
२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुक र जनताप्रति इमान्दारी र निष्ठापूर्वक काम गर्ने बताएका छन् ।
बुधबार पदभार ग्रहण गर्दै उनले आयोगको साखलाई अझ उचाइमा पुर्याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने पनि बताए ।
विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत विभिन्न निकायहरूमा काम गर्दाको अनुभवबाट भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने पनि राईले प्रतिवद्धता जनाए । उनले आम नेपाली र नागरिक समाजको आयोगप्रतिको आकांक्षा, विश्वास र भरोसाबमोजिम काम गर्ने चुनौती आयोगमा रहेको पनि बताए ।
सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि आयोगले बताए ।
नवनियुक्त आयुक्त जयबहादुर चन्दज्यूले राज्यको लक्ष्य भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा टिम स्पिरिटका साथ काम गर्ने बताए । आयुक्त किशोरकुमार सिलवालले आयुक्तको रुपमा आफ्नो भूमिका समन्वयकारी रहने बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई परम्परागत अपराध भन्दा फरक तरिकाले हेर्नुपर्ने पनि उनले बताए । बुधबार नै आयोजित कार्यक्रममा आयुक्त पदबाट राजीनामा दिएका आयुक्त डा. गणेशराज जोशीको पनि विदाइ गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया 4