
१२ माघ, काठमाडौं । सन् २०२० मा चीन विश्वको सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी(एफडिआई) भित्र्याउने मुलुक बनेको छ ।
संयुक्त राष्ट्रसंघले आइतबार सार्वजनिक गरको प्रतिवेदन अनुसार चीनले सन् २०२० एक वर्षको अवधिमा एक खर्ब ६३ अर्ब डलर वैदेशिक लगानी भित्र्याएको छ ।
आइतबार राष्ट्रसंघको व्यापार र तथा विकास सम्मेलन (यूएनसीटीएडी)ले लगानी सम्बन्धी सार्वजनिक प्रतिवेलनमा सो तथ्यांक उल्लेख छ । प्रतिवेदन अनुसार अमेरिकामा भने सो अवधिमा एक खर्ब ३४ अर्ब डलर मात्र वैदेशिक लगानी भित्रिएको छ । अहिलेसम्म प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेमा अमेरिका पहिलो मुलुक थियो ।
सन् २०१९ मा भने अमेरिकामा दुई खर्ब ५१ अर्ब डलर वैदेशिक लगानी भित्रिएको थियो भने चीनमा एक खर्ब ४० अर्ब डलर लगानी भित्रिएको थियो ।
गत वर्ष विश्वका अधिकांश मुलुकहरु कोरोना भाइरस (कोभिड–१९) को महामारीको सामना गरिरहेको अवस्थामा चीनले भने समयमा नै महामारीलाई नियन्त्रणमा लिन सफल भएको थियो । जसको असर मुलुकमा भित्रिने लगानीमा परेको हो ।
समग्रमा विश्वभरको वैदेशिक लगानी भने गत वर्ष ४२ प्रतिशत घटेको थियो । सन् २०१९ मा समग्र वैदेशिक लगानी १५ खर्ब डलर रहेकोमा गत वर्ष आठ खर्ब ५९ अर्ब डलरमा झरेको हो ।
प्रतिवेदन अनुसार गत वर्ष कुल प्रत्यक्ष वैदेशिक लगानी ल्याटिन अमेरिका र ब्यारेबियन क्षेत्रमा ३७ प्रतिशत घटेको थियो भने अफ्रिकामा १८ प्रतिशतले घटेको थियो । विकासशील एसियामा भने चार प्रतिशत वैदेशिक लगानी घटेको थियो ।
प्रतिक्रिया 4