Comments Add Comment

७० हजार ट्रकलाई पार्किङ क्षेत्र छैन, रोकेकै ठाउँमा श्रृंखलाबद्ध दुर्घटना

धादिङको सिम्लेमा दुर्घटनाग्रस्त ट्रक ।

२१ माघ, काठमाडौं । सोमबार बिहान धादिङको सिम्लेमा सडक किनारामा पार्क गरिएको ना६ख ६४६५ नम्बरको सिमेन्ट बोकेको ट्रकलाई पछाडिबाट अर्को ट्रकले हान्यो । चितवनबाट छड बोकेर काठमाडौंतर्फ आइरहेको लु२ख २७० नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाले ज्यान गुमाए भने दुईजना गम्भीर घाइते भए । छड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षतविक्षत भयो । ट्रमा चेपिएकाहरुको उद्धारमा प्रहरीलाई पनि ठूलो सास्ती पर्‍यो ।

गत माघ १५ गते सप्तरी कोसी ब्यारेज नहरको बाटोमा रोकिराखेको रोलर ट्रकमा पनि मोटरसाइकल ठोक्कियो । घटनामा पूर्वबाट पश्चिम जाँदै गरेको स३प ३०४७ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भयो भने पछाडि बसेका दुई जना सख्त घाइते भए ।

गत पुस १९ गते विहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारास्थित जंगलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एक जनाको मृत्यु भयो । बुबा हस्तबहादुर आलेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा छोरा मधु आलेले बाटैमा ज्यान गुमाउनुपर्‍यो । लु१च ५४६५ नम्बरको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको ग१ख ६७२८ नंको ट्रकमा ठोक्किन पुगेको थियो ।

गत पुस १ हेटौंडा-नारायणगढ सडकखण्डको लोथर नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदाा एक जनाको ज्यान गयो । सडक किनारमा पार्क गरिएको ना८ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौंडाका लागि छुटेको बाग्मती प्रदेश ३०-३०-१ प ५१३१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । त्यसको एक दिनअघि मात्रै दाङको बिजौरीमा त्यसैगरी रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भयो । भालुवाङबाट लमहीका लागि हिँडेको रा३प १३७३ नम्बरको मोटरसाइकल रोकिराखिएको लु१ख ७००६ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।

यो पनि पढ्नुहोस सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

गत कार्तिक २७ गते विहान काठमाडौंको कलंकीमा रोकिराखेको ट्रकमा अर्को ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भयो, अरु दुई जना घाइते भए । बिहान करिब ३ः२५ बजे रोकिराखेको बा ३ख ७५३० नम्बरको रोकिराखेको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा ५ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
लगातार भइरहेका यस्ता घटनाको एउटै कारण छन्, सडक किनारामा रोकिराखिएका मालबहाक सवारी । विशेष गरी रातमा सडकमै र सडक छेउछाउमा रोकिएका ट्रकहरुमा अरु सवारी ठोकिने क्रम उच्च दरमा बढ्दो छ । यस्ता दुर्घटना मुख्यरुपमा रात र बिहानको समयमा हुने गरेका छन् ।

सडक सुरक्षा विज्ञ पदमबहादुर शाही यो विषय सरकार, व्यवसायी, ट्राफिक प्रहरी, चालक र यात्रुहरु गम्भीर बन्नुपर्ने बताउँछन् । रोकेर राखिएका र गुडिरहेका सवारीले आवश्यक सावधानी नअपाउने र सरकारले पनि यस्ता समस्या समाधान गर्न पहल नगर्ने हो भने अझै यस्ता घटनाको दर बढ्दै जाने उनको भनाइ छ ।

७० हजार ट्रकलाई छैन पार्क

सडकमा सवारी चाप बढ्दै गएपछि सडक छेउमा पार्किङ गरिएका सवारीमा अर्को सवारी ठोक्किने क्रम पनि बढ्दै गएको नेपाल ट्रक यातायात व्यवसायी महासंघ बताउँछ । ट्रक र टि्रपर गरी करिब ७० हजार ठूला सवारीका लागि अहिलेसम्म सरकारले व्यवस्थित पार्कको व्यवस्था नगरेको गुनासो महासंघको छ ।

महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठका सरकारले राजमार्ग र काठमाडौं उपत्यकाको नाका क्षेत्र र उपत्यकाभित्र कतै पनि ट्रक पार्किङका लागि पार्क क्षेत्र छुट्याइएको छैन । यसले गर्दा रोकिराखेको सवारी र सडक गुडिरहेका सवारी ठोक्किएर हुने दुर्घटना बढ्दो दरमा देखिन थालेको उनी बताउँछन् । पार्किङ नभएपछि चालकहरुले विभिन्न कारण आइपर्दा सडककै छेउमा ट्रक रोक्नुप पर्ने बाध्यातमक अवस्था आउने गरेको उनको भनाइ छ ।

कतिपयले यसलाई चालकहरुको असवावधानी भन्ने गरेपनि यो बाध्यात्मक अवस्था भएको अध्यक्ष श्रेष्ठ तर्क गर्छन् । तर, यसरी हुने पार्किङले गुडिरहेका अन्य सवारी र रोकिएका सवारीमाथि जोखिम उच्च भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

महासंघका अनुसार देशभर दैनिक करिब ६ देखि ७ हजार मालबहाक ट्रक देशभरका राजमार्ग र सडकहरुमा आवात-जावत गर्छन् । काठमाडौं उपत्याकामा मात्रै दिनमा १ हजारभन्दा बढी ट्रक मालसामान लिएर प्रवेश गर्छन् । त्यसमा क्रसरजस्य सामग्री लिएर छिर्ने टि्रपरको संख्या जोड्ने हो भने करिब २५ सय नाघ्ने महासंघले जानकारी दिएको छ ।

तर, यस्ता ठूला मालबहाक ठूला सवारी काठमाडौंको रिंगरोडमा विहान ८ बजेपछि र राति ८ बजेअघि छिर्न पाउँदैनन् । यसैकारण नाका आसपास आएका सवारी पनि राजमार्गकै छेउ-छाउमा रोकिएर बस्ने गरेका छन् ।

रातमा रिंगरोडभित्र छिरेका सवारी पनि मालसामान खन्याउन नभ्याएमा भोलिपल्ट राति मात्रै उम्किन पाउँछन् । धेरैजसो मालबहाक ट्रकहरु ट्राफिक कम हुने भएकाले रातमा काठमाडौं नजिकैका राजमार्ग क्षेत्रमा आएर बास बस्ने गरका छन् । तीसहित उपत्यका छिर्ने ट्रकले पनि पार्किङका लागि सडक किनाराको विकल्प पाएका छैनन् ।
यस्तो सास्ती र जोखिम हटाउन राजमार्ग र उपत्यकाभित्रै पनि ट्रकका लागि उचित पार्किङस्थलहरु चाहिएको महासंघका अध्यक्ष श्रेष्ठको तर्क छ ।

‘ट्रकलाई पार्किङ मात्रै हैन, उपत्यका आउने मालसमान खन्याउने गोदाम पनि नाकामै बनाउनुस् भनेर सरकारलाई कयौंपटक भनिसक्यौं,’ उनी भन्छन्,’ नाकामै समान खसालिदिने गोदाम बन्यो भने अहिले सामान लोड अनलोनडका लागि शहरभित्र छिर्नुपर्ने सास्ती कम हुन्थ्यो, जाम र दुर्घटना पनि घट्थ्यो ।’

१० वर्षदेखि सरकारसँग ट्रक पार्किङ बनाइदिन आग्रह गरेपनि चासो नै नदिइएको उनले बताए । ट्रक ढुवानी व्यवसायीहरुले काठमाडौंको चोभारमा ट्रक पार्किङ बनाउन सकिने भनेर सुझाव दिएपनि बेवास्ता गरिएको उनको भनाइ छ । राजमार्गका विराटनगर, भैरहवा, हेटौंंडा जस्ता मुख्य शहरमा व्यवसायीहरुले नै साना पार्किङ स्थल बनाएपनि त्यसलाई व्यवस्थित गर्न पनि सकारले नसघाएको उनले बताए ।

धरापमै बाध्यात्मक पार्किङ

पार्किङ स्थल मात्रै हैन, राजमार्गमा सवारी पार्क गर्न कुनैपनि स्थानमा सरकारी पक्षले कुनै पनि पूर्वाधार बनाएको छैन ।

‘राजमार्गका विभिन्न ठाउँमा अत्यावश्यक पर्दा पार्किङ गर्न ठाउँहरु छुट्याइएको छैन, गाडी बिग्रयो भने सडकमै रोकेर जोखिम मोल्दै मर्मत गर्नुपर्छ,’ उनले भने,’न पार्क गर्ने विकल्प छ, न समस्या पर्दा बनाउन मिल्ने गरी सानै भएपनि स्पेस छुट्याइएको छ ।’

राजमार्गमा सवारी बिग्रँदा ढुंगा र स्याउला राखेर जोखिमको संकेत गर्ने गरिएको चालकहरु बताउँछन् । हेटौंडाका ट्रक चालक बाबुलाल तामाङ राजमार्ग छेउमा पर्याप्त खुला ठाउँ कतै पनि नभएकाले ज्यान हत्केलामै राखेर भएपनि ट्रक पार्क गरेर बस्नुपर्ने अवस्था आउने गरेको बताउँछन् ।

‘कहिले अनलोड गर्ने मजदुर छैनन् भनेर गोदाममा नआउनू भनिन्छ, कहिले गाडी बिग्रिएर, जाममा परेर कुसमयमा गन्तब्यमा पुगिन्छ, त्यस्तो बेला ट्रक महाँ अड्याउने भनेर तनाव मात्रै हुन्छ,’उनी भन्छन्,’कति ठाउँमा त रोक्नासाथ स्थानीय मान्छेले विरोध गर्छन्, कति ठाउँमा प्रहरी र ट्राफिक प्रहरीले लखेट्छन् । जरिवाना पनि तिर्नुपर्छ ‘

त्यसैकारण वस्ती नभएको क्षेत्रका सडक किनारामा बढी ट्रक रोक्ने गरिएको भन्दै उनले यस्ता क्षेत्रमा तीव्र गतिमा चल्ने अन्य सवारीले रोकिएको ट्रकमा ठक्कर दिने घटना बढी हुने गरेको बताए ।

‘स्टाफ होटलका अघि पार्किङ गर्ने ठाउँ हुन्छ, तर उनीहरुले ट्रक रोक्न दिँदैनन्,’ तामाङ भन्छन्,’जंगलमा रोकेर बस्यो भने प्रहरीको गस्तीले आएर खानतलासी गर्छन्, हामीलाई केही गरी सुख छैन ।’

वीरगञ्जका ट्रक चालक सफिद मियाँ पनि राजमार्गमा ट्रक पार्क गर्न ठाउँ नछुट्याउँदा मानसिक तनाव भोग्नुपरेको बताउँछन् ।

‘बरु गाडी चलाउँदा त ज्यान हाम्रै हातमा हुन्छ, रोकेर बस्नु परेपछि कसले आएर जिन्दगी खत्तम बनाइदिन्छ भन्ने पत्तो हुँदैन,’ उनी भन्छन्,’राति गाडीमा सुत्नुपर्दा राम्रो निन्द्रा पर्दैन, ठाउँ-ठाउँमा सःशुल्क बास बस्ने गरी होटलसहितको पार्किङ बनाउनुपर्छ ।’

यस्तो पार्किङ नहुँदा सबैभन्दा बढी जोखिम र सास्ती तेल र ग्यास बोक्ने ट्यांकर/बुलेटहरुलाई हुने गरेको छ । कसैगरी रोकेको ठाउँमा दुर्घटना भए वस्ती क्षेत्रमै संकट आइपर्न सक्ने भएकाले उनीहरुले झन ठूलो मनोवैज्ञानिक दबाव सामाना गर्नु परिरहेको व्यवसायी बताउँछन् ।

विज्ञ भन्छन्-पूर्वाधार र मापदण्ड चाहिन्छ

विज्ञहरु पनि ट्रक चालक र व्यवसायीको समस्यालाई ध्यान दिएर सरकारले पूर्वाधार र आवश्यक मापदण्डहरु बनाउनुपर्ने बताउँछन् । सडक सुरक्षाका विज्ञ पदमबहादुर शाही नेपालको सडक मापदण्डमा सवारी रोक्नुपर्दा सुरक्षाका लागि के-के पूर्वाधार बनाउने भन्ने विषय नै समावेश नभएको बताउँछन् ।

‘सवारी चालकलाई पिसाब लाग्न सक्छ, राजमार्गमा त्यसका लागि कतै सरकारले शौचलायसहित पार्किङ बनाएको छ त ?’ उनी भन्छन्,’सवारीमा समस्या आएमा आए/नआएको परीक्षण गर्नका लागि पार्क गर्न कतै छुट्टै ठाउँ दिइएको पनि छैन ।’

बसमा यात्रुबाट थोरै भएपनि ब्यापार हुने लोभमा होटलहरु रोक्न दिने भएपनि ट्रकमा यात्रु नहुने भएकाले रोक्नै नदिने गरेको उनले बताए । यसले गर्दा चालक र यात्रुले पिसाव फेर्न पनि जोखिम मोल्नुपर्ने अवस्था रहेकाले सरकारले राजमार्गमा सुरक्षा र चालक तथा यात्रु सेवाको पूर्वाधार बनाउने ध्यान दिर्नैपर्ने उनको मत छ ।

राजमार्गहरुमा निजी क्षेत्रलाई प्रोत्साहित गरेरै भए पनि सकै खालका सवारीलाई लक्षित गरेर रिफ्रेसमेन्ट सेन्टरहरु बनाउन सकिने विज्ञको मत छ ।

विज्ञ शाही अत्यावश्यक परेर सडक छेउमा सवारी रोक्दा चालक-सहचालकले के-के गर्नुपर्ने भनेर पनि मापदण्ड नै बनाउनुपर्ने बताउँछन् । गाडी रोकिएको भागभन्दा १०-२० मिटर पर संकेत चिन्हहरु राख्न सकिने भन्दै सवारीले त्यस्ता चिन्ह जनाउने वस्तु लिएर हिँड्नुपर्ने नियम बनाउनुपर्ने उनको विचार छ ।

गाडी मर्मतका क्रममा रोकिएको संकत दिने गरी बत्ती पनि सवारीमा राख्न र बाल्न सकिने उनको भनाइ छ ।

‘५० लाखको गाडीमा २-४ हजारको थप लगानी भए यस्ता दुर्घटनाबाट बच्न अझ सहयोग पुग्छ,’ उनले भने,’त्यसका लागि सरकारले सवारीको मापदण्डमा पनि पुनरावलोकन गर्नुपर्छ ।’

चालकहरुलाई सडक छेउमा सवारी रोक्दा हुने जोखिम र त्यसबाट बच्ने उपायबारे सचेतना जगाउन पनि आवश्यक रहेको विज्ञ शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment