Comments Add Comment

भन्सार विभाग र वित्तीय जानकारी इकाईबीच सम्झौता, गैरकानूनी वित्तीय लगानीका विरूद्ध एक हुने

८ माघ, काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी हुन नदिन भन्सार विभाग र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईबीच समझदारी भएको छ । गैर कानूनी क्रियाकलापमा वित्तीय लगानी हुन नदिन सहकार्य गर्नका लागि विभाग र इकाईबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा विभागका तर्फबाट महानिर्देशक सुमन दाहाल र इकाईका तर्फबाट प्रमुख दीर्घबहादुर रावलले हस्ताक्षर गरे । सम्झौता पत्रमा विभागले गैरकानूनी क्रियाकलापमा संलग्नलाई सोधपुच, जफत वा कारबाही गरिएको विवरण वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यसैगरी यससम्बन्धी अनुसन्धान गर्नका लागि कानून बमोजिम आवश्यक पर्ने विषयहरु इकाईले विभागलाई उपलब्ध गराउने समेत उल्लेख गरिएको छ । सम्झौता अनुसार यस सम्बन्धी विषयमा आपसी सहयोग र समन्वय गर्नका लागि विभागको अनुसन्धान तथा अनुपालन शाखाका निर्देशकको संयोजकत्वमा एक समन्वय समिति गठन समेत गरिनेछ ।

उक्त समितिमा वित्तीय जानकारी इकाईका उपनिर्देशक, सहायक निर्देशक तथा विभागका शाखा अधिकृत सदस्य रहने भएका छन् ।

समझदारी पछि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा हुन सक्ने वित्तीय लगानीकलाई निरुत्साहित गर्न महत्वपूर्ण हुने विभागका महानिर्देशक दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment