Comments Add Comment

प्रधानमन्त्री ओली चार मन्त्रीसहित चितवन आउँदै

सडक र सिटहल शिलान्यास तथा जनसभालाई सम्बोधन गर्ने

१७ माघ, चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न चार विभागीय मन्त्रीसहित शनिवार चितवन आउने भएका छन् । भरतपुरको गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन आउन लागेका हुन् । उनले भरतपुरमा नै हुने जनसभालाई सम्वोधन गर्न कार्यक्रम पनि छ ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन आउने भएका हुन् । यतिका धेरै मन्त्री एकैपटक चितवन आउन लागेको यो पहिलोपटक हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षकी नेतृ एवम् राष्ट्रिय सभा सांसद पार्वती रावलले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओली विहान ११ बजे भरतपुर आइपुग्ने कार्यक्रम छ । विहानको मौसम नखुलेकाले केही ढिला हुनसक्ने उनले बताइन् ।

प्रधानमन्त्री ओली भरतपुर आएलगत्तै विमानस्थल गेट नजिकै पूर्वपश्चिम राजमार्गको छेउमा गोन्द्राङ–नारायणगढ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रम छ । त्यसपछि भरतपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा केहीबेर आराम गर्ने र त्यसलगत्तै भरतपुरको बाइपास सडक नजिक बन्न लागेको बहुउद्देश्यीय सिटी हलको शिलान्यास गर्ने कार्यक्रम छ ।

सो शिलान्यास सकेपछि प्रधानमन्त्री ओली भरतपुर केन्द्रीय बस टर्मिलनमा हुने जनसभालाई सम्बोधन गर्न जाने छन् । सभामा ५० हजारको जनसहभागीता रहने दावी ओली पक्षले गरेको छ ।

ओली पक्षकी नेता एवम् नेकपा केन्द्रीय सदस्य पार्वती रावलले चितवनका हरेक वडावडामा कार्यक्रममा सहभागिता जनाउन जनपरिचालन गरिएको जानकारी दिइन् । त्यसको संयोजन नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारीले गरिरहेका छन् । सभाअघि पूर्व क्षेत्रको गोन्द्राङ बसन्तचोक, पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिने छ ।

प्रधानमन्त्रीसहित चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भरतपुरका विभिन्न क्षेत्रमा आवश्यक सुुरक्षाकर्मी परिचालन गरिएको बताए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गृह जिल्ला चितवनमा मन्त्रीहरुसहित प्रधानमन्त्री आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भरतपुर महानगर र प्रचण्ड माधव समूहको विरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरको सिटी हल र नारायणगढ–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्ने कार्यक्रमको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय नेकपा चितवनले विरोध गरेका छन् । उनीहरुले क्षेत्राधिकार मिचेर शिलान्यास गर्न लागेको, निर्वाचन आचारसंहिता लागेको, सरकार कामचलाउ भएकाले शिलान्यास गर्न नपाउने दावी गर्दै आएका छन् ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले महानगरसँग समन्वय नगरी शिलान्यास गर्न लागिएको भन्दै विरोध गरिन् । उनले आफ्नो पहलकदमीमा सिटी हल र सडक विस्तार गर्न लागिएको दावी गर्दै आएकी छिन् । तर, यी दुबै योजना संघीय सरकारको बजेट र कार्यक्रम रहेको ओली पक्षको भनाइ छ ।

यस्तै, प्रचण्ड माधव समूहले पनि निर्वाचन आचारसंहिता विपरीत कामचलाउ प्रधानमन्त्रीले शिलान्यास गर्न लागेको भन्दै नाटक मञ्चन गरिएको आरोप लगाएको छ । सो समूहका जिल्ला इन्चार्ज कृष्ण खनालले प्रधानमन्त्रीले दीर्घकालीन महत्वका कामको शिलान्यास यतिबेला गर्न नपाउने बताए ।

सिटी हल र छ लेन सडक विस्तार द्रूत गतिमा

सघन सहरी तथा भवन निर्माण आयोजना अन्तर्गत सङ्घीय सरकारको ८७ करोड ८८ लाख रुपैयाँ लागतमा सिटी हलको ठेक्का सम्झौता भएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो ।

सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख प्रकाश अर्यालका अनुसार तीन सय क्षमताको कन्फ्रेन्स हल रहने छ । विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने छ । चारवटा भर्याङ, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष पनि रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा हुने उनले जानकारी दिए ।

सभागृहमा प्रशासनिक कक्ष, पुस्तकालय, सूचना प्रविधि, अतिविशिष्ट कक्ष, फुड ल्याण्ड र बगैँचा हुनेछ । २५७ गाडी र ३१७ मोटरसाइकल एवं साइकल अट्ने पार्किङ स्थल रहने छ ।

भरतपुरमा नै नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म एक अर्ब १२ करोड रुपैयाँको लागतमा ६ लेनको सडक दुई वर्ष ४ महिनाभित्र बनिसक्ने गरी ठेक्का सम्झौता भैसकेको छ । दुबै आयोजनाको निर्माणको जिम्मा इन्डो सगुन रौताहा जेभीले लिएको छ ।

टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय वस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर ओरालो र बजार क्षेत्रमा ४ लेन छ ।

दुई लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपिने डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर एवम् प्रवक्ता शिव खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment