Comments Add Comment

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन सुरु

संकटमा गैरआवासीय नेपालीहरुको भूमिका प्रशंसायोग्य छ : मन्त्री ज्ञवाली

१० माघ, काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।

विशेष महाधिवेशनको उद्घाटन पछि सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीहरुले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीहरुको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै भने, ‘संकटको यस अहम परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।’

नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीहरुलाई औपचारिकरुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरेको बताए ।

उनले एनआरएनए नेपालको विकासको लागि सहयात्री भएको उल्लेख गरे । गैरआवासीय नेपाली संघ विशुद्ध सामाजिक संस्था भएकाले राजनीतिक दृष्टीकोणलाई बाहिर राखेर सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

विशेष महाधिवेशनलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विदेशमा बसेर आफ्नो मिहेनत र पसिनाबाट कमाएको पुँजी नेपालको समृद्धि र विकासका लागि गैरआवासीय नेपालीले योगदान गरेको बताए । विपत र संकटका बेला विदेशमा रहेका प्रत्येक नेपालीले देखाएको अपनत्व प्रशंसायोग्य भएको उनको भनाइ थियो ।

राजनीतिक लडाइँमा नभइ विकासको बाटोमा अग्रसर हुनुपर्नेमा उनको जोड थियो । नेपाल विपन्न देश भएको हुँदा देशमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै विदेशमा हरेक नेपालीहरुले नेपालको उत्पादन मूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनु पर्ने उनले बताए ।

विशेष अधिवेशनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले महाधिवेशन महिला, युवा, दोस्रो पुस्ता र संघको भविष्यको बारेमा छलफल गर्न सुझाव दिए । घलेले गैरआवासीय नेपाली संघलाई साझा संस्थाको रुपमा अघि बढाएर मिनि संयुक्त राष्ट्रसंघको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए । उनले गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरुलाई दरिलो बनाउनु पर्ने उनको भनाइ थियो ।

अर्का पूर्वअध्यक्ष देवमान हिराचनले विशेष महाधिवेशको सफलताको शुभकामना दिँदै विधान संशोधन, एनआरएन फाउण्डसेन, भिजन २०२० लगायतका विषयमा घनिभूत छलफल गर्न सुझाव दिए ।

विशेष अधिवेशनमा संघका संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछानेले गतिशिल संस्थामा सामान्य विवाद र असहमति हुनु स्वभाविक रहेको बताए । उनले अधिवेशनमा संरक्षक परिषद्को सुझाव अनुरुप विधान संशोधनमा साझा प्रस्ताव ल्याउन लागेकोमा कार्यसमिति प्रति विशेष धन्यवाद व्यक्त गरे ।

उनले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामाना गर्नुको विल्कप नभएको भन्दै हरेक संकटसँगै अवसर पनि ल्याएको हुने बताए । उनले गैरआवासीय नेपालीहरुले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको शाख बचाइराख्न सबैलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियान अनुसार सबैलाई संस्थाको चामको लागि एकताको लागि आव्हान गरे । उनले सबै पक्षलाई समेटेर संस्थालाई अघि बढाउन आग्रह गरे । भट्टले मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएको बताउँदै नेपालमा लगानीको लागि जोड दिए ।

कार्यक्रममा शुभकानमा मन्तव्य दिनु हुँदै गैरआवासीय नेपाली संघका संस्थापक नेता रामप्रताप थापाले संसारभर छरिएका नेपाली र नेपालमा रहेका नेपालीहरुलाई जोड्ने काम गैरआवासीय नेपाली संघले गर्दै आएको स्मरण गराए । उनले संस्थाभित्र मेरो र तेरो भन्ने भावनाले होइन सामूहिकरुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नु पर्नेमा जोड दिए । महाधिवेशनमा संघका सल्लाहकारहरु कूल आचार्य, टिबी कार्की, उपाध्यक्षहरु डा. बद्री केसी, सोनाम लामालगायतले शुभकामना मन्तव्य दिए ।

भर्चुअलरुपमै दुई दिनसम्म चल्ले संघको विशेष महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सञ्चालन संघका महासचिव डा. हेम राज शर्मा र स्वागत मन्तव्य उपाध्यक्ष रविना थापाले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment