Comments Add Comment

प्रदेश २ का ३४ हजार ८०४ जनालाई कोरोनाको खोप लगाइने

११ माघ, जनकपुरधाम । भारत सरकारले उपलब्ध गराएको कोरोनाविरुद्वको खोप प्रदेश २ मा पनि आइतबार आइपुगेको छ ।

बुधबारदेखि प्रदेशमा ३४ हजार ८ सय ४ जनालाई खोप लगाइने तयारी भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले पहिलो चरणमा फ्रन्टलाइनमा खटिने व्यक्तिलाई खोप लगाइने बताए ।

उनका अनुसार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकसहित सबैभन्दा बढी जोखिममा रहेका व्यक्तिलाई यो खोप दिइने भएको छ । सचिव काप्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सोमबार एक जना विज्ञ आएपछि सरोकारवालाको बैठक बसेर यससम्बन्धी थप छलफल गरिने बताए ।

प्रदेश २ का लागि आएको खोप दुई ठाउँमा स्टोर गरिएको छ । पूर्वी जिल्ला सप्तरी र सिरहाका लागि विराटनगरमा तथा धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका लागि हेटौंडामा स्टोर गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता ठूलोबाबु दाहालले जानकारी दिए । उनका अनुसार सोमबारसम्म सबै जिल्लामा खोप पठाइनेछ ।

कुन जिल्लामा कति खोप ?

प्रदेशका लागि आएका ३४ हजार ८ सय ४ खोपलाई आठै जिल्लामा पठाइने तयारी गरेको छ ।

दाहालका अनुसार सप्तरीका लागि ३ हजार ७ सय ५४, सिरहाका लागि ३ हजार ९ सय ३०, धनुषाका लागि ९ हजार १ सय ८२, महोत्तरीका लागि २ हजार १ सय ९१ खोप उपलब्ध गराइने भएको छ ।

यस्तै, सर्लाहीका ४ हजार ७ सय ७२, रौतहटमा ३ हजार ६ सय ९, बाराका लागि २ हजार ३ सय ९५ र पर्साका लागि ४ हजार ९ सय ७१ ज्नाका लागि खोप उपलब्ध गराइने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment