+
+
Shares

किसान आन्दोलनको विषयमा रिहानादेखि टुनवर्गसम्मले गरे भारतको आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १६:५०

२१ माघ, काठमाडौं । भारतमा पछिल्लो दुई महिनादेखि जारी रहेको किसान आन्दोलनको विषयलाई लिएर विश्वका चर्चित व्यक्तिहरुले भारतको आलोचना गरेका छन् ।

भारत सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले गरिरहेको प्रदर्शनको सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले सरकारको आलोचना गरेका हुन् । पप गायिका रिहानाले भारतको किसान आन्दोलनको विषयमा कसैले पनि ध्यान नदिएको भन्दै ट्वीट गरेकी थिइन् । किसानले धर्ना दिँदै आएको स्थानमा मोबाइल इन्टरनेट बन्द गरिएको समाचार सेयर गर्दै रिहानाले सोधेकी छिन्, ‘किन यस विषयमा कसैले पनि कुरा गरिरहेको छैन ?’

त्यस्तै पर्यावरण अभियान्ता ग्रेटा टुनवर्गले पनि सोही समाचार सेयर गर्दै आफू भारतमा प्रदर्शन गरिरहेका किसानको पक्षमा रहेको बताएकी थिइन् । त्यस्तै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसकी भान्जी मीना ह्यारिसले पनि भारतको किसान आन्दोलनको विषयलाई लिएर सरकारको आलोचना गरेकी छिन् । उनले लेखेकी छिन्, ‘विश्वको सबैभन्दा पुरानो लोकतन्त्रमाथि एक महिनाअघि मात्र आक्रमण भएको थियो र अहिले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको लोकतन्त्रमाथि आक्रमण भइरहेको छ । यो कुनै संयोग होइन । यो एकअर्कासँग सम्बन्धित छ । हामी सबैले भारतमा इन्टरनेट बन्द र किसान प्रदर्शनकारीमाथि सुरक्षाकर्मीको हिंसाको भर्त्सना गर्नु जरुरी छ ।’ किसान आन्दोलनको पक्षमा पूर्व पोर्न स्टार मिया खलिफाले पनि भारतको आलोचना गरेकी छिन् ।

यसैबीच भारतले पनि अन्तर्राष्ट्रिय रुपमा उठिरहेको प्रश्नको जवाफ दिँदै सबैलाई जिम्मेवार ट्वीट गर्न आग्रह गरेको छ । भारतको विदेश मन्त्रालयले संसद्मा उल्लेख्य विचार विमर्श गरेर यो कृषि कानुन ल्याइएको जिकिर गरेको छ । साथै मन्त्रालयले किसानहरुले निकै सानो समूहले मात्र यो कानुनको विरोध गरेको दाबी गर्दै यो कानुन मुलुकको अर्थतन्त्र र किसानको हितमा रहेको बताएको छ । साथै सरकारले किसानहरुको मागको सम्मान गर्दै वार्ता पनि अघि बढाएको र ११ चरणको वार्ता भइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

विदेश मन्त्रालयले केही बेकारका इन्टरनेट ग्रुपले किसानहरुको आन्दोलन भड्काउने प्रयास गरिरहेको बताएको छ । निहित स्वार्थमा लागेर केही समुहले किसानहरुलाई आन्दोलनको लागि उक्साएको दाबी मन्त्रालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?