२० माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताममा कूल २३ खेल भए । १६ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टिमले प्रतिस्पर्धा गरेका थिए ।
विभागीय डर्बी फाइनलमा एपीएफलाई पराजित गर्दै आर्मीले उपाधि जित्यो ।
१० टिमका कूल १४० खेलाडी पीएम कपमा प्रतिस्पर्धामा उत्रिएका थिए । तर त्यसमा केही खेलाडीले खेल्न पाएनन् । कुनै टिमले टिममा रहेका १४ खेलाडी नै खेलाउँदा केही टिमले भने एउटै प्लेइङ एघारलाई खेलाए ।
यस पटक गुमनाम जस्तै भएका केही खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरे । केही नयाँ प्रतिभाले पनि आफूलाई राष्ट्रिय स्तरमा देखाउने अवसर पाए । अनुभवी खेलाडीहरु पनि प्रदर्शन गर्न चुके ।
तीन विभागीय टोलीमा आर्मी, एपीएफ र पुलिसमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको वर्चस्व नै थियो । तर सबैको प्रदर्शन सोचेजस्तो हुन सकेन । आशा गरिएका खेलाडीबाट पनि राम्रो प्रदर्शन देखिएन । युवा खेलाडीले आशलाग्दा प्रदर्शन गरे । १० टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा उत्कृष्ट ११ खेलाडीको छनोट गर्दै बेस्ट टिम छनोट गर्ने प्रयास यहाँ गरिएको छ ।
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले स्वभाविक पोजिसनभन्दा तल ब्याटिङ गर्दा उनको प्रदर्शन राम्रो हुन सकेन । अलराउण्डर पारस खड्का दुई खेल मात्रै खेलेर टी-१० लिगमा सहभागी हुन दुबई गए ।
राष्ट्रिय टिमका अन्य तीन खेलाडी सोमपाल कामी, करण केसी र कुशल मल्ल पनि टी-१० लिग खेल्न गएकाले पीएम कप खेलेनन् ।
यस्तै अनुभवी ब्याट्सम्यान शरद भेषावकरको ब्याट पनि खासै चलेन । पृथु बास्कोटा, राजेश पुलामी मगर, कृष्ण कार्की, सौरभ खनाल जस्ता खेलाडीले पीएम कपबाटै पुनरागमन गरे ।
यस्तै युवा खेलाडीहरु विवेक यादव, अर्जुन कुमाल, विशाल पौडेल, अनुज चुनारा, गौतम केसीले राम्रो प्रदर्शन गरे । आसिफ शेखले पनि यस पटक राम्रो प्रदर्शन गरे ।
इमर्जिङ प्लेअरको अवार्ड जितेका विवेक यादव, ३ खेलमा ११ विकेट लिएका गौतम केसी, फास्ट बलर जितेन्द्र मुखिया, ब्याटिङ समेत उत्कृष्ट बलर विक्रम सोब, अर्का बलर रामनरेश गिरी, पुलिसका दीपेन्द्र सिंह ऐरी बेस्ट ११ को दाबेदार रहे पनि टिममा पर्न असफल रहे ।
ओपनर : सुनिल धमला र आसिफ शेख
पुलिस क्लबका सुनिल धमला र एपीएफका आसिफ शेखले ओपनिङमा राम्रो प्रदर्शन गरे ।
५ खेल खेलेका धमलाले एक शतक र एक अर्धशतकसहित १९० रन बनाए । यस्तै ५ खेल खेलेका आसिफले ३ अर्धशतकसहित २०४ रन बनाए । आसिफ सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा रहे । धमला भने चौथो स्थानमा रहे । आसिफले ११६.३८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । धमलाको स्ट्राइक रेट ६७.८५ रहृयो ।
ओपनिङमा पुलिसबाट सुनिल र कुशलले ब्याटिङ गरेका थिए । तर प्रदर्शन एकरुप हुन सकेन ।
आर्मीबाट अनिल मण्डको जोडी फेरियो । राजु रिजाल, हरि चौहान, लोकेश बम र सुशन भारी प्रयोग गरियो । एपीएफमा आसिफ र सुवासले गरे । आसिफ नखेल्दा रितले ओपनिङ गरे पनि दुवै डकआउट भए । बागमतीका आकाश थापा र आदिल खान ˆलप नै भए ।
मिडल अर्डर : पृथु, सौरभ, विनोद र सन्दीप जोरा
बागमती प्रदेशबाट खेल्दै पृथुले यस सिजन पुनरागमन नै गरे । उनले दुई अर्धशतकसहित सर्वाधिक २१५ रन बनाए । समूह चरणको चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका पृथुको ब्याट सेमिफाइनलमा आर्मीविरुद्ध भने खासै चलेन ।
उनले पुलिसविरुद्ध पहिलो खेल जित्दा अविजित ४८ रन बनाए । यस्तै सुदूरपश्चिमविरुद्ध सर्वाधिक ८४ रन बनाएका उनले प्रदेश २ विरुद्ध अविजित ५३ रन जोडे । लुम्बिनीविरुद्ध टाई भएको खेलमा २९ रन बनाए । सेमिफाइनलमा भने उनी आर्मीविरुद्ध १ रनमै आउट भए । पृथुको स्ट्राइक रेट ७७.३३ रह्यो । पृथुले बेस्ट ब्याट्सम्यानको अवार्ड समेत पाए ।

तेस्रो नम्बरमा प्रतियोगितामा खासै कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेनन् । त्यसैले पृथुलाई तेस्रो नम्बरमा राखिएको छ ।
चौथो नम्बरमा आर्मीका कप्तान विनोद भण्डारीलाई राखिएको छ । उनलाई यस टिमको कप्तान र विकेटकिपरको रुपमा पनि राखिएको छ ।
सौरभ खनालले यसपटक उत्कृष्ट ब्याटिङ गरे । हार्ड हिटरको रुपमा चिनिएका सौरभभे यसपटक स्टाइल चेन्ज गर्दै एकदिवसीय शैलीमा खेले । टिमलाई आवश्कता अनुसार उनले विभिन्न पोजिसनमा ब्याटिङ गरे । सौरभले २ अर्धशतकसहित १८२ रन बनाए । उनी सर्वाधिक रन बनाउनेमा पाँचौ स्थानमा रहे । सौरभले ८१.२५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । उनलाई बेस्ट टिममा पाँचौ स्थानमा राखिएको छ ।
छैटौं नम्बरको लागि भने खेलाडीहरुबीच प्रतिस्पर्धा रह्यो । आर्मीका राजेश पुलामी, पुलिसका दीपेन्द्र सिंह ऐरी, प्रदेश २ का विवेक यादव पनि दाबेदार थिए । तर एपीएफका सन्दीप जोरा अघि रहे ।
सन्दिपले १ अर्धशतकसहित १८१ रन बनाए । उनी सर्वाधिक रन बनाउनेमा छैटौं रहे । जोराले ८१.१६ को स्ट्राइक रेटमा ब्याटिङ गरे ।
विकेटकिपर कप्तान : विनोद भण्डारी
आर्मीलाई च्याम्पियन बनाउने कप्तान हुन् विनोद । उनले आर्मीलाई टिमको रुपमा लिड गरे । यस पटक आर्मीका खेलाडीले व्यक्तिगत प्रदर्शन टिम खेल्दै उपाधि जित्यो । त्यसको लिडर उनै विनोद रहे । उनले पहिलो खेलमै १११ रन बनाएका थिए । पहिलो खेलपछि भने उनको रन कम हुँदै गयो । दोस्रो खेलमा कणर्ालीविरुद्ध ४१ रन बनाएपछि भने उनको ब्याट खासै चलेन । उनले प्रतियोगिताभर कूल ५ क्याच लिए ।
उनले पहिलो खेलमा चौथो नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गरेका थिए । त्यसपछि भने उनले चौथो नम्बरमा दुई खेलमा ब्याटिङ गरे । एकले पाँचौ, छैटौं र सातौं नम्बरमा पनि एक-एक पटक ब्याटिङ गरे । बेस्ट टिममा विनोदलाई चौथो स्थानमा राखिएको छ ।
 विनोदलाई बेस्ट ११ को कप्तान र विकेटकिपरको रुपमा चयन गरिएको छ । विनोदको स्ट्राइक रेट ९२.५५ थियो ।
विनोदलाई बेस्ट ११ को कप्तान र विकेटकिपरको रुपमा चयन गरिएको छ । विनोदको स्ट्राइक रेट ९२.५५ थियो ।
विनोदले प्रतियोगिताभर ६ खेल खेल्दै १७४ रन बनाए । उनी सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा रहे ।
अलराउण्डर : कृष्ण कार्की
लुम्बनीको नेतृत्व गरेका कृष्ण कार्कीले यस प्रतियोगितामार्फत् पुनरागमन नै गरे । उनलाई सातौं नम्बरमा अलराउण्डरको रुपमा टिममा राखिएको छ । साथै उनले तेस्रो सिमरको रुपमा पनि खेल्न सक्छन् ।
कृष्णले समूह चरणको चार खेलमा ८ विकेट लिए । लुम्बिनीका कप्तान कृष्णले समूह चरणमा सुदूपश्चिमविरुद्ध १७ रन खर्चेर ४ विकेट लिएका थिए । साथै उनले पुलिसविरुद्ध ब्याटिङमा अविजित ४० रन बनाएका थिए । बागमतीविरुद्ध ४१ रन बनाएका थिए । उनले कूल १०६ रन बनाए ।
उनको बलिङ इकोनोमी ३.७८ रह्यो । कार्कीले १०२ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए ।
फास्ट बलर : अभिनाश बोहरा, कमल सिंह ऐरी
एपीएफका अभिनाशले ५ खेलबाट सर्वाधिक १४ विकेट लिए । टिमले उपाधि जित्न नसके पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो ।
उनले एक खेलमा ५ र एक खेलमा ४ विकेट लिएका थिए । फाइनलमा अभिनाशले आर्मीविरुद्ध ४ विकेट लिएका थिए । १० को औसतमा बलिङ गरेका अभिनाशको इकोनोमी २.९१ रह्यो । एपीएफले फाइनलमा आर्मीसँग खेल गुमाउँदा अभिनाशले म्यान अफ दि म्याच हुने मौकासमेत गुमाएका थिए ।

यस्तै प्लेअर अफ दि टुर्नामेन्ट बनेका कमल सिंह ऐरीले १० विकेट लिए । उन सर्वाधिक विकेट लिनेमा चौथो स्थानमा रहे उनले दुई खेलमा म्यान अफ दि म्याच अवार्ड पाएका थिए । कमलको बलिङ औसत ३.४१ रह्यो । यी दुईलाई कृष्ण कार्कीले तेस्रो बलरको रुपमा सघाउने छन् ।
स्पीनर : भुवन कार्की, शहाब आलम

आर्मीलाई च्याम्पियन बनाउने क्रममा फाइनलमा ३ विकेट लिएका शहाब आलमले ५ खेलमा कूल १२ विकेट लिए । उनी अभिनाशपछि सर्वाधिक विकेट लिनेमा दोस्रो स्थानमा रहे । शहाबले ३.३२ को इकोनोमीमा बलिङ गरेका थिए । शहाब प्रतियोगिताको उत्कृष्ट बलरसमेत चयन भए ।

लेˆट ह्याण्ड ब्याटिङ गर्ने भुवन अलराउण्डरको रुपमा समेत खेल्न सक्छन् । एपीएफलाई फाइनल पुर्याउन योगदान गरेका अर्का बलर हुन् भुनव कार्की । ब्याटिङसमेत गर्न सक्ने उनले ६ खेलबाट ९ विकेट लिए ।
सेमिफाइनलमा भुवनले पुलिसविरुद्ध ४ विकेट लिएका थिए । भुवन सर्वाधिक विकेट लिनेमा सातौं स्थानमा रहे ।
उनले पुलिसविरुद्ध ४२ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए । भुवनको इकोनोमी २.८८ रहृयो ।
१२औं खेलाडी : राजेश पुलामी मगर
आर्मीका राजेश पुलामीले १ अर्धशतकसहित कूल २०४ रन बनाए । खेलेका सबै ६ खेलमा दोहोरो अंकमा रन जोडेका उनले सेमिफाइनलमा बागमतीविरुद्ध जित दिलाउन अर्धशतकीय पारी खेले ।
उनी सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा रहे । तर ब्याटिङ पोजिसन भने उनको एकरुप रहेन । उनले छैटौं र सातौं नम्बरमा ब्याटिङ गरे ।
 
                    










 २०७७ माघ  २१ गते ८:५३
                        २०७७ माघ  २१ गते ८:५३                     
                         
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4