Comments Add Comment

बजार केन्द्रित सिनेमा चेतना  

फिल्म कलेजमा भर्ना भएको केही समयमै मैले एउटा कुरा भन्दै हिँड्न थालेँ, म यथार्थवादी सिनेमा बनाउँछु । सिनेमा समाजको ऐना हो । परीक्षामा आउँने हरेक प्रश्नको उत्तर लेख्दा पनि यही वाक्य लेखेर सुरु गर्थेँ,  सिनेमा इज द मिरर अफ सोसाइटी।

अहिले सम्झँदा हाँसो उठेर आउँछ । सिनेमा समाजको ऐना होइन, न कि यथार्थवादी नै । ऐनाले त्यही व्यक्तिको कथा देखाउँछ जो उसको अगाडि उभिएको छ । ऐनाले त्यसैको आवाजमात्रै बोलिदिन्छ, जो उसको अगाडि उभिएर बोलिरहेको छ । ऐनाले आफ्नो अगाडि उभिएर बोल्न नसक्नेको आवाज सुन्दैन, बोल्दैन, उसलाई देखाउँदैन । सिनेमा ऐना होइन । सिनेमाले आफ्नो अगाडि नउभिएका, बोल्न नसक्नेको आवाज बोलिदिन्छ । ऐनासँग आफ्नो मौलिक विचार हुँदैन । एक हिसाबले ऐना रोबर्ट हो । उसको अगाडि उभिनेको निर्देशनमा ऊ चल्छ । तर सिनेमा त्यस्तो होइन, सिनेमासँग विचार हुन्छ, आत्मा हुन्छ ।

मलाई लाग्छ, सिनेमाको मेरुदण्ड नै विचार हो । निर्देशकको विचार । महत्वपूर्ण कुरा, सिनेमा किन बनाउनेु भन्ने प्रश्न नै हो । एउटा निर्देशकले जबसम्म यस प्रश्नको सामना गर्न सक्दैन तबसम्म उसले सिनेमा बनाउन सक्दैन । बनाए छ भने पनि आवाज नभएको लाटो सिनेमा बनाउँछ । सिनेमा किन बनाउने भन्ने प्रश्नसँगै निर्देशकको विचार र दृष्टिकोण जोडिएर आउँछ । अर्थात्, समाज, जीवन र जगतलाई हेर्ने आँखाको प्रतिबिम्ब देखिन्छ उसको सिनेमामा । यसमा प्रष्ट हुँदा, आफू बाँचेको जीवन र जगतलाई खोतल्ने क्रममा विचार स्वतस् सिनेमामा आउँछ, आउनुपर्ने हो । विचार र दृष्टिकोणका दुई विपरीत ध्रुव भौतिकवाद र आध्यात्मिकवादसँग सिनेमाको सिर्जनाक्षेत्र जोडिन्छ । सिनेमामा युग प्रतिबिम्ब हुँदा नै सिनेमाको सगरमाथा उच्च र चम्किलो हुने हो । आफू बाँचेको जीवन, जगत्, समाज वा युगको अस्तित्व र गतिलाई समातेर त्यसमा विचारको जलप लगाएर सिनेमामा अभिव्यक्त गर्न सक्ने निर्देशक नै इमान्दार फिल्म निर्देशक हो । एउटा राम्रो सिनेमाले मानिसलाई यान्त्रिक हुनबाट बचाउँछ वा त्यसो हुन नदिन सचेत गराउन्छ ।  तर  हिजोआज यस्तो भइरहेको छैन ।

आदरणीय विजय कुमार पाण्डे भनिरहन्छन्, यो वैश्य युग हो साथी, वैश्य युग। आजकल वैश्य युग चलिरहेको छ। वैश्य युग अर्थात् बजार केन्द्रित युग । यहाँ हर कुरा बजार केन्द्रित हुन्छ । अपवादका केही प्रतिशत ९१५० बाहेक हर फिल्म मेकर वैश्य युगबाट निर्देशित छन् । तिनीहरुका सिनेमा चेतना बजारबाट निर्देशित छ । सिनेमा बनाउनु भनेको आइफोन वा कुनै स्मार्ट फोनबाट फोटो, भिडियो खिच्नु सरह भएको छ ।

केशव गजुरेल

फिल्म मेकरसँग मैले सिनेमा किन बनाउनेु भन्ने प्रश्न छैन। मेकरसँग त यो प्रश्न मात्रै छ कि, मैले यो सिनेमा बनाएर पैसा कति कमाउँछु ।

सिनेमा अभिव्यक्तिको माध्यम हो र हुनुपर्छ तर हिजोआज सिनेमा अभिव्यक्तिको माध्यम नभएर पैसा कमाउने माध्यम भएको छ । सिनेमालाई माध्यम बनाएर नाम र दाम कमाउनेको होडबाजी चलेको छ । यसका लागि यहाँ अनेक प्रपन्च रचिन्छन् ।

एकथरी छन् जो हरेक पल्ट आउँछन् र भन्छन्, हाम्रो सिनेमा हेरिदिनुस्, हामी यसबाट उठेको केही रुपैयाँ फलानो ठाउँमा लगाउँछौं, फलानोलाई सहयोग गर्छौं, समाजको विकासमा लगाउँछौं । सिनेमा प्रचारको लागि रचिने यो जतिको पाखन्डी नारा मलाई अरू केही पनि लाग्दैन। म तिनलाई फिल्म मेकर मान्दिन । म पाखण्डी नै भन्छु । किनभने सिनेमा समाजसेवा गर्नको लागि बनाउने वा समाजसेवा गर्ने माध्यम हुँदै होइन। गेरु वस्त्र पैहिरिएर हिँड्ने हरकोही साधु हुँदैनन् ।

यो सत्य हो, सिनेमा बनिसकेपछि त्यसको अन्तिम गन्तव्य भनेको बजार नै हो । सिनेमा बजारमा नै लगेर देखाउने हो । तर, सिनेमा बन्नुअघि नै सिनेमालाई बजार देखाउनु भनेको चै सिनेमाको भ्रूण हत्या गर्नु हो । सिनेमाले बजार बनाउने हो । बजारले सिनेमा बनाउने होइन ।

जब बजारले सिनेमा बनाउन थाल्छ निर्देशक गौण हुन पुग्छ। जब बजारिया मानसिकताबाट सिनेमा बन्न थाल्छ, निर्देशक आवाजविहीन हुन पुग्छ। किनभने निर्देशकले आफ्नो कुरा होइन बजारको कुरा भन्न थाल्छ। आफूलाई भन्न मन लागेको कुरा होइन, बजारले के मन पराउँछ भनेर सिनेमा बनाउन थाल्छ। हाम्रा सिनेमा नगरीमा बन्ने सिनेमाहरु हेर्ने हो भने यहाँका सिनेमाहरु सबै अपांग छन् र त्यसलाई निर्देशन गर्ने निर्देशकहरू सबै आवाजविहीन छन् । सिनेमामा निर्देशकको आवाज डिरेक्टर भोइस छैन । सिनेमामा केवल बजारको कर्कश लाग्दो होहल्ला छ । रमाइलो कुरा त के छ भने, बजारमा तिनै कर्कश लाग्दो होहल्ला थुपारेर सिनेमा बनाउनेहरूकै हुंकार ठूलो हुन्छ ।

जब फिल्म मेकरले व्यापारीले झैं हिसाबकिताब गर्न थाल्छ, डेबिट र क्रेडिटको ब्यालेन्स सिट मिलाउन थाल्छ । तब ऊ फिल्म मेकर रहँदैन । ऊ व्यापारीमा रुपान्तरण हुन्छ । अहिले सिनेमा नगरीमा व्यापारीहरूले सिनेमा बनाइरहेका छन् । सिनेमा बेचविखन गरिरहेका छन् । सिनेमा पनि के भन्नु रु सिनेमाको नाम प्रयोग गरेर छालावादी भिडियो बेचविखन गरिरहेका छन्।

अभिव्यक्तिको लागि सबैभन्दा उत्कृष्ट माध्यम नै सिनेमा हो। सिनेमा आफैंमा मानवीय चेत हो । एउटा निर्देशकले समाज, राजनीति, धर्म, संस्कृति, रीतिरिवाज, समग्रमा अस्तित्वका जटिल आयामहरूलाई कसरी हेर्छ, त्यसमा उसको दृष्टिकोण के छ भन्ने कुरा उसको सिनेमा हेरेर थाहा हुन्छ, हुनुपर्छ । तर हाम्रा सिनेमाहरू हेर्ने हो भने यहाँका फिल्म मेकरको दृष्टिकोणमा सिनेमा भनेको मुनाफा, पैसा कमाउने माध्यम मात्रै हो भन्ने देखिन्छ ।

एउटै पटकथा लिएर दश जना निर्देशकले आ आफ्नो अप्रोच, दृष्टिकोणबाट सिनेमा बनाउँछ भने दशवटा भिन्नभिन्न सिनेमाहरू बन्छन् । तर दश जनाले दशवटा भिन्नभिन्न पटकथा लिएर एउटै अप्रोच र दृष्टिकोणबाट सिनेमा बनाउँछ भने त्यो एउटै सिनेमा बन्न जान्छ । यहाँ एउटै दृष्टिकोणबाट सयौँले सिनेमा बनाउने गर्छन् । हाम्रो नेपाली सिनेमा महादेवले सतिदेवीको लास बोकेर हिँडेको जस्तो भइसकेको छ । अंगहरू गलेर, कुहिएर, झरेर गइसक्यो। दुर्गन्ध फैलिन थालि सक्यो तर पनि काँधमा बोकेर हिँडेको छ, हिँडेको छ।

यथास्थितिवादको जडतामा ठिङ्रीएको सिनेमा मूल्यहीन हुन्छ । अस्तित्वका शाश्वत पक्षमा स्फूरण र चिन्तन लयात्मक हुँदा सिनेमाको ओज गहन हुन्छ । बौद्धिक पक्ष हार्दिकतामा मिसिँदा नै सिनेमाले छुन्छ । समाजको पूर्व वा वार्तमानिक द्वन्द्व नै आजको सिनेमा हो । वर्तमानबाट वा समाजबाट भागेर, प्रतिगामी भएर आजको सिनेमा बनाइँदैन । जसले जे तर्कले शास्त्रार्थ गरोस्, फगत क्यामेरा अन गरेर खिचिएको छालावादी, यथास्थितिवादी, बजारमुखी, आवाजविहीन, सौन्दर्यविहीन, चेतना नभएको भिडियोलाई सिनेमा मान्न म तयार छैन ।

एउटा राम्रो सिनेमा बनाउनु भनेको आफ्नो व्यक्तिगत जीवनको वास्तविक अर्थ खोज्नु हो । आफूलाई आत्मअन्वेषणको अभियानमा लगाउनु हो । तर यो कठिन यात्रा हो । यस्तो क्रिएटिभ र कठिन यात्रामा लाग्ने फुर्सद हाम्रा फिल्म मेकरसँग भएन । सिनेमामार्फत जीवनको वास्तविक अर्थ खोज्न, आफूलाई आत्म अन्वेषणको अभियानमा लगाउन केही जमात अपवाद बनेर बेलाबखतमा आउने गर्छन् । तर तिनलाई बजारियाहरुले साँघुरो कोठाभित्र कैद गरिदिन्छन् । आफू खुलेआम सहर डुल्न निस्कन्छन् । संकटमा परेको आफ्नो नैतिकता बचाउनको लागि भनेर ती अपवादहरू साँघुरो कोठाभित्र आत्महत्या गर्न बाध्य हुन्छन् । सहर डुलिरहेकाहरुलाई के थाहा रु  पैसाभन्दा ठूलो नैतिकता हो भनेर । फिल्म मेकर बन्न त फिल्म नै बनाउनुपर्छ भन्ने कुरा तिनीहरूलाई के थाहा ?

यसो भनिरहँदा धेरै जसोले के पनि भनिरहेका हुन्छन् भने दर्शकहरूलाई यस्तै कुरा मनपर्छ, यस्तै कुराहरू हेर्छन् । दर्शकले नै नहेरिदिए सिनेमा बनाउनुको के अर्थ रु यसो भन्नु केही हदसम्म ठिकै हो । तर हद पार गरेपछि त्यसो भन्नुको पनि कुनै अर्थ छैन । दर्शकहरूले के मन पराउँछन, के हेर्छन् भनेर सिनेमा बनाउनुभन्दा पनि दर्शकहरूलाई सही कुरा दिनुपर्छ भनेर फिल्म मेकर आफू इमान्दार हुनु चैं महत्त्वपूर्ण कुरा हो। दर्शकलाई दोष दिएर आफू पन्छिन खोज्नु भनेको आफूसँग सिनेमा चेतना छैन भनेर पुष्टि गर्नु हो ।

यदि सिनेमा दर्शकको लागि भनेर बनाइन्छ भने दर्शक भिडले नहेरेसम्म त्यसको कुनै अर्थ छैन । सिनेमा हलबाट उत्रिएको भोलिपल्टदेखि अस्तित्वबाट नै त्यसको आकार मेटिएर जान्छ। दर्शकको लागि भनेर बनाइएको सिनेमाको आयु एकदेखि दुई हप्तामात्र हुन्छ । यदि सिनेमा पैसा कमाउने उद्देश्यले बनाइन्छ भने बक्स अफिसमा रेकर्ड कायम नगरेसम्म त्यसको कुनै अर्थ छैन । यदि सिनेमा अभिव्यक्तिको लागि, विचार सम्प्रेषण गर्नको लागि भनेर बनाइन्छ भने दर्शकले नहेरेपनि, बक्स अफिसमा रेकर्ड कायम नगरेपनि एउटा इमान्दार सिनेमाको रूपमा त्यसले पूर्णता प्राप्त गर्छ ।

सिनेमा केका लागि बनाउने रु किन बनाउने रु भन्ने कुरा थाहा नपाएर नै धेरैले धेरै संख्यामा एउटै किसिमका सिनेमाहरू बनाए, बनाइरहेका छन् । त्यसैले सिनेमा केका लागि बनाउने हो भन्ने कुरामा स्पष्ट नभएसम्म सिनेमाले सिनेमाको रूप धारण गर्न सक्दैन ।

विचार र आवाज विनाको सिनेमा एउटा आर्यघाटको चितामा सजाएको  लास जस्तै हुन्छ । आखिर लासलाई जतिसुकै रंगीचंगी फूलमालाले सिँगारे पनि अन्तमा जलाउनै पर्ने हुन्छ । बजारलाई महत्त्व दिएर समाजका आयाम, सौन्दर्यलाई बिर्सिएर बनाइएको सिनेमाको प्रवृत्ति यस्तै हो । जीवन र समाजको गतिशीलता र परिवर्तनशीलताका आधारमा सिनेमाको सौन्दर्य चम्किन्छ । त्यसलाई समात्न सक्नेले मात्रै सिनेमाको इतिहास बनाउँछ, बनाएको छ ।

फिल्म निर्देशकसँग एउटा अदभूत किसिमको शक्ति हुन्छ । त्यो के भने,  एकजना फिल्म निर्देशकले चाहने हो भने उसले बुद्धलाई हिटलर, र हिटलरलाई बुद्ध बनाइदिन सक्छ । आगोलाई चिसो र पानीलाई तातो बनाइदिन सक्छ । हावालाई रोक्दिन सक्छ र नदीलाई उल्टो बगाइदिन सक्छ । सिने देवताले यस्तो अदभूत किसिमको शक्ति निर्देशकको पद सम्हाल्ने हर कोहीलाई दिएको हुन्छ ।

विडम्बना, बुद्धलाई हिटलर बनाउने कुरा त छाडिदिउँ, बुद्धलाई बुद्ध बनाउन पनि हाम्रा सिनेमाहरूले सकेनन् । हाम्रो सिनेमा नगरीका सिनेमा निर्देशकले त्यो अद्भूत किसिमको शक्तिलाई केवल पैसा कमाउने माध्यम बनाइरहे । हाम्रो नेपाली सिनेमा परिभाषादेखि जहिल्यै मुक्तिको लडाइँ लडिरहेको छ । पुँजीवादको छालावादी मनोरञ्जनबाट उम्किन खोजिरहेको छ । तर मेकरहरू नै बाधक बनिरहेका छन् । अध्ययन, विचार र सिर्जनात्मकताको स्वतन्त्रता हासिल नगरीकन सिनेमा बनाएर सिनेमालाई जबरजस्ती बजारिया सस्तो माल बनाइरहेका छन् ।

मेरो प्रश्न केही अपवाद बाहेकका ती तमाम नेपाली फिल्म मेकरहरूलाई, के अर्थहीन, सारहीन, पुँजीवादी, बजार केन्द्रित सिनेमा चेतनाबाट माथि उठेर समाजको विभिन्न आयामहरूलाई उजागर गरेर आफूलाई सिनेमामार्फत् अभिव्यक्त गर्ने क्षमता राख्न सकिन्छ ?  वा त्यस्तो किसिमको सिनेमा पनि बनाउन सकिन्छ ।

यदि सकिन्छ भने आजैदेखि सुरु गरौँ। यदि सकिँदैन भने सिनेमालाई जबर्जस्ती पुँजीवादी बजारको कात्रो ओढाएर आफूलाई सिनेमाकर्मी भनेर हिँड्न आजैदेखि बन्द गरौँ । सिनेमा रमाइलोको लागि पैसा कमाउने माध्यम होइन ।

                                        

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment