Comments Add Comment
शहीद–सम्झना :

गंगालालको आँखामा मृत्युको भय थिएन !

राणा शासनको प्रशासनतन्त्रमा जागिरे डिल्लीबजारका भक्तलाल श्रेष्ठका दुई श्रीमतीबाट जम्मा १६ सन्तान भए । भक्तलाल श्रेष्ठकी जेठी श्रीमती तुलसीमायाका आठ सन्तानमध्ये जेठा छोरा हुन्, गंगालाल । सरकारी कर्मचारी भएका कारण भक्तलालको सरुवा भइरहन्थ्यो । त्यसै क्रममा जेठो सन्तान गंगालालको जन्म वि.सं. १९७५ मा रामेछापको मन्थलीमा भएको हो ।

बालक गंगालालको शिक्षा सुरुमा परिवारभित्रै तथा पछि भारतस्थित कलकत्ता र त्रि–चन्द्रमा भयो । न्यायप्रेमी एवं जागरुक किशोर गंगालालले म्याट्रिक परीक्षा दरबार हाइस्कुलबाट गरेपछि त्रि–चन्द्र कलेजमा विज्ञान विषय पढ्न थाले । त्यही क्रममा राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रियता जनाएको अभियोगमा १९९५ कात्तिक २ गते उनी पक्राउ परे । अन्ततः गंगालाललाई निर्दयतापूर्वक फाँसीको सजाय सुनाइयो ।

त्यतिबेला उनको उमेर जम्मा २२ वर्ष कटेको थियो । कान्छो शहीदको रूपमा गंगालाल नेपाली समाजमा सदैव उच्च आस्थाका साथ सम्मानित छन् ।

‘शहीद दिवस–२०७७’को अवसरमा गंगालाल परिवारका एकमात्र जीवित कान्छा भाइ विजयलाल श्रेष्ठ (८६) सँग गरिएको कुराकानी :

विजयलाल श्रेष्ठ

हाम्रा बुबाको दुई आमामध्ये जेठी आमा तुलसीमायाको हामी आठ सन्तान थियौं । त्यसमध्ये म कान्छो हुँ । जेठा गंगालाल, माइला पुष्पलाल, काइँला गौरीलाल, साहिँला देवीलाल र कान्छो म, विजयलाल हुँ । परिवारकै जेठो छोराको रूपमा गंगालालको जन्म वि.सं. १९७५ मा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो । बाल्यकालको शिक्षा आमाबुबाबाटै लिएपछि आफ्ना काकासँगै भारतको कोलकातामा बसी तीन वर्ष पढेपछि दाइ गंगा काठमाडौं नै फर्कनुभयो ।

वि.सं. १९९४ मा उहाँले दरबार हाइस्कुलबाट पहिलो श्रेणीमा म्याट्रिक (तत्कालीन एसएलसी) उत्तीर्ण गर्नुभयो र त्रि–चन्द्र कलेजमा विज्ञान विषय (आईएस्सी) पढ्दै हुनुहुन्थ्यो । गंगालाल कलाकार तथा त्यतिबेलाको महावीर संस्थाका क्रियाशील कार्यकर्ता हुनुहुन्थ्यो । महावीर संस्थाबाट निरंकुश राणाविरोधी क्रियाकलापहरू हुन्थे । राणा सरकारले गंगालाललाई शुक्रराज शास्त्रीको सभाबाट १९९५ साल कात्तिक २ गते राणा शासनविरुद्ध बोलेबापत प्याफलबाट पक्राउ गर्‍यो । पहिलोपटक त उहाँ छुट्नुभयो । पछि दशरथ चन्दको संगतबाट प्रजापरिषद्को सदस्यता लिनुभई राणा शासनविरोधी गतिविधिमा पूर्णकालीन सक्रिय हुनुभयो ।

प्रजापरिषद्को गतिविधिमा लागेबापत उहाँलाई फेरि पक्राउ गरियो । अन्ततः १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेल टेकुबाट (जगन्नाथ मन्दिर अगाडिको चौर) बाट विष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा (हालको डल्लुमाथि) लगेर गोली हानी मृत्युदण्ड दिइयो । त्यसदिन १९९७ माघ १५ गते बिहान भाले बास्दै गरेको समय थियो ।

राणा शासनका मतियारबाट कायरतापूर्वक उहाँलाई तीन गोली हानेर मारियो । त्यहीँ शोभा भगवती किनारमा १५ गते दिउँसो आफन्तबाट गंगालालको सद्गत गरियो ।

अदम्य साहसी गंगालाल

हामीले थाहा पाएअनुसार बुबाले दाइ गंगालाललाई कहिल्यै गाली गर्नु परेन । उहाँमा गर्न हुने र गर्न नहुने भन्ने विवेक विकसित थियो । साथै, परिवारका सदस्य तथा आफ्ना साना भाइहरूलाई औधी प्रेम गर्नुहुन्थ्यो ।

आज गंगालालको निर्भीकपनामाथि कुरा गर्दा म आफैं आश्चर्यमा पर्छु । उहाँमा कुनैपनि अवस्थामा डरको भावना आएन भन्ने तथ्य म खुलेर भन्न सक्छु । फाँसी दिने अघिल्लो दिन त्रिपुरेश्वरस्थित जगन्नाथ मन्दिर अगाडि बाँधेर राखेको अवस्थामा दाइलाई म भेट्न गएको थिएँ । त्यतिबेला त म जम्मा ६ वर्ष कटेको भएर विस्तृत कुरा केही थाहा थिएन । र पनि दाइको आँखामा देखेको आत्मविश्वास अदम्य प्रतीत हुन्थ्यो ।

त्यस दिन हट्केसमा भात लिएर माइलो दाइ पुष्पलाल र म भई गंगालाललाई भेट्यौं । माइलो दाइले जेठाको खुट्टा समातेर केही कुरा भने । पछि थाहा भयो, गंगालालले भाइ पुष्पलाललाई भनेका रहेछन्–

‘मैले बालेको प्रजातन्त्रको दियो निभ्न नदिएस् !’

अन्ततः माघ १५ गते बिहानै भालेको डाँकपछि दाइलाई नरशमशेरको टोलीले मारे । कुखुरा बासेपछि नयाँ दिन सुरु भएको मानिने हुनाले नै त्यो दिन हामीले माघ १५ लाई मानेका छौं । जुन दिन गंगालालले नेपालीका लागि जीवन आहुति दिए ।

मैले भेट्दाको दिन म केटाकेटी नै भएपनि आज परिवारको सदस्यको नाताले गंगालालबारे धेरै कुरा सम्झन्छु । त्यतिबेला पक्राउ परेको अवस्थामा पनि दाइ गंगालालको आँखामा तेज थियो । म भन्न सक्छु कि उहाँमा कुनै प्रकारको मृत्युको भय थिएन । किनभने उहाँलाई पक्राउ पर्छु भन्ने पहिल्यै नै थाहा थियो । त्यसको सजाय प्राणदण्ड हुन्छ भन्ने पनि थाहा थियो । मर्नुअगाडि आफ्नो भर्खरै जन्मिएको दुई दिने छोराको अनुहारसमेत उहाँले हेर्न खोज्नुभएन ।

त्यतिबेला हाम्रो घर वसन्तपुरको पश्चिममा रहेको प्याफलमा थियो । त्यहाँ घरको दलिनमा गंगालालले ‘गड ब्लेस गंगा’ लेखेका रहेछन् । त्यस कुराले उहाँलाई समात्छ भन्ने कुरा पहिले नै थाहा भइसकेको प्रतीत हुन्छ । अर्थात् अब गंगाको लागि दैव वा कुनै आस्थाको शक्तिले मात्र बचाउन सक्छ भन्ने बोध उहाँमा थियो ।

त्यतिबेला सरदार रुद्रराज र अन्य निकटका मानिसबाट राणाहरूको केही कुरा त हामीलाई थाहा भइसकेको थियो । पछि पानीको लोटाभित्र केही कागज राखेर उहाँले इनारमा खसालिदिनुभयो । एउटा टाइपराइटर पनि इनारमा खसालिनुभयो । जुन कुरा हरिकृष्ण श्रेष्ठको पुस्तकमा लेखिएको छ ।

मैले आफ्नो अध्ययन र बुझाइका आधारमा भगतसिंहपछि गंगालालजस्तो निर्भीक र सुरो मानिस देखेको छैन । शेर पनि आफूलाई आपत् परेपछि भाग्छ तर ऊ भागेन । शेर (बाघ)जत्तिकै सुर्‍याइँ उहाँमा थियो । जसले गर्दा शत्रु पनि उसको जीवन आहुतिसँग डरायो । आज म निर्धक्क भन्न सक्छु– मैले देखेको गंगालालको आँखामा मृत्युको भय रत्तिभर थिएन ! भारतका भगतसिंहको जस्तै बहादुरी उहाँमा थियो ।

पढाइमा तेज

दाइ गंगालाल पढाइमा तेज हुनुहुन्थ्यो । पढ्नकै लागि उहाँ बालक कालमै रामेछापबाट काठमाडौं आउनुभयो । पछि कलकत्ता पढ्दा जाँदा भान्सामा सहयोग गर्न मेरी बज्यै पनि सँगै कलकत्ता नै जानुभएको थियो । त्यसको कारण दाइलाई पढाइमा थप मद्दत होस् भन्ने नै हो । फर्केर दरबार स्कुलबाटै गंगालालले प्रथम स्थानबाट म्याट्रिक पास गर्नुभयो । त्यसपछि त्रि–चन्द्र कलेजमा विज्ञान विषय लिएर पढ्नुभयो । त्यही पढाइको दौरान तीव्र राजनीतिक गतिविधि, अध्ययन–चिन्तनमा लाग्नुभयो ।

गंगालालको निर्भीक व्यक्तित्वको परिचय त सबैलाई थाहा छ । तर उहाँको पढाइ, चिन्तनबारे थाहा छैन । दाइ कलिलो उमेरमै विश्वका प्रमुख सिद्धान्त, वादबाट प्रभावित हुनुहुन्थ्यो । समाजवाद र परिवर्तनको अन्तर्यले उहाँले बुझिसक्नुभएको थियो । त्यसैले त २२ वर्षे ठिटो हाँसीहाँसी मर्न तयार भयो ।

निष्ठाहीन आजका कम्युनिस्ट

गंगालालले उतिबेलै माफी मागेर धनसम्पत्ति जोड्न सक्थे । किनकि उनी कलिलो उमेर र कम कसुरको देखेर माफी माग्न राणा सरकारले बारम्बार भनेको थियो । तर त्यो जीवनको सौदा साहसी गंगालाललाई स्वीकार्य भएन । जीवन र मृत्युको छनोटमा उहाँले परिवर्तनको लागि मृत्यु रोज्नुभयो ।

आज कम्युनिस्टको शासन छ तर बिडम्बना कम्युनिस्टको विचार कोही फिट हुँदैन । सबै कम्युनिस्ट व्यक्तिगत मोहमा फसेका छन् । के गंगालाल, पुष्पलालजस्ता कम्युनिस्ट जननायक व्यक्तिगत मोहमा फसेका भए आजको स्वतन्त्रतः नेपाली जीवन प्राप्त हुन्थ्यो । भर्खरै जन्मेका सन्तानको माया छाडेर गंगालालले छातिमा गोली थापे । पुष्पलाले सबै स्वार्थ त्यागेर कम्युनिस्ट पार्टी निर्माणका लागि जीवन समर्पित गरे ।

जबजब कम्युनिस्ट भनिएकैबाट देश र जनताप्रति घात भएको देख्छु, मेरो मनमा एउटा प्रश्न आउँछ– के २२ वर्षकै उमेरमा गंगालाल शहीद हुनु सामान्य कुरा हो ? के सच्चा शहीदको शहीदको बलिदानमाथि पटकपटक धोका दिन मिल्छ ? के यहाँ शहीदको मूल्य औपचारिकतामा मात्र सीमित भएको हो !

(चार शहीदमध्येका कान्छा शहीद गंगालाल श्रेष्ठका कान्छा भाइ विजयलाल श्रेष्ठ ८६, सँग गरिएको कुराकानीबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment