रमणका लागि सुरक्षा र लजिस्टिक तयारी शुक्रबारदेखि नै सुरु भएकाे त्यहाँको अर्को समाचार संस्था जेरुसेलम पोस्टले लेखेको छ ।
उनी बेन–गुरियन विमानस्थलमा अवतरण गर्ने र त्यहाँ नेतान्याहू र राष्ट्रपति आइज्याक हर्जोगसँगै सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनपछि ट्रम्पले बन्धक परिवारसँग भेट गर्न समाचारमा उल्लेख छ ।
ट्रम्प सोमबार नै दिउँसो करिब २ बजे अमेरिकातर्फ फर्कने योजना रहेको एन१२ ले जनाएको छ ।
इजरायल र हमासबीच गाजामा युद्ध रोक्ने पहिलो चरणको सम्झौता घोषणा गरेका ट्रम्प आफैं त्यहाँ पुग्न लागेका हुन । यो सम्झौता इजिप्टको कायरोस्थिगत शर्म अल–शेखमा भएको इजरायल र हमासबीचको वार्तामा अमेरिकी मध्यपूर्व दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरले कतारी र इजिप्टेली मध्यस्थकर्ताहरूसँग मिलेर दुई पक्षबीच युद्धविराम सम्झौता गराएका थिए ।
सम्झौता बिहीबार दिउँसो इजिप्टमा भएको थियो । यो सम्झौता इजरायली सरकारले शुक्रबार ६ बजे मतदान गरेर अनुमोदन गरेपछि लागू हुनेछ ।
सम्झौता लागू भएको ७२ घण्टाभित्र २० जना जीवित बन्धकहरू मुक्त गरिने अपेक्षा छ । केही मध्यपूर्वी समाचार संस्थाहरूका अनुसार हमासले मृतक बन्धकहरूको शव संकलन गरेर इस्रायललाई फिर्ता गर्न सुरु गरिसकेको छ ।
सम्झौताको घोषणासँगै इजरायली सेनाले गाजाबाट आफ्नो फौज फिर्ता बोलाउन सुरु गरेको छ । द जेरुसेलम पोस्ट का अनुसार इजरायलले गाजा पट्टीबाट सेनाको फिर्तीका लागि आवश्यक नक्सा र योजनालाई अन्तिम रूप दिइसकेको छ ।
प्रतिक्रिया 4