Comments Add Comment

प्रधानमन्त्री कप क्रिकेटमा बागमतीको लगातार तेस्रो जित

शुक्रबार म्यान अफ दि म्याच घोषित भएका वाग्मतीका गौतम केसी ।

९ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले लगातार तेस्रो जित हात पारेको छ ।

समूह बी अन्तर्गत शक्रबार मूलपानी मैदानमा भएको खेलमा बाग्मतीले प्रदेश २ लाई ६ विकेटले पराजित गरेको हो ।

लगातार तेस्रो जितपछि वाग्मती सेमिफाइनल नजिक पुगेको छ । वाग्मतीले यसअघि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । प्रदेश २ ले दिएको १८० रनको लक्ष्य वाग्मतीले ४८.२ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

वाग्मतीका लागि पृथु बास्कोटाले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए । उनले ७५ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । पृथुको यो लगातार दोस्रो अर्धशतक हो । यस्तै यस प्रतियोगितामा पहिलो खेल खेलेका बिभत्सु थापाले ४७ र ओपनर आकाश थापाले ३२ रन जोडे । इशान पाण्डेले १५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे ।

अलराउण्डर पारस खड्का सुरुवाती दुई खेल खेलेर टी १० लिगका लागि युएई प्रस्थान गरेपछि बिभत्सुले पहिलो रोजाईँमा खेल्ने अवसर पाएका थिए । प्रदेश २ का हरिशंकर शाहले २ तथा विशाल सुस्लिङले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८.२ ओभर खेल्दै सबै विकेट गुमाएर १७९ रन बनाएको हो । नवौं नम्बरमा ब्याटिङ गरेका विवेक यादवले अर्धशतक प्रहार गरेपछि प्रदेश १ ले वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य दिएको थियो । प्रदेश २ का लागि विवेक यादवले सर्वाधिक ६६ रन बनाए । उनले ७४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

२५ औं ओभरमा टिमको स्कोर ६९ हुँदा ७ विकेट गुमाएको प्रदेश २ को इनिङ्स उकास्न विकेटले महत्वपूर्ण ब्याटिङ गरे ।

विवेकले आठौं विकेटका लागि राहुल प्रताप सिंहसंग ५३ रनको साझेदारी गरे । यस्तै नवौं विकेटका लागि कुमार थापासंग ४६ रनको साझेदारी गरे ।

कुमार थापाले २२ र राहुल प्रताप सिंहले १८ रन जोडे । यस्तै सुधीर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रन जोडे ।

बलिङमा वाग्मतीका गौतम केसीले ४ विकेट लिए । जारी प्रतियोगितामा पहिलो खेल खेलेका उनले १० ओभर बलिङ गर्दा १ मेडन राख्दै २९ रन खर्चिए । यस्तै रामनरेश गिरीले १० ओभरमा ३ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान १ विकेट लिए ।

वाग्मतीका गौतम केसी म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment