Comments Add Comment

पीएम कपकै ‘स्लोएस्ट सेन्चुरी’

९ माघ, काठमाडौं ।  प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत बिहीबार भएको खेलमा विभागीय टोली नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गर्‍यो । साविक विजेता समेत रहेको पुलिसको यो दोस्रो जित हो ।

कीर्तिमानै कीर्तिमान बनेको खेलमा पुलिसका ओपनर सुनिल धमलाले शतक प्रहार गरे । प्रधानमन्त्री कपमा धमलाको यो पहिलो शतक हो । यस्तै पुलिसका पवन सर्फले १३ बलमै अर्धशतक प्रहार गर्दै सबैधन्दा छिटो अर्धशतक हान्ने कीर्तिमान बनाए ।

धमलाले कूल १४५ बल खेल्दै १०४ रन बनाए । जसमा ७ चौका र १ छक्का समावेश थियो । धमलाले १४२ बल खेल्दै शतक पूरा गरेका थिए ।

ओपनिङ ब्याटिङ गरेका धमलाले शतक पूरा गर्न ४३ ओभरसम्म कुर्नुपरेको थियो । उनले १४२ बल खेल्दै शतक ७ चौका र १ छक्का मद्दतमा शतक पूरा गरेका थिए । ४३औं ओभरको चौथो बलमा लुम्बिनीका कप्तान कृष्ण कार्कीलाई १ रन प्रहार गर्दै उनले शतक पूरा गरेका थिए ।

त्यसपछि अर्को ओभरमा धमला आउट भए । उनले १४५ बल खेल्दै १०४ रन बनाए । लुम्बिनीका अनिल खरेलले विकेटकिपर सुशान्त थापाबाट धमलालाई स्टम्पिङ गराएका थिए ।

पहिलो सिजनदेखि नै पुलिसबाट प्रधानमन्त्री कप खेल्दै आएका धमलाले चौथो संस्करणमा आएर शतक पूरा गरेका हुन् । उनलाई ढिला खेल्ने खेलाडीको रुपमा चिनिन्छ । तर टिमको इनिङ्स एक छेउबाट सम्हाल्दै ब्याटिङ गर्नु उनको विशेषता हो । धमलाले अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

चौथो संस्करणमा यो दोस्रो शतक हो । यसअघि उद्घाटन खेलमा त्रिभुवन आर्मीका कप्तान विनोद भण्डरीले गण्डकी प्रदेशविरुद्ध नटआउट १११ रन बनाएका थिए । यस्तै समग्रमा भने प्रधानमन्त्री कपमा यो दशौँ शतक हो । पहिलो संस्करणमा एक, दोस्रो संस्करणमा चार र तेस्रो संस्करणमा तीन शतक प्रहार भएका थिए ।

यो १० शतकमध्ये धमलाले प्रहार गरेको शतक सबैभन्दा ढिलो हो । उनले शतक पूरा गर्न २३ ओभर ४ बल खेले । यसअघि तेस्रो संस्करणमा गण्डकी प्रदेशका अनिल गुरुङले प्रदेश ५ (लुम्बिनी) विरुद्ध १४१ बलमा शतक पूरा गरेका थिए । धमलाले शतक पूरा गर्न त्यो भन्दा १ बल बढी लगाए ।

पहिलो संस्करणमा मध्यमाञ्चलबाट खेल्दै हासिम अन्सारीले एपीएफविरुद्ध १२२ बलमा शतक प्रहार गरेका थिए । उनले १२४ बल खेल्दै १२ चौका र १ छक्का मद्दतमा १०१ रन बनाएका थिए ।

दोस्रो संस्करणमा प्रदीप ऐरीले १३५ बलमा १५८ रन बनाएका थिए । यस्तै सुवास खकुरेलले १३० बलमा १०३ रन बनाए । सागर पुनले १४२ बलमा ११८ रन बनाएका थिए । यस्तै हरी बहादुर चौहानले ११५ बलमा १०० रन बनाएका थिए ।

तेस्रो संस्करणमा ज्ञानेन्द्र मल्लले १११ बलमा ११७ रन बनाएका थिए । यस्तै अमित श्रेष्ठले ११८ बलमा १०६ रन बनाएका थिए ।

यसैगरी अनिल गुरुङले १५२ बलमा ११५ रन बनाएका थिए । त्यसक्रममा उनले १४१ रनमा १०० रन पूरा गरेका थिए ।

खेलपछि धमलाले के भने ?

सेन्सिबल गेम लिएर गइरहेका थियौँ । किनकी यसअघि पनि हामीले देखेका छौँ कि चाँडै नै विकेट गयो भने प्रेसर हुन्थयो र झनै विकेट जान्थ्यो । सेन्सिबल तरिकाले खेल्यौँ र हाम्रो ब्याटिङमा विश्वास थियो । खेलाडीहरुले राम्रो फिनिस पनि गरे ।

हिजोको खेलमा रनरेट राम्रो बनाउन चाँडै गेम सक्ने प्रेसर थियो । आज त्यति प्रेसर थिएन । पहिलो ब्याटिङ गरेपछि विकेटमा मोएस्चर चाहिँ हुन्छ त्यसैले ब्याटिङमा अलि टाइम लिनुपर्छ । त्यसरी नै लिएर गयौँ । हामीसँग ब्याटिङ लाइनअफ पनि लामै थियो र पछि राम्रो फिनिस पनि भयो । शतक पूरा गर्दाको माहोल नर्मल नै थियो ।

मैले नेसनल टिमको लागि भन्दा पनि क्रिकेटको बारेमा सोच्छु । मेरो नेक्स्ट गोल भनेको अर्को म्याचमा राम्रो गर्ने हो । कुनै पनि टुर्नामेन्ट होस् चाहे फ्रेन्चाइज होस् वा डोमेस्टिक होस् क्रिकेटमा राम्रो गर्नु छ । क्रिकेट हाम्रो प्यासन हो । त्यसैमा हाम्रो काम हुन्छ नेसनलमा हेरम अब के हुन्छ ।

बीचमा खासै धेरै टुर्नामेन्ट भएन खेल पनि भएन । क्रिकेट राम्रै भइराछ । कमब्याकको लागि आफूले राम्रो गर्ने हो । पर्छ परिँदैन गड नोज ।

यो शतकले राम्रो कन्फिडेन्स आ’को छ । सेल्फ विलिभ पनि आ’को छ कि गर्नु सक् भनेर । तर अलि समय लिनुपर्छ सफल हुन । नेसनल टिममा पर्नेबारे म त्यति सोच्दिनँ । राम्रो गरेपछि राम्रो पाइन्छ यति चाहिँ थाहा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment