Comments Add Comment

‘आधुनिक मान्छे सधैं उकुस-मुकुसमा छ’

सुमित शर्मा ‘समिर’को पहिलो उपन्यास ‘प्रवास’ले आधुनिक संसारका मान्यतामाथि प्रश्न गरेको छ । उपन्यासमा नेपालभन्दा भिन्न भूगोलको चित्रण गर्दै मानवीय संवेदनाको कथा भनिएको छ ।

धनुषाका सुमितले अध्ययन तथा जागिरका सिलसिलामा युरोपेली तथा उत्तर अमेरिकी समाज जाँदा देखे-भोगेका कुरा नै उपन्यासमा उतारेका छन् । जुन कुरा नेपाली समाजको पछिल्लो जीवनशैली र चिन्तनसँग मिल्ने किसिमको छ।

‘प्रवास’ उपन्यासबारे शर्मा यसरी व्याख्या गर्छन् –

समीक्षक अथवा पढ्ने मानिसको धारण अलग-अलग हुन्छ । त्यसलाई उपन्यास, लामो कथा वा कहानी जेभन्दा पनि आपत्ति हुँदैन । ‘प्रवास’, उपन्यास वास्तवमा एउटा कथा हो त्यसले पाठकलाई तान्छ-तान्दैन ? पाठकलाई यसका पात्रहरूले ‘पाठककै’ कथा भनेजस्तो लाग्छ या लाग्दैन ? मानवीय मूल्यको कथा भनेको छ-छैन ? यदि यी सवालमा उपन्यास सफल छ भने अरू धेरै कुरा मैले बोल्नुपर्ने हुँदैन ।

दक्षिण एशियाली परिवेश

दक्षिण एशिया व्यापक सम्भावना भएको ठाउँ हो । यसो त, मोटामोटी रूपमा विकाशोन्मुख देशकै कथा भनौं भनेर दक्षिण एशियाली क्षेत्रको पात्र र परिवेश रोजेँ । दक्षिण एशियाली क्षेत्रमा बसोबास गर्ने मानिसका इच्छा-आकांक्षा, रहर र कहर लगभग एकै हुन्छ । मेरो चाहना पनि नेपालभन्दा बाहिर तर नेपालकै जस्तो समानता भएका कुनै एशियाली देशको भूगोल समेटेर उपन्यास लेखौं भन्ने थियो । यही कारणले नेपालभन्दा बाहिरको पात्र-परिवेश जन्मियो ।

विगतमा पनि डायस्पोरामा भारतीय, इरानी, पाकिस्तानी मूलका लेखकले धेरै उपन्यास लेखेका छन् । मैले अहिले नेपालीमा लेखेँ, अब अंग्रेजी, हिन्दी भाषामा यसलाई लान मन छ । यस बीचमा यही उपन्यासको पाठक प्रतिक्रिया र समीक्षाहरू मनन गर्छु । मसँग नेपाल भित्रकै कथाका ‘प्लट’हरू पनि छन् । त्यसलाई पनि बिस्तारै लेख्ने मन छ ।

मानिस समयको प्रवाहमा बगेको र आफ्नो निर्णय गर्न नसक्ने प्राणी रहेछ । आधुनिक मानिसलाई यो कुरा सत्य प्रतीत लाग्दैन । किनभने उसलाई जीत्नमात्र सिकाइएको छ । सफल हुनमात्र सिकाइएको छ । त्यसैले आधुनिक मानिस प्रकृतिको बहाव, समाजको बहावमा बगेर कुनै किसिमको उकुसमुकुसमा परेजस्तो लाग्छ । आधुनिक भनिए पनि ऊ सधैं दबाबमा हुन्छ । तर मेरो मुख्य पात्रले यी सबैलाई एकै कुनामा राखेर संसारलाई वा आफैंलाई नियाल्न खोजेजस्तो लाछ । संरचना (स्ट्रक्चर)ले हामीलाई पिँजडाभित्र मात्रै उड्न सक्ने चराजस्तो बनाएको छ । हामी मानिस अनेक जालोले जेलिएका छौं ।

आधुनिक युगले प्रगतिको मानक जेलाई भनेको छ, त्यसमा कहीँ न कहीँ समस्या छ । मध्यमवर्गीय परिवारमा प्रगति भनेको राम्रो खाने, स्तरीय शिक्षा दिने, यातायात र सञ्चारको सुविधा लिने भन्ने छ । जीवनको सम्पूर्ण दौड त्यही प्राप्तीको निम्ति मात्र हो भन्ने स्थापित भएको छ । यो प्रकृयामा मानिस स्वयम् कतै हराएको छ । पश्चिमा समाजले त यो सबै विचार गरेर ‘यो मात्र त ठीक बाटो होइन’ भनिसकेको छ । हामीलाई भने पश्चिमा बन्ने भोक लागिरहेको छ । हामी उनीहरूले मात्र परिभाषित गरिदिएको कुरा नै ठीक हो भन्ने भ्रममा छौं ।

पछिल्लो समयको लेखन (कथा-उपन्यास) डायस्पोरिक कोणबाट लेखिएको छ । बाहिर बसेका हिन्दु तथा मुसलमान समाजका लेखकहरूले आफ्नो जराको खोजी गर्दै लेखेका छन् । विगतमा पूर्व र पश्चिम भन्ने विभाजन गरियो त्यसभन्दा पृथक ‘ग्रे एरिया’ पनि छ जो मिलेर बस्न सक्छ । त्यहाँ हिजोभन्दा फरक जीवन छ है भन्न खोजेको पाएको छु ।

तर आजको लेखन चिन्ताग्रस्त छ । किनभने मानिस जब मध्ययुगबाट आधुनिक युगमा प्रवेश गर्यो तब समस्या झन् सुरु भयो । मध्ययुगमा समाज प्रकृतिको नजिक थियो । कृषि जीवनको आधार थियो । जब मानिस आधुनिक युगमा प्रवेश गर्यो तब माटोसँगको सम्बन्ध विच्छेद भयो । व्यक्तिवाद हाबी भयो । यसकारण आधुनिक समयमा मानिस ‘ह्याक’ हुने सम्भावना बढी भयो । आज मानिसहरू सामूहिक रूपमा भेट्न छाडेर एककुनामा हराएर भर्चुअल संसारमै रमाइरहेका छन् । यो इतिहासको क्रममा हेर्दा मानिस, मानिस हुनुको स्वभाविकताभन्दा पर छ ।

अबको लेखन यो समयलाई चुनौति दिन सक्ने लेखनी हुन सक्छ वा सक्दैन भन्ने नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment