Comments Add Comment

ईयू र एस्ट्राजेनेकाबीच कोरोना खोप आपूर्ति बढाउने सहमति

१९ माघ, काठमाडौं । युरोपेली संघ (ईयू) र खोप निर्माता कम्पनी एस्ट्राजेनेकाबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आपूर्ति बढाउने सहमति भएको छ । ईयूले दिएको जानकारीअनुसार एस्ट्राजेनेका थप ९० लाख डोज कोरोना खोप आगामी मार्च महिनासम्ममा आपूर्ति गर्ने सहमति भएको छ ।

यसअघि उत्पादनमा आएको समस्याको कारण कम्पनीले ईयूलाई वाचा गरेअनुसारको खोप उपलब्ध गराउन नसक्ने बताएको थियो । यससँगै कम्पनी र ईयूबीच विवाद निस्किएको थियो । ईयूको कोरोना खोप कार्यक्रम निकै सुस्त गतिमा अघि बढिरहेको भन्दै आलोचना भइरहेको अवस्थामा एस्ट्राजेनेकाले खोपको आपूर्ति घट्न सक्ने चेतावनी दिएको थियो । एस्ट्राजेनेकाको चेतावनीसँगै ईयूले खोप निर्यातमा कडाइ गरिने बताएको थियो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले एस्ट्राजेनेकासँग भएको सम्झौता निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएकी छिन् । यद्यपि अहिले भएको सम्झौतापछि पनि यसअघि अपेक्षा गरिएअनुसारको खोप भने ईयूमा मार्चसम्ममा आउनेछैन । यद्यपि अहिले भएको सम्झौताअनुसार यसअघि भनिएको भन्दा ३० प्रतिशत बढी डोज खोप ईयूले पाउने भएको छ ।

गत अगष्ट महिनामा ईयूले एस्ट्राजेनेकासँग ३० करोड डोज कोरोना खोपको लागि सम्झौता गरेको थियो । जसमा थप १० करोड खरिद गर्ने विकल्प राखिएको थियो । जसमध्ये मार्चसम्म ८ करोड डोज कोरोना खोप आउने अपेक्षा थियो । तर, अहिले भएको सम्झौताअनुसार ईयूले मार्चसम्ममा चार करोड डोज कोरोना खोप पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment